काठमाडौं। व्यावसायिक घराना शंकर ग्रुपले निर्माण गरिरहेको पाँचतारे होटल हिल्टन आगामी असारबाट सञ्चालनमा आउने भएको छ।
शंकरले जगदम्बा हस्पिटालिटी ग्रुप प्रालिमार्फत होटल हिल्टन निर्माण गरिरहेको छ। यो होटल अन्तर्राष्ट्रिय होटल चेन ‘हिल्टन’ को व्यवस्थापनमा सञ्चालन हुनेछ।
होटल व्यवस्थापनका लागि जगदम्बा र हिल्टनबीच सम्झौता भइसकेको छ। आगामी डिसेम्बर (पुस) मा ‘सफ्ट लञ्च’ तयारी भएको छ।
२०८१ असारदेखि होटल पूर्णक्षमतामा सञ्चालन हुने जगदम्बा हस्पिटालिटीले जनाएको छ। गत असारसम्म होटलको ९० प्रतिशत काम सकिएको हिल्टनले जनाएको छ। होटलमा अहिले डेकोरेसनलगायत अन्य काम भइरहेका छन्।
राजधानीको नक्सालमा निर्माणाधीन होटलमा १ सय ७४ कोठा छन्। २०१८ बाट निर्माण थालिए पनि कोरोना महामारीले निर्माण कार्य प्रभावित बनाएको थियोे।
हाल होटलको लागत बढेर ६ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ। यसअघि ६ अर्ब ६८ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो।
कोरोना महामारीकै कारण होटलको लागत बढेर प्रतिकोठा ३ करोड ८० लाख रुपैयाँ पुगेको छ। निर्माण सुरु हुँदा २ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान थियो।
७३ प्रतिशत बैंक ऋण र बाँकी २७ प्रतिशत संस्थापक स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। यसअघि ७५ प्रतिशत बैंक ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको थियो।
शंकर ग्रुपले ९५ प्रतिशत स्वपुँजी लगानी गरिसकेको छ। जगदम्बाले बैंकसँग ८३ करोड ४० लाख रुपैयाँ थप ऋण लगानी सम्झौता गरिसकेको छ।
यस्तै परियोजना विस्तार गरेर ‘डबल ट्री लेभल’ का १ सय ३५ कोठा हुनेछन्। यसबीच ३९ कोठा थपेर १ सय ७४ पुगेको छ।
होटल व्यवस्थापन जिम्मेवारी लिने विषयमा जगदम्बा हस्पिटालिटी र बेलायतको हिल्टन वर्ल्डवाइड म्यानेजमेन्ट लिमिटेडबीच सम्झौता भइसकेको छ।
यसमा हिल्टन वर्ल्डवाइड इन्कर्पोरेटेड अमेरिकाको स्वामित्व छ। अमेरिकी हस्पिटालिटी कम्पनी हिल्टनले १ सय १८ देशमा ६ हजार २ सय १५ होटल तथा ९ लाख ८३ हजार ४ सय ६५ कोठा व्यवस्थापन गरिरहेको छ। पाँचतारे होटल हिल्टन ‘काठमाडौं सिटी सेन्टर’ ब्रान्डमा सञ्चालन हुने सहमति भएको छ।
हिल्टनले मार्केटिङ र ब्रान्ड पहिचान स्थापना तथा हस्पिटालिटी सञ्जाल निर्माण गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा जगदम्बाको छ।
जगदम्बा हस्पिटालिटी सन् २०१२ मा शंकर ग्रुपले स्थापना गरेको आतिथ्य सत्कार कम्पनी हो। कम्पनीले ५ अर्ब २ करोड २० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
होटल अध्यक्षमा शाहिल अग्रवालको ९० प्रतिशत लगानी छ। उनीसँग दुई दशक लामो व्यावसायिक अनुभव छ। ग्रुपले सिमेन्ट र डन्डी उद्योगमा आक्रामक लगानी विस्तार गरेको छ। यस्तै बैंक तथा बिमा, जलविद्युत, व्यापार र घरजग्गालगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ।
होटल काठमाडौं सहरको मध्यभागमा अवस्थित छ। काठमाडौं मुलुकमा सबैभन्दा धेरै पर्यटक आउने पहिलो गन्तव्य हो।