काठमाडौं। आर्थिक मन्दीका कारण इन्टरनेट नविकरण नगर्ने प्रयोगकर्ता बढ्दै गएको छ। आम्दानीका स्रोतहरु कम हुँदै जाँदा र व्यवसाय चलयमान नहुँदा पहिला जडान गरेको इन्टरनेट सेवालाई नविकरण नगर्ने प्रयोगकर्ता बढ्दै गएका हुन्।
पछिल्लो समय पहिला तिरिसकेको पैसाको म्याद भएसम्म इन्टरनेट चलाउने र सकिएपछि नविकरण शुल्क नतिर्ने ग्राहक संख्या बढ्दै गएको इन्टरनेट सेवा प्रदायक कम्पनीहरु बताउँछन्।
केही समय अगाडि नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकभर ३५ प्रतिशत व्यवसायीले सटर खाली गरेको तथ्यांक सार्वजनिक गरेको थियो। उक्त तथ्यांकमा काठमाडौं उपत्यकामा मात्रै १५ देखि २० प्रतिशत सटर खाली भएको जनाइएको थियो।
यसरी आर्थिक मन्दीका कारण सटरहरु खाली हुँदा र व्यवसायहरु एक पछि अर्को गरेर बन्द हुँदा त्यसको असर इन्टरनेट प्रयोगकर्तामा पनि देखिएको सुबिसु केबल नेटका अध्यक्ष तथा इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)का अध्यक्ष सुधिर पराजुली बताउँछन्।
‘आर्थिक मन्दीको असर हरेक क्षेत्रमा देखिन्छ। अहिले काठमाडौं उपत्यकामा हेर्ने हो भने पनि २५ देखि ३० प्रतिशत सटरहरु बन्द छन्। जुन, सटरहरुमा पहिला इन्टरनेट चल्थे,’ पराजुलीले क्यापिटल नेपालसँग भने, ‘यी सटरहरु बन्द हुनसाथ त्यसका प्रयोगकर्ताले स्वतः इन्टरनेट सेवा नविकरण गर्न छोडे। यो स्वभाविक पनि हो।’ पराजुलीले सटरहरु मानिसको जिविकोपार्जन गर्ने माध्यम भएकाले पनि त्यो बन्द हुँदा इन्टरनेट क्षेत्रमा असर पुगेको बताए।
‘सटरहरु मानिसको जिविकोपार्जन गर्ने र आम्दानीको माध्यम थिए। यो बन्द भएपछि मानिसको आम्दानीको स्रोत पनि बन्द भयो,’ अध्यक्ष पराजुलीले क्यापिटल नेपालसँग भने, ‘आम्दानीको स्रोत बन्द भएपछि सटरमा प्रयोग गर्ने मात्रै होइन घर तथा कोठामा प्रयोग गर्ने इन्टरनेटलाई पनि मानिसले कटौती गरेको देखिन्छ।’ पराजुलीले यहि कारणले गर्दा मानिसले घरको खर्च कटौती गर्दै गएको र इन्टरनेट नविकरण पनि नगरेको बताए। यद्यपि नयाँ ग्राहक थपिने क्रम नरोकिएको पराजुलीको भनाइ छ।
‘हुनतः कोरोना महामारीपछि प्रयोगकर्ताले इन्टरनेट सेवा नविकरण गर्न कम गर्दै गएको देखिन्छ। तर, नयाँ पनि नथपिएकै अवस्था भने होइन,’ पराजुलीले भने, ‘केही मात्रामा भए पनि नयाँ प्रयोगकर्ता थपिने गरेका छन्। वार्षिक रुपमा २० देखि ३० प्रतिशतले ग्राहक थपिने जुन क्रम थियो यसमा निकै सुस्तता आएको छ।’ पराजुलीले इन्टरनेटका पुराना ग्राहकले सेवा नविकरण नगर्ने र नयाँ ग्राहक पनि सन्तोषजनक रुपमा नथपिने क्रमले समग्र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई असर गरेको बताए।
नेपालले २०७२ सालमा भूकम्पको सामना गर्नुपरेको थियो। जसले समग्र पूर्वाधार र अर्थतन्त्रमा असर पुर्यायो। यहि समयमा मुलुकले अघोषित नाकाबन्दीको पनि सामना गर्नुपर्यो। भूकम्प र नाका बन्दीको असरबाट माथि उक्लन खोज्दै गर्दा मुलुकले २०७६ सालबाट विश्वव्यापी फैलिएको कोरोना महामारी, रुस–युक्रेन युद्धको असर पनि व्यहोर्नुपर्यो। यी कुराहरुले गर्दा विस्तारै मुलुको अर्थतन्त्र संकटतर्फ धकेलियो। व्यवसायका सटरहरु एकपछि अर्को गर्दै बन्द हुँदै गए। अहिले पनि ठूलो संख्यामा सटरहरु खाली रहेको हामी देख्न सक्छौं।
यहि कारणले नयाँ प्रयोगकर्ता पनि उल्लेख्य मात्रामा नथपिएको र पुरानै ग्राहकले पनि नविकरण नगर्ने गरेको इस्ट लिंकका अध्यक्ष पुष्करसिंह बडाल बताउँछन्। ‘हुनत इन्टनेट क्षेत्र अरु जस्तो होइन। यसमा अन्य क्षेत्रको तुलनामा आर्थिक मन्दीको असर निकै कम पर्छ,’ आइस्पानका कोषाध्यक्षसमेत रहेका बडालले भने, ‘यद्यपि इन्टरनेट प्रयोग हुने सटरहरु नै खाली हुँदै गएपछि त्यसमा रहेका ग्राहकहरु घट्दै जानु स्वभाविक हो।’
बडालले पछिल्लो समय उच्च प्रतिस्पर्धा र लागत भन्दा धेरै कममा सेवा प्रदान गर्ने होडबाजीका कारण सेवा प्रदायक कम्पनीहरु अप्ठ्यारोमा परेको पनि बताए। ‘अन्य क्षेत्रमा सय प्रतिशत आर्थिक मन्दीको असर रहँदा इन्टनेट क्षेत्रमा १० प्रतिशत मात्रै असर देखिने गर्छ,’ बडालले भने, ‘नेपालका इन्टरनेट सेवा प्रदायक लाग्ने लागत भन्दा दोब्बर कममा सेवा प्रदान गर्ने, उच्च प्रतिस्पर्धा र नियामकले राम्रोसँग नियमन नगर्नाले समस्यामा परेका छन्।’ उनले १० हजार लागत सेवालाई ६ हजार रुपैयाँमा दिएपछि जगेडा पुँजी नभएका कम्पनी डुब्नु स्वभाविक भएको बताए।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० जेठ मसान्तसम्मको एमआइएस रिपोर्टअनुसार वल्र्डलिंक कम्युनिकेसनका प्रयोगकर्ता सबैभन्दा बढी ७ लाख ७२ हजार ९ सय ५९ रहेको छ। यस्तै नेपाल दूरसञ्चार कम्पनीको २ लाख ९० हजार ३ सय २७, क्लासिक टेकको २ लाख ७७ हजार ७ सय ८२, सुबिसु केबल नेटको २ लाख ७१ हजार ५ सय २१, भायानेट कम्युनिकेसनको २ लाख ६४ हजार ८३, डिस मिडिया नेटवर्कको २ लाख २९ हजार ६ सय ४६ र वेब सफर नेपाल कम्युनिकेसनको १ लाख ४७ हजार ४ सय ४७ प्रयोगकर्ता छन्।
रिपोर्टअनुसार टेकमाइन्ड्स नेटवर्कको १ लाख १६ हजार ९ सय ६५, ब्रोडलिंक नेटवर्कको ६१ हजार ८ सय ५२, सिजी कम्युनिकेसनको ५० हजार २ सय ९३, सिम्पल मिडिया नेटवर्कको २९ हजार ५५, फाइबरवल्र्ड कम्युनिकेसनको २४ हजार ७ सय ४५, एरोनेट प्रालिको १३ हजार २ सय ५२, फस्टलिंक कम्युनिकेसनको १६ हजार ३ सय ५५, पोखरा इन्टरनेट प्रालिको १० हजार ९८, नेटम्याक्स टेक्नोलोजिको ८ हजार ५ सय ५८ र इस्ट लिंक टेक्नोलोजिको ६ हजार ४३ ग्राहक छन्। यस अवधिसम्म नेपालको कुल इन्टरनेट प्रयोगकर्ता संख्या २६ लाख ९२ हजार ७४ रहेको छ।