काठमाडौं। नेपाल राष्ट्र बैंकले लामो समयदेखि दसैंका बेला नयाँ नोट सटही भन्दै लामो लाइन लगाएर नौटंकी देखाउने गर्छ। हरेक वर्ष चाडपर्व लक्ष्यित नयाँ नोट वितरणमा राष्ट्र बैंकले आफ्नो नियमनका बैंक तथा वित्तीय संस्थालाई पूर्णजिम्मेवारी सुम्पिन छाडेर नयाँ नोट वितरणका नाममा सर्वसाधारणलाई सास्ती दिइरहेको हो।
मुलुकका ७७ जिल्ला, ७ सय ५३ स्थानीयतहमा बैंक तथा वित्तीय संस्था पुगिसके पनि राष्ट्र बैंकले केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरूमा नोट सटहीका नाममा नवदुर्गा लागेपछिका ५ दिन सर्वसाधारणलाई आफ्नो परिसर बोलाएर नोट वितरण गरिरहेको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पर्याप्त नयाँ तथा सुकिला नोट उपलब्ध गराएर हरेक शाखाबाट सटही सुविधा दिनुपर्नेमा सीमित कोटा तोकेर आफ्नो कार्यालयबाटै दिँदै आएको छ।
वित्तीय संस्था (लघुवित्तबाहेक) ६ हजार ४ सय ३५ शाखा हुँदाहुँदै राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित ८ स्थानबाट दिएको नोट सटही सुविधाले कति नागरिकले नोट साट्न सक्छन्, प्रश्न उब्जिएको छ। राष्ट्र बैंककै अधिकारीहरू लामो लाइन लगाएर नयाँ तथा सुकिला नोट सटही गर्नुु नालायकीपन भएको बताउँछन्।
‘राष्ट्र बैंकमा नोट साट्ने लाइन देखेर विदेशीहरू पनि छक्क पर्दा हुन् कि नेपालमा केन्द्रीय बैंकले नोट साट्ने रहेछ भनेर,’ राष्ट्र बैंकका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘ती विदेशीको मनमा नेपालका बैंक तथा वित्तीय संस्थामा पैसा नै नहुने रहेछ कि क्या हो भन्ने उत्सुकता हुँदो हो।’
काठमाडौं उपत्यका बाहिर आफ्ना गृहजिल्लामा दसैं मनाउन फर्किदाँ नयाँ नोट लिएर जाने सर्वसाधारण राष्ट्र बैंक परिसरमा बिहान १० बजेदेखि लाइनमा उभिँदा पनि दिउँसो २ बजेको टोकन पाएका छन्। असोज २९
यता राष्ट्र बैंक केन्द्रीय कार्यालय होस् वा प्रादेशिक कार्यालयको गेट खुल्नुअघि नै नोट साट्न सर्वसाधारण पुगिसकेका हुन्छन्।
राष्ट्र बैंक परिसरबाट सर्वसाधारणको लाइन सडकसम्म आइपुग्दा सवारीजामले अन्य सर्वसाधारणले समेत सास्ती खेप्नुपरेको छ भने ट्राफिक प्रहरीले छुट्टै टिम नै राष्ट्र बैंक परिसरका सडकका लागि खटाउनुपरेको हाे।
यता वाणिज्य बैंकहरूका केही शाखाले मात्रै नोट सटही सुविधा दिँदा बैंकका कर्मचारीसमेत राष्ट्र बैंकमा नै लाइन बसेर नोट साटिरहेको भेट्न सकिन्छ। राष्ट्र बैंकले दिएको सीमासम्म पैसा ल्याएर पुग्ने जति सबै नयाँ नोट वितरण गरिएको नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘कोटाभित्र रहेर राष्ट्र बैंकबाट ल्याएको नयाँ नोट शाखा पनि पठाएका छौं। यसपटक राष्ट्र बैंकले हामीलाई नै खटाएर नयाँ नोट दिएको हुँदा बैंकले पनि सर्वसाधारणले मागेजति सटही सुविधा दिन सकेनौं,’ उनले भने।
राष्ट्र बैंकले अघिल्ला वर्षका दसैं लक्ष्यित नयाँ नोट सटही सुविधा दसैं बिदा सुरू हुन १५ दिन अघिबाटै दिने गरेको थियो। तर, यसपटकको दसैं लक्ष्यित नयाँ नोट सटही सुविधा भने बिदा सुरू हुन ५ दिन अघिबाट मात्रै दिइएको छ। यसले गर्दा सर्वसाधारणलाई नोट सटही गर्ने समय थोरै हुँदा भीडसमेत बढेको हो।
धार्मिक आस्थाका कारण नयाँ नोट सटही बन्द गराउन असहज भएपछि सटही समय घटाएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन्।
‘डिजिटल कारोबार प्रोेत्साहन गर्ने नीति राष्ट्र बैंकको हो, यस्तो भन्दैमा नयाँ नोट दिँदैनौं भन्न धार्मिक आस्थाका कारण मिल्दैन रहेछ,’ डेपुटी गभर्नर मिश्र भन्छन्, ‘त्यसैले अघिल्लो वर्षभन्दा सटही सुविधाको समय घटाएका हौं।’
आगामी दिनमा नोट सुरक्षण र डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न नोटबाट हुने कारोबार घटाउने नीति राष्ट्र बैंकले ल्याउने उनको भनाइ छ।
नोट सटहीमा भेदभाव
सर्वसाधारणले कोटामा नयाँ नोट साट्न सास्ती खेपिरहँदा राष्ट्र बैंक आफैंले सर्वसाधारणका अतिरिक्त राष्ट्र बैंकका बहालवाला तथा पूर्वकर्मचारीलाई चाहिएजति मात्रामा नयाँ नोट छुट्टै सटही काउन्टर राखेको हुन्छ। त्यसै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायत ठूला संस्थालाई पनि सीमा नतोकी ठूलो परिमाणमा सटही सुविधा दिन्छ।
त्यसैगरी सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रूपैयाँको सीमा तोकेके केन्द्रीय बैंकका अधिकारीहरूले आफन्त, छरछिमेकी, नाम चलेका व्यवसायी, पहुँचवाला सरकारी कर्मचारी, राजनीतिज्ञ र पत्रकारलगायतलाई व्यक्तिको प्रभूत्व र पहुँचका आधारमा मागेजति नयाँ नोट सटही सुविधा दिन्छ
बैंकलाई अविश्वास?
राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति लिएका २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी, ५७ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक गरी १ सय १२ बैंक तथा वित्तीय संस्था छन्। जसमा शाखा कार्यालय नै वाणिज्य बैंकका ५ हजार १६, विकास बैंकका १ हजार १ सय ३१ र फाइनान्स कम्पनीका २ सय ८८ गरी कूल ६ हजार ४ सय ३५ शाखा कार्यालय छन्। साथै, वाणिज्य बैंक र विकास बैंकका कुल १ हजार ३ सय १ शाखारहित बैंकिङ सेवा छन्।
यस्तै वाणिज्य बैंकका ४ हजार ५ सय ८८, विकास बैंकका ३ सय ४६ र फाइनान्स कम्पनीका ४४ गरी कुल ४ हजार ९ सय ७८ एटिएम मेसिनबाट सर्वसाधारणले पैसा झिक्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले असोज २९ देखि कात्तिक ३ सम्मका लागि सर्वसाधारणमा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही सुविधा खुला गरेको छ। राष्ट्र बैंकले आफ्नो नियमनमा रहेका सयभन्दा बढी बैंक तथा वित्तीय संस्था र मुलुकभरि फैलिएका हजारौंको संख्यामा तिनका शाखा कार्यालयबाट नोट वितरण गर्ने पूर्णजिम्मेवारी नदिँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई असोज २५ देखि नै सीमा तोकेर सर्वसाधारणमा नयाँ नोट वितरण गर्न ६ करोड १० लाख रुपैयाँका दरले सटही दिएको थियो। सोही सीमाभित्र नयाँ नोट लिएर वाणिज्य बैंकहरूले आफ्ना केही शाखा कार्यालयबाट सर्वसाधारणमा नयाँ नोट वितरण गरेका छन्
तर, राष्ट्र बैंकबाट पाएको नयाँ नोट आफ्ना कर्मचारी र ग्राहकलाई नै अपुग हुने हुँदा सर्वसाधारणमा आवश्यकताअनुसार वितरण गर्न कठिन भएको एक वाणिज्य बैंकका कार्यकारी अधिकृत (सिइओ) बताउँछन्।
‘पाएको जति स्टाफ र केही क्लाइन्टमा बाँड्दा नै सकियो, राष्ट्र बैंकले सर्वसाधारणलाई लाइन लगाएर नोट बाँड्नुभन्दा बैंकहरूलाई नै सबै बाँड्नु दिए सहजपूर्ण तवरमा सर्वसाधारणले नयाँ नोट पाउँछन्,’ ती सिइओले भने, ‘कोरोनाको समयमा नोट नसाट्ने भन्दा सबैलाई आनन्द थियो, सर्वसाधारणले दसैं मनाएकै थिए, नोट सुरक्षणको पाठ सिकाउने, कानुनी कारबाहीको परिपत्र जारी गर्ने र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै आफैं लाइन लगाएर नोट बाँड्नु भनेको आफैं बिरामी आफै झाँकी भनेको जस्तै हो।
नयाँ नोट वितरणमा नयाँ नीति आवश्यक
बर्सेनि दसैंमा दक्षिणामा नयाँ नोट दिने चलन बढ्दो छ। यही चलनले पछिल्लो पुस्तामा विकृतिको रूप लिएको छ। आजभोलि दक्षिणामा नयाँ नोट नै चाहिने, जुवातास खेल्दासमेत नयाँ नोट नै चाहिने प्रवृत्ति मौलाउँदो छ।
राष्ट्र बैंकले यस्तो प्रवृत्तिलाई रोक्न नयाँ नोट सटहीको व्यवस्था नै परिवर्तन गर्नुपर्ने नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटी बताउँछन्
‘नयाँ नोट नहुँदैमा दसैं मनाउन नमिल्ने भन्ने होइन, दसैंको समयमा राष्ट्र बैंकले नयाँ नोट बाँड्दा समाजमा जुवातास खेल्दा पनि नयाँ नोट चाहिनेजस्ता विकृति मौलायो। अब दसैंमा लाइन लगाएर नयाँ नोट बाँड्नुभन्दा दसैंभन्दा ४/५ महिनाअघि नयाँ नोट साट्न दिने नीति ल्याउनुपर्छ,’ उनले भने, ‘आवश्यक हुनेले दसैंका लागि भनेर साँचेर राख्छ, अन्यथा बिस्तारै नयाँ नोट सटही सुविधा नै बन्द गरेर डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ।’
राष्ट्र बैंकले दसैंमा नयाँ नोट सटही सुविधा दिने नीति परिवर्तन गरी सीमा तोकेर दसैंमा डिजिटल दक्षिणा दिनेलाई प्रोत्साहनको नीति ल्याउनुपर्ने उनको भनाइ छ।