कञ्चनपुर। कृषिको लागत खर्च घटाउनका लागि कृष्णपुर नगरपालिकाले एक सय १५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलर र मिनीटिलर वितरण गरेको छ। किसानलाई ६९ पावरटिलर र ४६ मिनी पावरटिलर वितरण गरेको हो।
नगरपालिकाले कृषि सहकारी, कृषक समूह र कृषि फार्ममा आबद्ध किसानलाई पावरटिलर र मिनिटिलर वितरण गरेको छ।
‘सहकारी, समूह र फार्ममा आबद्ध दलित, जनजाति, महिलालाई पहिलो प्राथमिकतमा राखेर खेत जोत्न प्रयोग हुने उपकरण वितरण गरेका छौं,’ नगरपालिकाको कृषि शाखा प्रमुख लालबहादुर धामीले भनेे, ‘दुई वर्षसम्म कृषिमा अनुदान नपाएका किसानलाई प्राथमिकतामा राखिएको छ।’
उनका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५१ पावरटिलर र २३ मिनिटिलर वितरण गरेको छ । सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारीमा १८ वटा पावरटिलर र २३ मिनिटिलर वितरण गरिएको छ।
‘एक पावरटिलरको मूल्य १ लाख ७४ हजार ५ सय र मिनिटिलरको मूल्य ५२ हजार ५ सय रहेको छ,’ शाखा प्रमुख धामीले भने, ‘कुल मूल्यमा किसानले आधा रकम बेहोरेका छन्।’
कृषिमा आधुनिकीकरण गर्न, विदेशिने युवालाई कृषि पेसामा संलग्न गराउन र कृषिको लागत खर्च घटाउने उद्देश्यका लागि पावरटिलर र मिनिटिलर वितरण गरिएको उनको भनाइ छ।
कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउनका लागि कृषि उपकरण वितरणमा जोड दिइएको नगरप्रमुख हेमराज ओझाले बताए।