काठमाडौं। कोकाकोलाले मागेजति चिनी नदिने भएपछि सरकारले नलिने भएको छ। बजारमा चिनीको अभाव भएपछि सरकारले कोकाकोलालाई चिनी बिक्री गर्न आग्रह गरेको थियो। जसअनुसार कोकाकोलाले पनि चिनी उपलब्ध गराउने बताएको थियो। अहिले आएर थोरैमात्र चिनी उपलब्ध गराउने भएपछि सरकारले नलिने निर्णय गरेको हो।
उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार कोकाकोलाले सुरुमा १ हजार ५ सय मेट्रिकटन चिनी सरकारलाई उपलब्ध गराउने बताएको थियो। जुन विषयमा लिखित सम्झौता गरेर चिनी खरिद गर्न खोज्दा भने कोकाकोलाले एक सय टनसम्म मात्रै चिनी उपलब्ध गराउन तयार भएको प्रवक्ता ठाकुर बताउँछन्।
‘सुरुमा कोकाकोलाले हामीलाई १ हजार ५ सय मेट्रिकटन चिनी दिने बताएको थियो। त्यसपछि हामीले खरिद प्रक्रिया अघि बढाउन लिखित सम्झौता गर्न लाग्दा भने ५० देखि एक सय मेट्रिकटन मात्रै चिनी उपलब्ध गराउन सक्छौं भन्ने कुरा आयो,’ ठाकुरले क्यापिटल नेपालसँग भने, ‘यतिले हाम्रो चिनी अभावको समस्यालाई एक प्रतिशत पनि समाधान नगर्ने देखियो।’
ठाकुरले कोकाकोलाले उपलब्ध गराउने भनेको एक सय मेट्रिकटन अभावको एक प्रतिशत पनि समाधान नगर्ने भएकाले आफूहरु सो चिनी नलिने टुंगोमा पुगेको बताए। कोकाकोलासँग भएको १० देखि १२ हजार मेट्रिकटन चिनीमा पहिला भने बमोजिम १ हजार ५ सय मेट्रिकटन मात्रै उपलब्ध गराएको भए पनि त्यसले बजारको चिनी अभाव समस्यालाई केही मात्रामा समाधान गर्ने उनको भनाइ छ।
अहिले दसैं, तिहार र छठ जस्ता चाडपर्वको मुखमा चिनीको अभाव भएपछि उपभोक्ताले सास्ती भोगिरहेका छन्। अभावकै कारण यसअघि ८० देखि ८२ रुपैयाँ खुद्रा मूल्यमा पाइने चिनीको मूल्य अहिले किलोको १ सय ३० देखि १ सय ४० रुपैयाँ पुगिसकेको छ। खासगरी दसैं, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने गरेका छन्।