चितवन। जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ। कतिपयले ऋण काढेर दसैं मनाउने तयारी गरेका छन्।
यो समुदायका अधिकांशको आफ्नो उब्जनीले ६ महिना पनि पुग्दैन। गिठ्ठा, भ्याकुरलगायत कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन्।
इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरूको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए।
‘चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ। चाडपर्वका लागि ऋण काढ्नुपर्ने बाध्यता छ,’ उनले भने।
दसैंमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसार रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उन बताए। यो समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रिँदै गएको उनको भनाइ छ।
‘मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैं मान्ने गर्छन्,’ उनले भने, ‘केहीले दसैंका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै छ।’
इच्छाकामना–२ का अध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा ६ महिनासम्मका लागि खानमात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको सुनाउँछन्।
अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उनले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताए। ‘सोझा जाति भएकाले देखासिकी बढेको छ। यसलाई रोक्न हामीले प्रयास गरेका छौं,’ उनले भने।
कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ्ग प्रजा यो समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताउँछन्।
चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उनले सुनाए।
पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुँदा धानचामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौंला भनेर ऋणधन गरेर दसैं मनाउन बाध्य छौं,’ उनले भने, ‘चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै माघ–फागुनसम्म कुर्नुपर्ने बाध्यता छ।’
चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायत जिल्लामा चेपाङ समुदायको बसोबास छ। २०६८ सालको जनगणनाअनुसार नेपालमा चेपाङको संख्या ६८ हजार ३ सय ९९ छ।