काठमाडौं। दुई महिनामै बैंक तथा वित्तीय संस्थाले १८ अर्ब रुपैयाँ बढी खुदनाफा कमाएका छन्। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कूल १८ अर्ब १४ करोड ३९ लाख रुपैयाँ खुदनाफा आर्जन गरेका हुन्।
जसमा २० वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख, १७ विकास बैंकहरुले १ अर्ब ३५ करोड ११ लाख र १७ वित्त कम्पनीहरुले १४ करोड ४० लाख रुपैयाँ खुदनाफा गरेका हुन्।
२ महिनामै ५ वटा वाणिज्य बैंकहरु अर्बपतिको सूचीमा परेका छन्। जसमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ५८ लाख, नबिल बैंकले १ अर्ब ५६ करोड ४५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६५ लाख, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख, र कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुदनाफा कमाएका हुन्। उक्त अवधिमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमइ बैंकले कमाउँदा सबै सबैभन्दा कम नेपाल एसबिआइ बैंकको छ।
यसैगरी चालू आर्थिक वर्षको २ महिनामा ११ वटा वाणिज्य बैंकले ५० करोड रुपैयाँमाथि ८७ करोड रुपैयाँसम्म र ४ वटाले ४० करोड रुपैयाँभन्दा कम खुद नाफा कमाएका छन्।
अर्बभन्दा कम ५० करोड रुपैयाँ बढी नाफा कमाउने वाणिज्य बैंकहरुमा राष्ट्रिय वाणिज्य ८७ करोड, प्राइम कमर्शियल बैंक ८३ करोड, लक्ष्मी सनराईज ८१ करोड, एनआइसी एसिया बैंक ८० करोड, एनएमबी बैंक ७६ करोड, एभरेस्ट ७१ करोड र नेपाल बैंकले ७० करोड रुपैयाँ खुदनाफा गरेका छन्। प्रभु बैंकले ६६ करोड, कृषि विकास बैंकले ६१ करोड, सिद्धार्थ बैंकले ५८ करोड र सानिमा बैंकले ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
५० करोड रुपैयाँभन्दा कम नाफा कमाउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४८ करोड, सिटिजन्स बैंकले ४४ करोड, माछापुच्छ्रे बैंले ३७ करोड र नेपाल एसबिआइ बैंकले २७ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।