कास्की। विगतका वर्षहरूमा दसैं मान्नका लागि पोखराबाट बाहिरिनेहरूको संख्या अधिक हुने गरे पनि यस वर्ष न्यून रहेको छ।
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा विभिन्न पेसा तथा व्यवसायमा रहेकाहरू परिवारका साथमा चाडपर्व मान्नका लागि घर जाँदा सार्वजनिक यातायातको समस्या हुने गरेकामा यस वर्ष समस्या छैन। गन्तव्यमा पुग्नका लागि यात्रुले पर्याप्त गाडी पाएका छन्।
पोखरामा प्रधान कार्यालय रहेर देशका सातवटै प्रदेशमा दिवा तथा रात्रिसेवामा यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले यस वर्ष दसैंमा पोखरा छाड्नेहरू न्यून रहेको जनाएको छ।
कम्पनीले दसैंका लागि गत असोज २१ देखि अग्रिम टिकट बुकिङ खुलाएकामा शुक्रबारसम्म ६ हजार जनाले मात्र टिकट लिएका छन्।
अघिल्ला वर्षहरूमा दसैंका समयमा ३० हजारहाराहारी अग्रिम टिकट बुकिङ हुने गरेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए।
उनका अनुसार विगतमा सार्वजनिक यातायातमा यात्रु चाप बढी हुँदा थप बस सञ्चालन गर्नुपरे पनि यस वर्ष त्यस्तो छैन।
‘यस वर्ष दसैंका लागि पोखराबाट बाहिर जाने यात्रुहरूको संख्या अत्यन्त कम छ। पहिला ३० हजारसम्म अग्रिम टिकट जान्थ्यो,’ अध्यक्ष केसीले भने, ‘अहिले नियमित तालिकाअनुसार नै गाडी पर्याप्त छन्, थप गाडीको व्यवस्था गर्नुपरेको छैन। अग्रिम बुकिङ पनि कम भयो।’
अध्यक्ष केसीका अनुसार कम्पनी मातहतमा १ हजार २ सय ९० यात्रुवाहक बस सञ्चालनमा छन्। कम्पनीले दिवा तथा रात्रि सेवामा सुविधासम्पन्न ‘डिलक्स बस’ बाट देशका सातै प्रदेशका विभिन्न सहरमा सेवा दिँदै आएको छ।
अर्थतन्त्रमा देखिएको मन्दीका कारण पनि दसैंमा पोखरा बाहिर जानेको संख्यामा कमी आएको बताइन्छ। हरेक क्षेत्रमा भएको मूल्यवृद्धि र व्यापार-व्यवसायमा आएको गिरावटका कारण पनि आफू रहेकै ठाउँमा पर्व मनाउनेहरूको वृद्धि भएको छ।
धादिङ नीलकण्ठ नगरपालिका स्थायी घर भई हाल पोखरा–१४ बसेर निर्माण व्यवसायमा आबद्ध ज्ञानेन्द्रबहादुर थापा विगतमा दसैं मान्न परिवारसहित गाउँघर जाने गरे पनि यस वर्ष पोखरामै बसेर मनाउने योजनामा रहेको बताउँछन्। सार्वजनिक यातायात तथा बढ्दो महँगीका कारण घर जान नसकेको उनले बताए।
‘एक वर्षभन्दा बढी भयो आम्दानी छैन। चारजनाको परिवार घर आउनजान ८ हजार गाडी भाडामात्र लाग्छ,’ उनले भने, ‘अन्य खर्च धेरै छ, कमाइ नभएकाले यहीँ ऋणधन गरेर जेनतेन चाड मनाउँदैछु।’
पोखरामा यस वर्ष दसैंमा पनि बजारमा चहलपहल न्यून छ। विगतमा घटस्थापनादेखि बजारमा किनमेल गर्नेको भीड हुने गरे पनि यस वर्ष शुक्रबारदेखि मात्र बजारमा चहलपहल देखिएको व्यवसायी बताउँछन्।