काठमाडौं। २४ वर्षसम्म पारिवारिक व्यापारका रूपमा अगाडि बढेको यती एयरलाइन्स २५ औं वर्ष प्रवेश गरेसँगै पब्लिक कम्पनी बन्यो।
ट्रेकिङ व्यवसाय गर्दागर्दै हिमाली जिल्लामा आउने/जाने पर्यटकको सहजता र दुर्गममा हवाई यातायात सुविधा पुर्याउने उद्देश्यले दुईवटा ट्वीनअटर जहाजमार्फत २०५५ सालबाट यती एयरलाइन्सले नेपाली आकासमा उडान भरेको थियो। अहिले यतीसँग ५ वटा `एटिआर -७२´ जहाज छन्।
मुलुकको हवाई उड्डयन क्षेत्रमा दोस्रो स्थान ओगट्दै आएको यतीलाई कोभिड-१९ र त्यसपछि जारी आर्थिक मन्दीको असरले केही मात्रामा प्रभावित गर्यो। हुन त कोभि-१९, युक्रेन युद्ध र त्यसपछि जारी आर्थिक मन्दीले सबै क्षेत्र प्रभावित भयो।
यतीले ती महामारी, युक्रेन युद्ध र आर्थिक मन्दीलाई पनि सहजतासाथ हाँकिरहेको बेला २०७९ माघ १ गते पोखरामा यतीको इतिहासमै सबैभन्दा ठूलो दुर्घटना हुन पुग्यो।
एटिआर जहाज दुर्घटनाले तीनदेखि पाँच महिनासम्म लयमा फर्किनै मुस्किल पर्यो। यात्रुलाई यतीमा यात्रा गर्ने वातावरण बनाउन महिनौंसम्म लाग्यो। त्यहबेला बैंकहरूले ब्याज ह्वात्तै बढाए।
नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई समस्यामा फस्न नदिन भन्दै विभिन्न नीति ल्यायो र बैंक तथा वित्तीय संस्थाले ह्वात्तै ब्याजदर बढाए।
१५ प्रतिशतसम्म ब्याज पुगेपछि त्यसको प्रत्यक्ष असर यतीमा पनि पर्यो। एकातिर हवाई दुर्घटनाले यात्रु नपाइरहेका बेला बैंकको बढेको ब्याजले हैरानीमा परेको यतीले त्यो बेला सोच्यो- यति बेला कुनै व्यावसायिक साझेदार भइदिएको भए सहज हुन्थ्यो।
बैंकको ब्याज र किस्ता त जसोतसो तिरे पनि कम्पनीलाई `ग्रोथ´ गरेर अगाडि बढ्न र जहाज थप्न रणनीतिक साझेदार भित्र्याउने विषयमा एकापसमा छलफल चल्यो।
यतीका कार्यकारी अध्यक्ष ल्हाक्पासोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, निर्देशक नोर्बु शेर्पासहित उच्च व्यवस्थापनले रणनीतिक साझेदार भित्र्याउने र पब्लिक कम्पनीमा जाने निर्णय गरे।
२४ वर्षसम्म सञ्चालन धानिरहेको यतीलाई २५औं वर्ष प्रवेशसँगै आफ्नो `लिगेसी´ किन अरूलाई दिने निर्णयमा पुग्यो त भन्ने प्रश्नसमेत उठ्न थालेका छन्।
यो प्रश्नमा यतीका कार्यकारी अध्यक्ष शेर्पाले चार `फ्याक्टर´ ले गर्दा साझेदारी भित्र्याउनुपरेको बाध्यता सुनाए।
पहिलो नेपालका वाणिज्य बैंकहरूको सोचाइ व्यापारीप्रति राम्रो नदेखिएको बताए। ‘उद्योगी व्यापारी भनेको बैंकका लागि असल ग्राहक हुन्, उद्योगी, व्यवसायीबिना कुनै पनि बैंक चल्न सक्दैन,’ अध्यक्ष शेर्पाले क्यापिटल नेपालसँग भने, ‘तर, अहिलेको बैंक आक्रामक भएका छन्, हामीले भनेपछि भइहाल्छ र गरिहाल्नुपर्छ भन्ने खालका प्रवृत्ति देखाउनेहरू धेरै कर्मचारीमा देखिएको छ। जसले बैंकहरू व्यापारमैत्री देखिँदैनन्।’
बैंकका उच्च तहका कर्मचारीहरू सम्पर्कमा आउन नचाहने र कनिष्ठ कर्मचारीहरूलाई व्यापारीहरूसँग डिल गराउन लगाउने नीति पछिल्लो समय धेरै बैंकमा देखिन थालेको उनले बताए।
‘मैले के सोचेँ भने २५ वर्षसम्म त बैंकलाई १० देखि १५ प्रतिशतसम्म ब्याज तिरेँ, त्यो पैसा जनतालाई तिरेँ भने किन खुसी हुँदैनन् भन्ने सोच आयो। र, बैंकभन्दा जनता नै सबैभन्दा राम्रो पार्टनर हुन्छन् भन्ने निष्कर्षमा पुगेको हुँ’, अध्यक्ष शेर्पाले भने, ‘१५ देखि १८ प्रतिशतसम्म डिभिडेन्ड दिन सकियो भने लाखौं जनता यती एयरलाइन्सको पार्टनर हुन आउँछन् भन्ने निष्कर्षसाथ यो निर्णयमा पुगेको हुँ।’
कम्पनी ग्रोथ गर्न जहाज संख्या थप्नुपर्ने बताउँदै अबको दुई वर्षभित्र थप पाँचथान एटिआर ७२-५०० सिरिजको जहाज किन्ने लक्ष्य रहेको उनले सुनाए।
अहिले सञ्चालनमा रहेका पाँच जहाजले बजार हिस्सा २७ प्रतिशत ओगटेको छ। अब पाँच थप्दा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्ने उनको दाबी छ।
‘एयरलाइन्स बिजनेसका विषयमा मलाई राम्रोसँग ज्ञान छ,´ अध्यक्ष शेर्पाले भने, ‘पर्यटन क्षेत्रमा लागेको नै ५० वर्ष भइसकेको छ। ’
अबको ६ महिनाभित्र आइपिओ जारी हुने, सन् २०२३ भित्रै दुईवटा जहाज ल्याउने र २०२४ मा तीनवटा थप गरी १० जहाजमार्फत उडाउने योजना बनाएको उनले बताए।
आइपिओ जारी गर्दा कति प्रतिशतको गर्ने भन्ने निर्णय दुवै पक्षले अन्तिम चरणमा मात्र निर्णय गर्ने शेर्पाले बताए। अहिलेसम्म ५१ प्रतिशत यती होल्डिङ्स र ४९ प्रतिशत एसियन लाइफ इन्स्योरेन्सको रहेको उनले जानकारी दिए।