काठमाडौं। नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’ (छेड्ने काम) निर्धारित समयअघि नै हुने भएको छ। २०७६ कात्तिकमा सुरु भएको सुरुङ निर्माणको म्याद २०८१ वैशाख १३ सम्म छ।
तर, सुरुङमार्ग अयोजना प्रमुख नविमान श्रेष्ठले आगामी माघसम्म मुख्य सुरुङ ब्रेक थ्रु गर्ने बताएका छन्। उनका अनुसार २ हजार६ सय मिटर लामो सुरुङमार्गमध्ये मंगलबारसम्म २ हजार ४ सय १० मिटर खनिएको छ। बाँकी २ सय ७७ मिटर सुरुङ माघसम्म खन्न सकिने उनको दाबी छ।
असोज तेस्रो साताबाट सुरुङ निर्माणस्थलबाट ८३ मिटर टाढा चन्द्रागिरि नगरपालिकाको दहचोकमा खाडल परेको छ। सुरुङका कारण खाडल परेपछि स्थानीयले अस्थायी स्थानान्तरण तथा मुआब्जा माग्दै १० दिन बढी निर्माण कार्य बन्द गराएका थिए।
तै पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असोज २७ गते स्थानीय प्रतिनिधि, आयोजनाका कर्मचारीलगायतसँग छलफल गरेर समस्या समाधान गर्ने जनाएका छन्। उक्त छलफलले स्थानीयको माग सम्बोधन र समस्या समाधान गर्न सहसचिव डा. विजय जैसीको संयोजकत्वमा समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
समितिमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरुङमार्ग आयोजना प्रमुख नविनमान श्रेष्ठ, भौतिक मन्त्रालयको कानुन शाखाका प्रतिनिधि गरी १६ सदस्य छन्। समितिले तीन महिनाभित्र जमिनमा खाडल पर्नुको कारण तथा स्थानीयका अन्य मागका विषयमा अध्ययन गर्ने छ।
त्यस्तै २७ गतेको छलफलमा मन्त्री ज्वालाले एक महिनाभित्र सुरुङ ब्रेक थ्रु गर्न निर्देशन दिएका छन्। तर, आयोजना प्रमुख श्रेष्ठ मन्त्रीको निर्देशनअनुसार काम गर्न नसकिने बताउँछन्।
‘मन्त्रीले भन्दैमा ब्रेक थ्रु हुँदैन, काम अझै बाँकी छ, अवरोध आइरहेका छन्, चाडबाडको समय छ,’ श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘स्थानीयका समस्या समाधान गर्न गठन भएको समितिले तीन महिनामा अध्ययन सक्ने जनाएको छ, त्यसपछि सुरुङ ब्रेक थ्रु हुन्छ।’
समितिले परामर्शदाता नियुक्त गरेरै अध्यन गर्न लागेको छ। जमिन भासिनुको कारण बुझ्न नेपालकै विज्ञहरूलाई राखिएको उनको भनाइ छ। साथै, क्षति पुगेका घरका विषयमा अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागसँग पनि सहयोग लिएको श्रेष्ठले बताए।
जमिन भासिएको ठाउँको भौगर्भिक अध्ययन गर्ने पनि समितिको योजना छ। त्यस्तै क्षति पुगेका घरलाई अस्थायी बसोबासका लागि आवास भाडा उपलब्ध गराउने विषयमा पनि छलफल हुने छ। तै पनि कति रकम कहिलेसम्मलाई दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीले तय गर्नेछन्।
स्थानीयले मन्त्रीसँगको छलफलमा ९ घर चर्किएको बताएका थिए। तर, समस्या समाधान गर्न बनेको समितिसँग ११ घरमा असर पुगको बताएका छन्। के कारणले बढे दुई घर भन्ने प्रश्नमा आयोजना प्रमुख भन्छन्, ‘पहिला छुटेको रहेछ रे, स्थानीयसँग कसले सक्छ र? उनीहरूको कुरा सुन्नैपर्छ, अध्ययनले के कति क्षति भन्ने थाहा हुन्छ।’
हालसम्म आयोजनाको सुरुङ खन्ने काम ९५ प्रतिशत सकिएर २ सय ७७ मिटर खन्न बाँकी छ। त्यस्तै सुरुङको पूर्वतर्फ निर्माण हुने फ्लाई ओभरको काम पनि ९५ प्रतिशत सम्पन्न भएको आयोजनाको भनाइ छ।
गत साउन २२ मा नागढुङ्गाको आपतकालीन २.५५७ किलोमिटर सुरुङ ब्रेक थ्रु भइसकेको छ। जसबाट आकस्मिकरुपमा गर्नुपर्ने उद्धारका सवारीसाधन चल्नेछन्। सुरुङ बनेपछि साढे सात किलोमिटर सडक छोट्टिएर नागढुङ्गाको उकालोमा हुने सवारीजामको समस्या हट्ने छ।
सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेटले भने आवतजावत गर्न पाउँदैनन्। सुरुङ निर्माण ब्रेक थ्रु हुँदैमा सवारी चल्न पाउँदैनन्। त्यसभित्र अक्सिजन, बत्ती जाडान, सडक कालोपत्र, लाइनिङलगायत काम गरेर सवारी चलाउन भने २०८१ पुससम्म लाग्ने भौतिक मन्त्रालयले जनाएको छ।
नेपालको सडकमा आधुनिकरूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ पहिलो हो। निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको छ। जापानको साढे १६ अर्ब रुपैयाँ ऋण र नेपालको ६ अर्ब रुपैयाँ गरी कूल साढे २२ अर्ब रुपैयाँमा सुरुङ निर्माणाधीन छ।
आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ।