काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल शुल्क (ब्रोकर) कमिसन १० प्रतिशतले घटाएको छ। सेबोन सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त दरमा ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो।
सेबोनले ब्रोकर कमिशनमात्रै नभएर आफ्नो शुल्कसमेत घटाएको छ। सेबोनले ब्रोकरसँग लिने शुल्क १० प्रतिशत र लगानीकर्ताहरुसँग लिने शुल्क ७ प्रतिशत घटाएको स्रोतले जानकारी दिएको छ।
‘बुधबार बिहान बसेको बोर्ड बैठकले कमिशन घटाउने निर्णय गरेको हो,’ सेबोनका उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘सेबोनले ब्रोकरले लगानीकर्तासँग लिने शुल्कमात्रै नभएर आफुले ब्रोकर र लगानीकर्तासँग लिने शुल्क पनि घटाएको छ।’
स्रोतका अनुसार सेबोन सञ्चालक समितिको निर्णय अर्थ मन्त्रालयमा भोली कात्तिक २ गते पठाइनेछ। उक्त निर्णय मन्त्रालयबाट पारित भएर कार्यान्यवनमा दसैंपछिको कारोबारमा लागू हुने स्रोतको भनाइ छ।
बोर्डले २०७७ पुस १० गते ०.४ देखि ०.६ प्रतिशतसम्म रहेको ब्रोकर कमिसनलाई ०.२७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्ने बनाएको थियो।
उक्त व्यवस्थाअनुसार हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ। त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ।
५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्छ।