काठमाडौं। उपभोक्ताले एक किलो चिनी खरिद गर्न कम्तीमा १ हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता भएको छ।
बजारमा चिनी अभावसँगै हाल भाटभटेनी, सेल्सबेरी, बिगमार्टजस्ता सुपरमार्केटले कम्तीमा १ हजार रुपैयाँबराबरको सामान खरिद गरेपछि मात्रै एक किलो चिनी दिने गरेका छन्। चिनीको मूल्य त छँदैछ।
उक्त रकमबराबरको सामान खरिद नगरेको खण्डमा यस्ता सुपरमार्केटले आफूसँग भएको चिनी पनि उपभोक्ताई बिक्री नगरी राखिरहेका छन्। उनीहरूले अन्य सामान बिक्री गर्ने अस्त्र बनाइरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना बताउँछन्।
खासगरी दसैं, तिहार र छठजस्ता चाडपर्वमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने गरेका छन्। सुपरमार्केटले भने यही मौका छोपेर चिनीलाई अन्य सामान बिक्रीको अस्त्रका रूपमा प्रयोग गरेका हुन्। केही समययता नेपाली बजारमा चिनी अभाव देखिएपछि हाल साल्ट ट्रेडिङजस्ता स्थानमा उपभोक्ताको भीड लागिरहेको छ।
तर, सुपरमार्केटले भने सरकारबाट प्राप्त गरेको चिनी सहज बिक्री गर्नुपर्नेमा यसरी अन्य सामग्री खरिदको अस्त्र बनाएपछि यसको विरोध भइरहेको छ।
अहिले दसैं, तिहार र छठजस्ता चाडपर्वका मुखमा चिनी अभाव भएपछि उपभोक्ताले सास्ती भोगिरहेका छन्। अभावकै कारण यसअघि ८० देखि ८२ रुपैयाँ खुद्रा मूल्यमा पाइने चिनीको मूल्य हाल किलोको १ सय ३० देखि १ सय ४० रुपैयाँ पुगिसकेको छ।
चिनी अभाव देखिएपछि सरकारले कोकाकोलासँग चिनी लिने तयारी पनि गरेको थियो। तर, भनेजति चिनी नदिने भएपछि सरकारले नलिने निर्णय गरिसकेको छ।
सुरुमा कोकाकोलाले १ हजार ५ सय टन चिनी दिने बताएको थियो। त्यसपछि सरकारले खरिद प्रक्रिया अघि बढाउन लिखित सम्झौता गर्न लाग्दा भने ५० देखि १ सय टनमात्रै चिनी उपलब्ध गराउन तयार भयो।
यसपछि चिनी अभाव एक प्रतिशत पनि समाधान नगर्ने भन्दै सरकार चिनी खरिद प्रक्रियाबाट पछि हटेको हो। कोकाकोलाबाट पनि सरकारले चिनी लिन नसकेपछि थप अभाव लम्बिने देखिएको छ।