काठमाडौं। नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दिएको निर्देशन विपरित काम गर्ने वाणिज्य बैंकहरु केन्द्रीय बैंकको कारबाहीमा परेका हुन्।
जसमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, एनआइसी एसिया बैंक, नबिल बैंक र सिटिजन्स बैंकलाई राष्ट्र बैंकले नगद जरिवानादेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकलाई सचेत गराएको छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धि ऐन उल्लंघन गर्दा ७० लाख रुपैयाँ जरिवाना तिरेको छ।
हिमालयन बैंकले बैशाखमा तोकिएको ८० प्रतिशत कर्जा निक्षेप अनुपात (सिडी) कायम नगर्दा राष्ट्र बैंकले चालू आवको पहिलो त्रैमासमा १ करोड ६७ लाख ७१ हजार रुपैयाँ नगद जरिवाना तिराएको छ।
यस्तै, एनएमबी बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग गर्दा कारबाहीमा परेको छ। बैंकले एकीकृत निर्देशनको कार्यविधि, २०७५ (तेश्रो संशोधनसहित) को दफा १० को उप–दफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको थियो।
राष्ट्र बैंकले उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको छ। साथै, सो सम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार सचेत गराएको छ।
एनआइसी एसिया बैंक र नबिल बैंकले क्यापिटल एडुकेसीको निर्देशन विपरित कम गर्दा कारबाहीमा परेका हुन। एनआइसी एसिया बैंकले एकीकृत निर्देशन नं. १५ को बुँदा नं. ३ को (८) मा उल्लेखित व्यवस्था विपरीत हुने गरी ग्राहकहरुसँग बढी लिएको ब्याज रिस्क प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको हुँदा कारबाहीमा परेको हो।
बैंकले निर्देशन विपरीत ब्याज बढाएको, क्यापिएडुकेसि फ्रेमवर्क २०१५, विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ्ग गरेको थियो। राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नं १५ को बुँदा नम्बर ३ को (८) समेत उल्लङ्घन गरेको पाईएकोले बैंकका प्रमुखकार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार राष्ट्र बैंकले नसिहत दिएको छ। साथै, उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमन
नगरी राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नं। ६०७९ को सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको बुँदा नं। (घ) र (ङ) समेत पालना नगरी जारी निर्देशनको उल्लङ्घन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार संचालक समितिलाई समेत सचेत गराइएको छ।
साथै नबिल बैंकले एकीकृत निर्देशन नं। १५ ०७८ को ३(८) उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम संचालक समितिलाई सचेत गराइएको छ। नबिलले एकीकृत निर्देशन नं। १५ २०७९ को ३ विपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैँकको कोर बैंकिङ सिस्टममा राखी कर्जामा एडिस्नल रिस्क प्रिमियम स्वरुप अतिरिक्त १.५ प्रतिशत असुल गरेको थियो।
बैंकले क्यापिटल एडुकेसि फ्रेमवर्क, २०१५ अनुसार जोखिमभारित सम्पत्ति गणना नगरेको, निर्देशन विपरित प्रिमियम बढाएको, ऋणी ग्राहकहरुसँग त्रैमासिक रुपमा लोन एड्मिस्टेसन फि लिने गरेको तथा संस्थागत मुद्धती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम
ब्याज उपलब्ध गराएको देखिएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२)
क बमोजिम सचेत गराइएको छ।
सिटिजन्स बैंकले राष्ट्र एकीकृत निर्देशन २०७९ कोनिर्देशन नं २बमोजिम कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नगरेको तथा प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको थियो।