काठमाडौं। साझा यातायातले पुससम्म ७ वटा चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ। पुल्चोकमा चार्जिङ स्टेसन निर्माण सुरु भएर फाउन्डेसन अर्था ‘जग’ तयार भइसकेको छ।
नियमित काम भए पुससम्म चार्जिङ स्टेसन पूर्णरूपमा निर्माण पूरा हुने साझा यातायात सञ्चालक समिति सदस्य महेन्द्र पाण्डेले बताए।
चार्जिङ स्टेसन अभावका कारण गत वर्ष नेपाल भित्र्याइएका ४० थान विद्युतीय बस सञ्चालन गर्न नसकिएपछि साझाले चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो।
४० मध्ये हालसम्म २० विद्युतिय बस काठमाडौंका विभिन्न रुटमा सञ्चालन भइरहेका छन्। साझाले चीनको सिएचटिसी कम्पनीसँग ४० थान बस खरिद गरेको थियो।
तीमध्ये २०७९ साउनमा ३ र मंसिरमा ३७ थान नेपाल भित्रिएका थिए। हाल नेपाल विद्युत प्राधिकरण र साझा यातायात पुलचोकमा रहेका ३ तथा प्रधिकरणका अन्य स्थानका चार्जरबाट २० बस चार्ज गरेर सञ्चालन हुन्छन्।
विद्युतीय बस नेपाल भित्रिएको एक वर्ष हुन लाग्दा पनि साझाले आफ्नै चार्जिङ स्टेसन निर्माण गर्न सकेको छैन।
साझा यातायातले नेपालमा बस नल्याइ प्रधानमन्त्री कर्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जग्गा उपलब्ध गराइदिन आग्रह गरेको थियो।
साझाका अनुसार ४० बस पार्किङ र चार्जिङ स्टेसन निर्माण गर्न करिब ३० रोपनी जग्गा आवश्यक पर्छ। तर, त्यति धेरै जग्गा काठमाडौं उपत्यकाभित्र अहिलेको अवस्थामा पाउन मुस्किल हुने मन्त्रालयका अधिकारीहरू बताउँछन्।
भौतिक मन्त्रालयका एक अधिकारी भन्छन्, ‘व्यवसाय गर्नेले पूर्वतयारी गर्नुपर्छ, चाहियो भन्दैमा काठमाडौंमा खाली जग्गा काहाँबाट पाइन्छ र?’
ती कर्मचारीका अनुसार साझाले पूर्वतयारी बिना विद्युतीय बस सञ्चालन गर्न खोज्दा जग्गा प्राप्तिमा समस्या भएको हो।
सिएचटिसी कम्पनीले बससँगै आवश्यक चार्जरहरू पाठाएको छ। साथै, बस सञ्चालनको ५ वर्षसम्मको मर्मत सम्भारसमेत सिएचटिसी कम्पनीले गर्ने सम्झौता भएको थियो।
४० विद्युतीय बस र तिनलाई आवश्यक २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ लगानी भएको छ।
त्यस्तै साझाले विद्युतीय बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवं स्पेयर पार्ट्सका लागि ६ करोड ७३ लाख ६५ हजार ५ सय ५३ रुपैयाँ सिएचटिसीलाई बुझाएको छ।
तै पनि पुलचोकमा निर्माणाधीन ७ चार्जिङ स्टेसनको लागत थाहा नभएको पाण्डेले बताए। ‘बस किन्न र चार्जरका लागि एकैपटक सम्झौता भएको हो, पुलचोकमा बनेको चार्जिङ स्टेसनको लागत छुट्टै हिसाब भएको छैन,´ उनले भने।
७ वटा चार्जिङ स्टेसनमा एकैपटक १७ थान बस चार्ज गर्न सकिन्छ। सोही कारण पुसबाट ४० वटै विद्युतीय बस सञ्चालन गर्ने सम्भावना बढेको छ। तै पनि नियमित सञ्चालन हुन सहज भने हुँदैन।
साझाले ल्याएका विद्युतीय बस २६ सिट क्षमतासहित अपाङ्गमैत्री छन्। ती बस एकपटक फुल चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर २ सय किलोमिटर गुड्न सक्छन्।
विद्युतीय बस खरिदले खनिज पदार्थ प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरी देशको अर्थतन्त्रलाई टेवा दिने तथा वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने साझाले जनाएको छ।