काठमाडौं। तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ।
तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत प्राधिकरणमार्फत आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिएको हो।
१ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको उक्त हाइड्रोपावर लिमिटेडले १ सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि प्रक्रिया सुरुवात गरेको छ।
कम्पनीले निर्माण गर्न लागेको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अध्ययन प्रतिवेदन गत असोज २ गते विद्युत विकास विभागमा बुझाएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए।
तल्लो सेती आयोजनामा जाइका र एसियाली विकास बैंक (एडिबी) ले चासो देखाएका छन्। प्रबन्ध सञ्चालक श्रेष्ठका अनुसार दुई वर्षभित्र तल्लो सेती आयोजना निर्माणको चरणमा जाने छ।
उक्त आयोजनाको लागत २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। तनहुँ जलविद्युतकाे १ सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ। तल्लो सेती आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ।
आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो। परामर्शदाताले पेस गरेको विस्तृत नमुना प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले २०७८ असार २३ मा नमुना पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ। विज्ञ समूहले पेस गरेको आयोजनाको नमुनाअनुुसार थप केही काम गर्ने तयारी गरिएको छ।
कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ। साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३५ लाख अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजपत्र तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभिसँग २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो।
आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिने छ। पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब ५ सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ।
आयोजनाबाट बन्दीपुर–६, व्यास–१३, १४, देवघाट–२, ३ र ४, ऋषिङ–१ र ३, आँबुखैरेनी–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ। देवघाट–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृह निर्माण गरी विद्युत उत्पादन गरिने छ।
उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ। यसका लागि करिब २ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ।
अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ। आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन हुने छ।