काठमाडौं। रविभक्त श्रेष्ठ नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन। बाउबाजेदेखि चल्दै आएको व्यावसायिक घरानालाई रविभक्त आफैंले हाँक्न थालेको दशकौं भइसकेको छ।
रविभक्तले उद्योगी–व्यापारीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ हाँकिसकेका मात्र छैनन, दुई दशकअघि अर्थ राज्यमन्त्री भएर देशको अर्थतन्त्रको बागडोर पनि सम्हालेका थिए।
धेरैलाई लाग्दो हो, नेपालको धनी नेवार परिवारमा जन्मीहुर्केका रविभक्तले बालककालदेखि नै सुखसयल र आरामको जिन्दगी बिताएका थिए।
तर त्यस्तो होइन, उनले पनि सर्वसाधारणका बालबच्चा झैं सामान्य जीवन बिताउँदै हुर्किएका थिए। बाउबाजेको व्यापार–उद्योगको बिँडो थाम्दै आएका रविभक्तका बुबा इन्द्रभक्त पनि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भएका थिए। रविभक्तहरूको रगतमै उद्योग–व्यापार बगेको छ।
रविभक्त हाल बहुराष्ट्रिय कम्पनी युनिलिभरको नेपाली साझेदार छन्। त्यस्तै मुलुककै पहिलो पाँचतारे होटल सोल्टी, अर्को चारतारे होटल समिटसहित दर्जन बढी उद्योग–व्यवसायका सञ्चालक रविभक्त हुन्।
अधिकांश समय व्यापार–व्यवसायमै व्यस्त भइरहने मुलुकका एक प्रतिष्ठित उद्योगी तथा व्यापारी रविभक्तले दसैं कसरी मनाउँदा हुन्? उनले बाल्यकालमा दसैं कसरी मनाउँथे? र अहिले पाको उमेरमा दसैंलाई कसरी लिन्छन्?
‘मलाई सबैभन्दा मनपर्ने चाड दसैं हो। दसैं आउँदा मनमा खुसी आउँछ,’ रविभक्तले क्यापिटल नेपालसँग भने, ‘अहिलेभन्दा बाल्यकालमा अझै धेरै रमाइलो हुन्थ्यो।’
बाल्यकालमा दसैंको बेला हुने बिदाका कारण साथीभाइसँग खेलेको लंगुरबुर्जा, गुच्चाको सम्झना अझै ताजा रहेको उनी सुनाउँछन्। साथीहरूसँग दिनभरि लंगुरबुर्जा र गुच्चा खेलेको र भोक लाग्नेबित्तिकै घर जाँदा मिठा–मिठा खानेकुरा खाएको सम्झिँदा अहिले पनि उनी मुस्काउँछन्।
त्यसैगरी बाल्यकालमा खेलेको लिङ्गेपिङ पनि भुल्न नसक्ने रविभक्त बताउँछन्। टोलटोलमा बनाइएका लिङ्गेपिङको त्यो बेला भिन्नै महत्व भए पनि अहिले भने बिस्तारै लोप हुँदै गएको उनी बताउँछन्।
‘अहिले पनि मलाई बाल्यकालको जस्तै खेल्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ, तर त्यो सम्भव छैन, उमेर ढल्किँदै गएकाले व्यावसायिक काममै व्यस्त हुनुपरेको छ,’ उनी भन्छन, ‘बालापन अब कहिल्यै फर्केर आउँदैन। सबै मानिको बाल्यकाल एउटा मिठो सम्झनाका रूपमा रहेको हुन्छ।’
अहिले रविभक्त नातीनातिनीहरूसँग दसैंका बेला धेरै समय बिताउने गर्छन्। उनीहरूलाई दसैंबारे सुनाउने, विभिन्न परिकारबारे जानकारी दिने र टीकाको महत्वबारे बुझाउने काम गरिरहेका छन्।
पहिलाजस्तो छैन दसैं
अहिलेको दसैं पहिलाभन्दा धेरै भिन्न रहेको रविभक्त बताउँछन्। उनी सानो हुँदा दसैं आउन एक महिनाभन्दा अघिदेखि मनमा उत्साह आउने गरेको बताउँछन्।
‘अहिले त बाध्यताले दसैं मनाउन लागेको जस्तो भान नयाँ पुस्तामा देखिन्छ। अहिलेका युवा प्रविधिमा बढी व्यस्त हुँदा आफ्नो मौलिक चाडबाड बिर्सिंदै गएको देखिन्छ,’ रविभक्त दुःख मनाउ गछैन्, ‘आफ्नो संस्कृति र परम्परा संरक्षण गरेर युवालाई आधुनिक तरिकाबाट अगाडि बढ्न मेरो सुझाव छ।’
पुर्खाहरुले केही न केही महत्व देखेर नै दसैं, तिहार, छठसहित विभिन्न चाडबाड मनाएको उनको अनुभव छ। चाडबाडको महत्व सामाजिक र शारीरिक हिसाबले पनि उत्तिकै रहेको बताउँछन्।
‘वर्षभरि काम गरेर दसैंका बेला ५ दिन भए पनि बिदा हुँदा परिवारसँग पूर्णरूपमा बस्न पाउने, परिवारका सबै सदस्यसँग भेटघाट गरी आत्मियता साटासाट गर्न पाउने अवसरका रूपमा दसैंलाई लिनुपर्छ,’ रविभक्त भन्छन्।
अर्थतन्त्र चलायमानको मानक दसैं
यो वर्ष नै हेर्ने हो भने पनि दसैंको अन्तिम सातादेखि मात्र बजारमा चहपहल सुरु भएको छ। आर्थिक मन्दीका कारण बजार सुनसान भइरहेका बेला एक साता बीचमा राम्रै व्यापार भएको देखिन्छ।
प्रायः मानिसले दसैंका बेला नयाँ लुगा किन्ने, सवारी साधान खरिद गर्ने र घरका लागि पनि धेरै सामानहरु किन्ने भएकाले बजार चलायमान हुँदै आएको थियो।
त्यसैले पनि उद्योगी–व्यसायीका नजरमा दसैं अर्थतन्त्र चलायमान बनाउने एउटा मानकका रूपमा लिने गरिएको उद्योगी रिवभक्तको भनाइ छ।
जागिरे कर्मचारीले पनि दसैंका बेला थप एक महिनाको तलब (अर्थात बोनस) का रूपमा थाप्ने चलन छ। जसका कारण साबिकको समयभन्दा दसैंको बेला मानिसमा धेरै पैसा हुने र खर्च पनि धेरै गर्ने गरेका छन्।
मोहोर दक्षिणाका कुरा
दसैंमा टीका लगाउँदा खाली हात पठाउनु हुँदैन भन्ने मान्यतासाथ आशिर्वादसँगै केही रकम दक्षिणाका रूपमा पनि दिने चलन छ।
अहिलेको जस्तो ठूलो रकम त्यो बेला नपाउने गरेको बताउने रविभक्त त्यसबेला सुका र मोहोरको चलन धेरै हुने गरेको सम्झिन्छन्।
‘त्यो बेला मोहोर र १ रुपैयाँको सिक्का पाउनु भनेको ठूलो भाग्यजस्तो हुन्थ्यो। र, त्यो पैसाको महत्व पनि धेरै हुन्थ्या,’ रविभक्त भन्छन्, ‘अहिले त पैसाको भ्यालु घट्दै गएको र दक्षिणा पनि धेरै रकम दिने चलन चलेको छ, तर यो राम्रो होइन।’