काठमाडौं। पछिल्लो समय एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धमाधम आफ्नो लगानी बढाउँदै लगेको छ। जीवन बिमा व्यवसाय विस्तारमा अगाडि बढिरहेको एसियनले पछिल्लो समय होटल, एयरलाइन्स र बैंकिङ क्षेत्रका कम्पनीहरूको संस्थापक सेयरमा आक्रमक लगानी बढाएको छ।
नेपाल बिमा प्राधिकरणको लगानी निर्देशिकाको व्यवस्थामा रहेर कम्पनीले हालसम्म कुल ३५ अर्ब ७१ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ। जसमध्ये पछिल्लो समय कम्पनीले होटल तथा पर्यटन र बैंकिङ क्षेत्रमा लगानी बढाएको छ। कम्पनीले उचित प्रतिफलको विश्लेषण गर्दै पुरानो लगानीलाई निरन्तरता दिँदै नयाँ लगानीको पाटो खोज्न थाले पनि एकैपटक विभिन्न क्षेत्रमा आफ्नो लगानी बढाउनुले केही सञ्चालकको ‘हिडेन इन्ट्रेस्ट’ रहेको अन्य संस्थापकहरूले आरोप लगाउन थालेका छन् ।
नयाँ लगानीको पाटो
एसियन लाइफले प्रतिफल आउने क्षेत्र खोज्दै लगानी गर्ने क्रममा होटल तथा पर्यटन र बैंकिङ क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेको छ।
कम्पनीले पछिल्लो समय यती एयरलाइन्स, पोखराको माउन्टेन ग्लोरी रिसोर्ट, काठमाडौं रविभवनको चारतारे होटल क्राउन इम्पेरियल र प्रभु बैंकको संस्थापक सेयरमा लगानी गरेको छ। कम्पनीले यती एयरलाइन्सको ४९ प्रतिशत, माउन्टेन ग्लोरी होटलको ४० प्रतिशत, होटल क्राउन इम्पेरियलको ५० प्रतिशत र प्रभु ग्रुपको ७० लाख कित्ता संस्थापक सेयर खरिद गरेको छ।
एसियनले यतीको ४९ प्रतिशत संस्थापक सेयर १ अर्ब ७० करोड रुपैयाँमा खरिद गरेको हो। कम्पनीले यतीमा आफ्नो प्रतिनिधि अर्थात प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास सापकोटालाई तोकिसकेको छ।
यस्तै, एसियनले प्रभु बैंकको कुल ७० कित्ता संस्थापक सेयर कूल ७९ करोड १० लाख रुपैयाँमा खरिद गरेको छ। कम्पनीले प्रभुको २० लाख कित्ता तत्कालीन सेन्चुरी कमर्सियलल बैंकलाई मर्जर गर्नुअघि खरिद गरेको थियो।
उक्त समय कम्पनीले बैंकको संस्थापक सेयर प्रतिकित्ता १ सय २३ रुपैयाँका दरले कुल २४ करोड ४० लाख रुपैयाँमा खरिद गरेको थियो। साथै, प्रभुले सेन्चुरीलाई मर्ज गरेपछि प्रतिकित्ता १ सय ९ रुपैयाँका दरले एसियनले ५० लाख कित्ता संस्थापक सेयर ५४ करोड ५० लाख रुपैयाँमा खरिद गरेको हो। एसियनले प्रभुको अधिकांश सेयर बैंकका संस्थापक देवीप्रकाश भट्टचन र उनको नजिकको नाममा रहेको लिएको हो ।
एसियनले लगानी विस्तार गर्ने क्रममा पछिल्लोपटक खरिद गरेका कम्पनीहरूको संस्थापक सेयरको मूल्यमा मोलमोलाइ गर्दै तोकिएको मूल्यमा १० रुपैयाँ थप गर्दै खरिद गरेको स्रोतको भनाइ छ।
एसियन लाइफले खरिद गर्ने सेयरमा तोकेको भन्दा बढी मूल्य तिर्ने र बढी तिरेको रकमलाई पछि केही सञ्चालकले आफ्नो नाम वा आफन्तको नाममा राख्ने गरी डिल भइरहेको एसियन लाइफका एक संस्थापकले क्यापिटल नेपाललाई बताए ।
एसियन लाइफको हालसम्मको लगानी
गत आर्थिक वर्षको असार मसान्तसम्म एसियन लाइफ इन्स्योरेन्सले कुल ३५ अर्ब ७१ करोड ६१ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ। जसमध्ये कम्पनीले सरकारी बचतपत्र तथा ऋणपत्रमा ६२ करोड ५० लाख, वाणिज्य बैंकहरुको मुद्धतीमा २२ अर्ब ५५ करोड ९३ लाख, विकास बैंकहरुको मुद्धती निक्षेपमा १ अर्ब ७० करोड १८ लाख र वित्त कम्पनीहरुको मुद्धती निक्षेपमा ८० करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ।
उक्त अवधिमा एसियनले सूचीकृत कम्पनीहरुको साधारण सेयरमा ७७ करोड ७७ लाख, सूचीकृत कम्पनीहरुको ऋणपत्रमा ६ अर्ब ३२ करोड, नागरिक लगानी कोष र म्युचअल फन्डमा ६ करोड ६५ लाख, प्राधिकरणले तोकेको प्राथमिकता प्राप्त क्षेत्रहरु कृषि, पयर्टन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा) मा १ अर्ब ४४ करोड २० लाख रुपैयाँ र अन्य लगानी ८ करोड १२ लाख रुपैयाँ गरि पौने ३८ अर्ब रुपैयाँ लगानी गरेको छ।
एसियनले लगानी गरेको कम्पनीको अवस्था
यती एयरलाइन्स
यती एयरलाइन्स सञ्चालनमा आएको २५ वर्ष पूरा भइसकेको छ। व्यवसाय विस्तारमा नयाँ साझेदारी खोजिरहेको यतीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। जसको ४९ प्रतिशत सेयर एसियन लाइफले खरिद गरेको हो। एसियनले यतीको संस्थापक सेयर खरिदमा पौने २ अर्ब रुपैयाँ खर्च गरेको छ।
यतीले गत वर्षसम्म २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। सन् २०२० मा यतीले २ अर्ब ६६ करोड, २०१९ मा ३ अर्ब ४३ करोड र २०१८ मा ३ अर्ब १३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
प्रभु बैंक
सन् २०१६ मा तकालीन ग्रान्ड बैंक, किस्ट बैंक, प्रभु विकास बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्जर भएर स्थापना भएको हो प्रभु बैंक। बैंकले गत वर्ष पुसमा तत्कालीन सेन्चुरी बैंकलाई प्राप्ति गरेको थियो।
सेन्चुरी कमर्सियल बैंक समाहित गरेपछि बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको छ। सेन्चुरीको खराब कर्जाको असुलीमा बैंकलाई अहिले समस्या परेको छ। अघिल्लो वर्ष १.८६ प्रतिशतमात्र खराब कर्जा रहेको प्रभु बैंकमा सेन्चुरी मिसिएपछि खराब कर्जा ४.१६ प्रतिशत पुगेको हो। खराब कर्जा बढेपछि बैंकले कर्जा व्यवस्थापन (लोन लस प्रोभिजन) मा २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम छुट्टाएको छ।
सेन्चुरी कमर्सियल बैंकलाई प्राप्त गरेपछि प्रभुको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड रुपैयाँ बढी पुगेको छ। सञ्चित कोषको आकार पनि ८५ प्रतिशत बढेर १० अर्ब रुपैयाँ नाघेको छ। बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १६ करोड १६ लाख रुपैयाँ मात्र छ। जसबाट बैंकले लगानीकर्तालाई प्रतिफल दिनसक्ने क्षमता शून्य छ। अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ थियो।
प्रभु बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ मा ८ प्रतिशत, आर्थिक वर्ष ०७७/७८ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष ०७६/७७ मा १०.५३ प्रतिशत, आर्थिक वर्ष ०७५/७६ मा १६.८४ प्रतिशत र आर्थिक वर्ष ०७४/७५ मा ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो।
होटल क्राउन इम्पेरियल
अर्किड होल्डिङस लिमिटेडले सञ्चालन गरिरहेको क्राउन इम्पेरियल चारतारे स्तरको होटल हो। होटलको ऋण १ अर्ब रुपैयाँ छ। क्राउन इम्पेरियलले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लागेको छ।
होटलले १ सय रुपैयाँ अंकित दरमा १ करोड १५ लाख कित्ता आइपिओ ल्याउन लागेको हो। २०७६ असार १३ गतेबाट होटेल क्राउन इम्पेरियल सञ्चालनमा आएको हो। होटल क्राउन इम्पेरियल १४ तला छ। होटलमा १ सय ३१ कोठा छ। लाइभ म्यूजिकसहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज) र दुईवटा बार छन्। यस्तै, ब्यांकेट हल, जिम, स्विमिङ पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ हल छ।
क्राउन इम्पेरियलको कारोबारमा बढेको छ। २०२३ को ८ महिनामा होटलले १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ।
होटलका अनुसार २०२२ मा ६ करोड ६० लाख रुपैयाँमात्र व्यापार गरेको थियो। यो वर्ष अकुपेन्सी दर ६ प्रतिशतमात्र थियो। अघिल्लो वर्ष २ करोड ३० लाख रुपैयाँमात्र व्यापार गरेको थियो। २०२० मा सञ्चालन आम्दानी ८ करोड २० लाख रुपैयाँ थियो।
अर्किड होल्डिङ्स २००७ मा स्थापना भएको हो। २०२२ मा आएर होटल पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। होटल क्राउन इम्पेरियल ब्रान्डमा सञ्चालनमा छ।
माउन्टेन ग्लोरी रिसोर्ट
रिसोर्टको स्थापना २००७ मा स्थापना भएको हो। माउन्टेन ग्लोरीले ६५ करोड २३ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
वार्षिक कारोबार ५ करोड ६० लाख रुपैयाँ छ। माउन्टेन ग्लोरी रिसोर्ट पोखराको दोबिलामा छ। रिसोर्ट गत पुसदेखि सञ्चालनमा आएको हो।
एसियन लाइफको ‘आउटलेट’
एसियन लाइफ २०६४ फागुन १५ गतेदेखि स्थापना भएर २०६४ चैतदेखि जीवन बिमा कारोबार शुरु गरेको हो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ हजार रुपैयाँ कायम छ। जसमा ६० प्रतिशत संस्थापक सेयर, ४० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ। संस्थापकहरुमा ९३ वटा प्रवद्र्धक कम्पनी, २ वटा संस्थागत र बाँकी ९१ जना व्यक्तिगत संस्थापकहरु हुन्।
गत असार मसान्तसम्म कम्पनीको जगेडा कोषमा २९ करोड १३ लाख, जीवन बिमा कोषमा ३६ अर्ब ९० करोड ५५ लाख रुपैयाँ मौज्दात छ।
उक्त अवधिसम्म कम्पनीको २४ करोड २२ लाख रुपैयाँ बराबरको स्थिर सम्पत्ति र ६४ करोड २१ लाख रुपैयाँ बढी खुद चालू सम्पत्ति छ। यस्तै ३४ अर्ब ९४ करोड १८ लाख रुपैयाँ दीर्घकालिन लगानी तथा कर्जा दिएको छ। साथै कम्पनीले ४ अर्ब ७० करोड २३ लाख रुपैयाँ बिमा लेख धितोमा कर्जा सापटी दिएको छ।
बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरेपछि कम्पनीले न्यूनतम् पुँजी पुर्याउन कसरत गरिरहेको छ। जसका लागि कम्पनीले प्राधिकरणमा ५८.४५ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पेश गरेको छ।
बिमा क्षेत्रमा अग्रिणी व्यवसाय विस्तार गरिरहेको एसियनले गत भदौ मसान्तसम्म ९ करोड ५२ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। कम्पनीले गत असार मसान्तसम्म २४ करोड रुपैयाँ खुदनाफा कमाएको छ।
कम्पनीले विगतका दिनमा नाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिफल दिनमा पनि कन्जुस्याइ गरेको देखिन्दैन। एसियन लाइफले आर्थिक वर्ष ०.४५ प्रतिशत नगद र ८.५० प्रतिशत बोनस गरी कुल ०७८/७९ मा ८.९५ प्रतिशत लाभांश दिएको छ।
कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा १५.२६ प्रतिशत र आर्थिक वर्ष ०७६/७७ मा २७ प्रतिशत लाभांश वितरण गरेको थियो। भने, आर्थिक वर्ष ०७६/७६ मा १ः०ः६ को अनुपातमा हकप्रद र आर्थिक वर्ष ०७४/७५मा २ः१ को अनुपातमा हकप्रद सेयर जारी गरेको थियो।