काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले असोज २५ मा गरेको राष्ट्रिय आर्थिक बहसमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संकटमा फसेको अर्थतन्त्र उकास्न गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाए। अर्थतन्त्रमा देखिएका समस्या समधानका लागि कुन निकायले के-के भूमिका निर्वाह गर्नुपर्छ भन्ने विषय अध्ययन गरेर कार्यान्वयनका लागि ‘आर्थिक सुधार आयोग गठन’ गर्ने समेतको प्रतिबद्धता जनाए।
प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्र गम्भीर मोडमा पुगेको महसुस गरिरहेको बताउँदै यसलाई पार लगाएरै छाड्ने बताए। त्यसका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकसहित सम्बन्धित सबै निकायसँग बारम्बार छलफल भइरहेको उल्लेख गर्दै उनले नआत्तिनसमेत उद्योगी- व्यवसायीलाई अनुरोध गरे।
तर, प्रधानमन्त्रीसँगै रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भने अर्थतन्त्र गम्भीर संकटमा नरहेको बताउँदै अनावश्यक हल्ला गरेर मानसिकरूपमा अरूलाई तनाव नदिन व्यवसायीलाई निर्देशन दिन भ्याए। उनले यतिसम्म भन्न भ्याए कि अर्थतन्त्र सुधारका लागि केही नगर्न नसके पनि नराम्रो पनि केही नगरेको बताए। उनको यस्तो अभिव्यक्ति आइरहँदा मञ्चमरै रहेका प्रधानमन्त्री दाहालले भने केही असज महसुस गरिरहेको देखिन्थे।
उद्योगमन्त्रीको अभिव्यक्तिबाटै थाहा हुन्छ कि उनी अहिलेको आर्थिक संकट समधानमा लागेका छैनन्। खासगरी उद्योग-व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने उद्योग मन्त्रालयका मन्त्रीले नै गैरजिम्मेवारपूर्ण भाषण दिएपछि धेरै उद्योगी-व्यवसायी रुष्ट बनेका छन्। ‘जोसँग हाम्रो धेरै आश हुन्छ तिनै व्यक्तिले गलत भाषण गरेपछि कसको आश गर्ने,’ एक व्यवसायीले भने, ‘जति प्रधानमन्त्री र अर्थमन्त्री अर्थतन्त्रबारे चिन्तित हुनुहुन्छ, त्यति उद्योगमन्त्री देखिँदैनन्।’
हुन त अहिलेसम्म उद्योगमन्त्री रिजालले जारी सकसपूर्ण अर्थतन्त्रबारे छलफल गर्न औपचारिकरूपमा कुनै निजी क्षेत्रको छाता संघसंगठन बोलाएका छैनन्। मुलुकमा रोजगारी नभएर वैदेशिक रोजगारीका लागि दैनिक हजारौं युवा विदेशिइरहँदा उद्योग मन्त्रालयले नयाँ-नयाँ उद्योग सञ्चालनका लागि आवश्यक सहजीकरण गर्नुपर्ने बेला मन्त्री नै बेकामे भएर हिँडिरहेको आरोप एक उद्योगीको छ।
‘उद्योग स्थापनाका लागि बेहोर्नुपर्ने समस्या समधानका लागि उद्योगमन्त्रीज्यूले विशेष चासो राखेर वैदेशिक लगानी होस् वा आन्तरिक लगानी विस्तारमा लाग्नुपर्ने हो,’ ती व्यवसायीले भने, ‘नीतिगत समस्याकै कारण भएका उद्योगसमेत बन्द गर्नुपर्ने स्थिति आइसकेको छ।’
अर्थमन्त्री र उद्योगमन्त्री 'वान टु वान' छैन भेट
मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका अर्थमन्त्री डा. प्रकाशरण महत र उद्योगमन्त्री रिजालले संकटमा फसेको अर्थतन्त्र उकास्ने विषयमा हालसम्म 'वान टु वान' वार्ता हुन सकेको छैन। अर्थमन्त्रीनिकट एक अधिकारीका अनुसार सामूहिकरूपमा हुने भेटबाहेक दुईजनाको मात्र भेट अहिलेसम्म भएको थाहा छैन।
‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान अर्थमन्त्री एक्लैले गर्न सक्ने स्थिति छैन। जति प्रधानमन्त्री र अर्थमन्त्री गम्भीर देखिन्छन्, त्यत्तिकै उद्योगमन्त्री पनि देखिनुपर्ने हो,’ एक उद्योगीले भने, ‘उद्योगीसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयका मन्त्रीको बिन्दासपन देख्दा उदेक लागेर आउँछ।’
निजी क्षेत्र र विदेशी लगानीकर्तालाई आकर्षण गराउन उद्योग मन्त्रालयबाट विभिन्न प्याकेज ल्याउन मन्त्रीले कुनै चासो नै देखाएका छैनन्। विदेशी लगानी ल्याउने मूख्य मन्त्रालय नै उद्योग रहेको बताउँदै त्यसका लागि सहज वातावरण निर्माणमा समेत हालका उद्योगमन्त्री चुकेको ती व्यवसायीको भनाइ छ।