काठमाडौं। दसैंमा देशभित्रको आन्तरिक विद्युत खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत खेर गइरहेको छ।
दसैंमा विद्युत बढी खपत गर्ने उद्योग कलकारखा बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिकरूपमा विद्युत माग घटेको छ।
तर, बर्खा सकिएको र नदी तथा खोलानालामा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाबाट विनाअवरोध विद्युत उत्पादन हुने गरेको छ।
प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका जलविद्युत आयोजनाबाट हाल करिब २ हजार २ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ ।
त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको छ भने करिब साढे ६ सयदेखि ७ सय मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिकरूपमा ५ सय मेगावाटहाराहारी विद्युत खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताए।
‘दसैंका कारण आन्तरिकरूपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाएका थियौं।
तर, अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, यसबाट दैनिक रुपमा कराेडौं रुपैयाँ गुमाइरहेका छौं’,´ कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं, स्वीकृति नपाउने हो भने अझै विद्युत खेर फाल्नुपर्ने अवस्था छ।’
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब १ सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड (एनभिभिएन) लाई बिक्री गरिरहेको छ। एनभिएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकाे ५ सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्यत रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ ।
नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५ सय २२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६ सय ३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।
यसमध्ये ५ सय ६२ मेगावाट विद्युत ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।
प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको छ। असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ।
तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतकाे औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो।
प्राधिकरणले यस वर्ष दसैंमा विनाअवरोध विद्युत आपूर्ति गरेको छ। यस वर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्टफुट्टबाहेक दसैंमा विगत वर्ष झैं विनाअवरोध विद्युत आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
‘दसैंमा विद्युत प्रणाली नियमित (स्मुथ) रूपमा चल्यो, कहीं कतै अवरोध भई विद्युत् आपूर्ति बन्द भएन,´ घिसिङले भने।
प्राधिकरणले दसैंमा विद्युत अपरोध हुन नदिन मुलुकभरि रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।