बेनी। रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैं खर्च जुटाउन सकस परेको छ। प्रवासमा रहेका छोराले पठाएको दसैं खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उनी निरास बनेर गाउँ फर्के।
‘घर खर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन,’ उनले भने, ‘दसैंको अरू तयारी त गर्नु छँदैछ, महँगीले हामीलाई चाडपर्व मनाउनै समस्या छ।’
मालिका गाउँपालिका–२ रुमबाट बेनीमा चाडपर्व लक्ष्य गरी सामान किन्न आएका रमेश पुनले बजारमा सामानको मूल्य आकासिएको बताए।
विगत वर्षक तुलनामा यसपालि सामानको भाउ आकासिएको र घरपरिवारका लागि आवश्यक पर्ने किनमेल गर्न मुस्किल परेको अनुभव सुनाए।
‘दरबाङ बजारमा भन्दा बेनीमा केही सस्तोमा सामान पाइन्छ कि भनेर आएको थिएँ, कहाँ सस्तो पाउनु, उल्टै गाडीभाडा र समय खेर गयो, चाडपर्व मनाउन पनि धौधौ हुने स्थिति आयो,’ उनले दुखेसो पोखे।
बजारमा अहिले दैनिक उपभोग्य सामग्रीसहित लत्ताकपडा, सजावट र घरायसी सामानको मूल्य आकासिएको छ। विगतका तुलनामा यस वर्ष बजारमा ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म नै महँगी बढेर सामान आएको व्यवसायी बताउँछन्। आफूहरूले खरिद गर्दा नै मूल्य बढेका कारण विगतको तुलनामा बजारमा सामग्रीको मूल्य केही बढेको उनीहरूको भनाइ छ।
म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष बेलबहादुर कटुवालले खाद्यान्नमा ६० प्रतिशतसम्म मूल्य बढेर आएको र त्यसको प्रत्यक्ष मार सर्वसाधारण र व्यवसायीलाई समेत परेको बताए।
चामल, जिरालगायत खाद्यसामग्रीको मूल्य गत वर्षभन्दा दोब्बर भएको छ। तेल, चिनीलगायत सामग्रीको मूल्यसमेत बढेर आएको छ।
‘जिल्लामै कृत्रिम मूल्य बढेको छैन, हामीले व्यवसायीलाई निरन्तर सचेत गराइरहेका छौं, माथिबाट आउँदा नै मूल्य अस्वाभाविकरूपमा बढेको हो,’ उनले भने, ‘मूल्य बढेपछि स्वाभाविकरूपमा चाडपर्व खर्चिलो हुने देखिएको छ।’
बजारमा मूल्य बढेसँगै व्यापार–व्यवसायमा पनि गिरावट आएको छ। अन्य समयको तुलनामा चाडपर्वको समयमा व्यापार बढे पनि विगतका वर्षको तुलनामा व्यवसाय खस्किएको संघले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष दसैंको समयमा ३० प्रतिशत व्यापार कम भएको उनको भनाइ छ।
व्यापार–व्यवसाय घट्नुमा बजारमा अस्वाभाविक मूल्यवृद्धिसँगै गाउँमा बसोबाससमेत कम हुँदै जानु अर्को कारण बनेको जानकार बताउँछन्। म्याग्दीको जनसंख्या घट्दो क्रममा हुँदै जानु, गाउँ–गाउँमा बसाइँसराइका कारण रित्तिँदै जानुले पनि उपभोक्ता घट्दै गएको हुनसक्ने व्यवसायीको अनुमान छ।
देशव्यापीरूपमा आर्थिक सङ्कटको प्रभावले पनि धनी र हुनेखाने परिवारले समेत चाडपर्वमा खुलेर खर्च गर्न सक्ने अवस्था बनेको छैन।
यस वर्ष बजारमा भेडाच्याङ्ग्राको मूल्यसमेत अस्वाभाविकरूपमा बढेको छ। हिमाली क्षेत्रमा पालन गरेर दसैंलाई लक्ष्य गरी बजार ल्याइएका भेडाच्याङ्ग्राको मूल्य ५० हजारसम्म पुगेको छ।
भेडाच्याङ्ग्रामा प्रतिगोटामै गत वर्षभन्दा १० हजार रुपैयाँभन्दा धेरै बढेको छ। दसैंकै समयमा बजारमा अत्यधिक खपत हुने स्याउको मूल्यसमेत बढेको छ। अघिल्लो वर्ष प्रतिकिलो २ सयमा खरिद–बिक्री हुने स्याउ अहिले बजारमा प्रतिकिलो २ सय ५० पुगेको छ।
मूल्यवृद्धि नियन्त्रणमा सरकारले ध्यान नदिँदा सामान्य नागरिक दसैंलगायत चाडपर्व सकसपूर्ण तवरले मनाउनुपर्ने अवस्थामा पुगेका छन्।
भड्किलो तवरले चाडपर्व मनाउने संस्कारले समस्यामा परेका सर्वसाधारण नागरिक बजारमा बढेको मूल्यवृद्धिले चाडपर्वलाई खर्चिलो तवरले मनाउनुपर्ने बाध्यतामा पर्ने गरेका छन्। रासस