काठमाडौं। दसैं सुरु हुनु एक साता अघिसम्म बजार सुनसानजस्तै थियो। ग्राहक पर्खाइमा सपिङ मलदेखि व्यापारिक क्षेत्र थिए।
धेरै व्यवसायीले यो दसैंमा त सामान किन्न ग्राहक नै आउँदैनन् कि भन्ने शंकासमेत गर्न थालिसकेका थिए। तर, जब दसैं सुरु हुन एक सातामात्र बाँकी थियो, तब बजार एकाएक भरिन थाल्यो।
अर्थात, एक साता अघिबाट बजारमा किनमेल गर्न निस्किनेको संख्या ह्वात्तै बढ्यो। जसले सुनसान बजार भरिभराउ मात्र भएन, मलिन अनुहार लिएर पसलको सटर रुङ्ने व्यवसायीको मुहारमा समेत चमक ल्याउन सफल भयो।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले पछिल्लो एक साता बजारमा निकै चहलपहल बढेको बताए।
विगत वर्षका तुलनामा अहिले सामान खरिद गर्नेको संख्यामा कमी भने आएको उनको भनाइ छ। पछिल्लो समय महँगी बढेका कारण उपभोक्ताले एकसाथ धेरै सामान नकिनेकाले पनि सोचेजति व्यापार भने नभएको उनी बताउँछन्।
नेपालको सबैभन्दा ठूलो सुपरमार्केट चेन भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पानु पौडेलले पनि गत शुक्रबारबाट ग्राहक संख्या ह्वात्तै बढेको बताए।
लामो समयदेखि सुनसान रहेको बजार पछिल्लो समय ह्वात्तै बढेको उनको भनाइ छ। उनले विगतका वर्षका दाँजोमा ८ देखि १० प्रतिशतसम्म ग्राहक घटेको र त्यसको प्रत्यक्ष असर व्यापारमा परेको बताए।
तै पनि दसैंका कारण बजारमा देखिएको चहपहलले नयाँ उत्साह भने थपेको उनी बताउँछन्। अहिले भाटभटेनीको मुलुकभरि २६ वटा स्टोर सञ्चालनमा छन्। ती सबै स्टोरमा ग्राहक संख्या राम्रो रहेको उनले बताए।
त्यसैगरी बिगमार्ट, केकेमार्ट लगायतमा पनि ग्राहक संख्या बढिरहेको उनीहरूले जनाएका छन्। मूलतः यी दुई स्टोरमा खाद्यान्न सामग्रीमात्र बढी पाइने भएकाले भाटभटेनीको तुलनामा केही कम ग्राहक आउने उनीहरूको भनाइ छ।
यस्तै सपिङ कम्प्लेक्सहरूको व्यापार पनि केही चलायमान भएको शेर्पा मलका प्रबन्ध निर्देशक सञ्जीव तुलाधरले बताए।
ग्राहक चहलपलले दसैंमा केही उत्साह दिएको भन्दै तुलाधरले यो निरन्तरता भने रहन्छ वा रहँदैन भन्ने विश्वास गर्न सक्ने स्थिति नरहेको बताए।
विगत वर्षका तुलनामा अहिलेको दसैंमा व्यापारमा गिरावट रहेको उनले बताए। तर, तिहारसम्म केही चलायमान हुने आशा भने उनले छाडेका छैनन्।
महँगीका कारण अहिले धेरै उपभोक्ता सस्तो बजार धाउन थालेको देखिन्छ। तर, सस्तो बजारमा नयाँ लुगा पाउनै समस्या हुँदा उपभोक्ता निरास हुनुपरेको व्यवसायीको भनाइ छ।
धेरै व्यापारी–व्यवसायीले यो दसैंमा बजार सुनसान हुने शंका लिएर विदेशबाट चाडपर्वकै लागि भनेर नयाँ लुगा नै आयात गरेनन्। विदेशबाट नयाँ लुगा नल्याएपछि अहिले नेपालमै उत्पादन भएका कपडाले राम्रो बजार पाएको नेकेड एक्प्रेसका सञ्चालक किशोर थापाको भनाइ छ।
‘पहिलेभन्दा यसपालि आन्तरिक उत्पादन भएका लत्ताकपडाले राम्रो बजार पाएका छन्,’ थापाले भने, ‘हामी उत्साही छौं।’