काठमाडौं। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले बाँकी चार प्रदेशमा पनि फाइभ–जी परीक्षण सुरु गर्ने तयारी गरेको छ।
करिब आठ महिनाअघि काठमाडौंबाट फाइभ–जीको आन्तरिक परीक्षण सुरु गरेको टेलिकमले हाल तीन प्रदेशमा परीक्षण कार्य सञ्चालन गरिरहेको छ।
अब भने बाँकी चार प्रदेशमा पनि परीक्षण सुरु गर्ने तयारी टेलिकमले गरेको हो। यसका लागि टेलिकमले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग अुनमति माग गरेको टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले जानकारी दिइन्।
‘टु–जी, थ्रि–जी र फोर–जीजस्तै फाइभ–जीलाई पनि समयमा भित्र्याउन हामी निरन्तर प्रयास गरिरहेका छौं। टेलिकमले परीक्षणका रूपमा हाल तीन प्रदेशमा फाइभ–जी सेवा सञ्चालन गरिहेको छ भने बाँकी चार प्रदेशमा पनि परीक्षण सेवा सञ्चालन गर्न प्राधिकरणसँग इम्पोर्ट लाइसेन्सको अनुमति माग गरेको छ,’ अर्यालले भनिन्, ‘यो अनुमति प्राप्त हुनासाथ हामी बाँकी चार प्रदेशमा पनि फाइभ–जी परीक्षण सेवा विस्तार गर्ने छौं।’
उनले सातै प्रदेशमा परीक्षण सेवा सञ्चालन गरेपछि फाइभ–जी भित्र्याउँदा उपयुक्त हुने बताइन्।
नेपाल टेलिकमले २०७९ माघ २२ देखि काठमाडौं बबरमहल र सुन्धारास्थित कार्यालयबाट फाइभ–जी नेटवर्कको आन्तरिक परीक्षण सुरु गरेको थियो।
त्यसको करिब तीन महिनापछि टेलिकमले परीक्षण सेवा विस्तार गर्दै गण्डकी पोखरा र मधेस प्रदेश वीरगन्जबाट फाइभ–जी परीक्षण सुरु गरेको थियो। जसअनुसार हाल बागमती, गण्डकी र मधेस प्रदेशमा परीक्षण सेवा सञ्चालनमा छ भने अब कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा परीक्षण सेवा सुरु हुनेछ।
तै पनि प्राधिकरणबाट अनुमति प्राप्त भइनसकेकाले यही मितिबाट सुरु हुन्छ भनेर भन्ने अवस्था नरहेको अर्यालले बताइन्।
‘फाइभ–जी उद्योगमा स्वचालित मेसिन तथा रोबोट प्रयोग गर्न, ड्राइभररहित कार र सवारी सञ्चालन गर्न, स्मार्ट सिटी र स्मार्ट फार्मिङ सञ्चालन गर्न प्रयोग हुने प्रविधि हो।
यसले मुलुकको आर्थिक क्षेत्रमा योगदान गर्ने भएकाले कहिले र कसरी प्रयोग गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ,’ निमित्त प्रबन्ध निर्देशक अर्यालले भनिन्, ‘यसर्थ, कुन–कुन ठाउँमा फाइभ–जी प्रयोग गर्न सकिन्छ र त्यसको उपभोग (युटिलाइजेसन) के हुन्छ भनेर अध्ययनपछि ती ठाउँमा यो प्रविधि सञ्चालनमा ल्याउनुपर्छ।’
उनले अहिले नेपाल फाइभ–जी उपभोगका लागि तयार भइनसकेकाले त्यसको विकास गर्नुपर्ने पनि बताइन्।
फाइभ–जी प्रयोजन अध्ययन अन्तिम चरणमा
फाइभ–जी परीक्षण सुरु भएसँगै नेपालमा यस प्रविधि प्रयोगको वातावरण तयार नभएको भन्दै प्राधिकरणको आलोचना हुँदै आएको छ।
थ्रि–जी र फोर–जी नै जति उपभोग हुनुपर्ने हो, त्यो नभइरहेको अवस्थामा महँगो फाइभ–जी भित्र्याउन हतार गरेको आरोप प्राधिकरणमाथि लाग्दै आएको छ।
फोर–जीको तुलनामा फाइभ–जी फरक–फरक प्रविधिमा आधारित छ। नेपालमा थ्रि–जी र फोर–जी प्रविधिका अधिकांश प्रयोगकर्ताले फेसबुक, टिकटक, ट्विटर, युट्युब चलाउने गरेका छन्। यसर्थ, यही अवस्थामा फाइज–जी भित्र्याए त्यसको प्रयोग पनि त्यसैमा सीमित हुने देखिन्छ।
यही अवस्था सिर्जना नहोस् भनेर प्राधिकरणले यसका विषयमा लामो समयदेखि अध्ययन गरिरहेको छ। जुन, अध्ययन अन्तिम चरणमा पुगेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन्।
‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयँग समन्वय गरेर प्राधिकरणले फाइभ–जी परीक्षणका लागि नेपाल टेलिकमलाई जिम्मा दिएको छ। विविध कारण होला यो तोकिएको समयमा सकिएको छैन,’ अध्यक्ष खनालले भने, ‘फाइभ–जी युट्युब, टिकटक, फेसबुक चलाउन र हालको जस्तो प्रयोजनका लागिमात्रै लक्ष्यित होइन। यो स्मार्ट सिटी, उद्योग, र रियलटाइममा काम गर्ने प्रविधि हो। मानिसले काम गर्न नसक्ने ठाउँमा रोबोटबाट काम गराउन यसको प्रयोग हुन्छ।’
उनले महँगो प्रविधि भएकाले नेपालमा यो प्रयोगविहीन हुने हो कि भन्ने चिन्ता व्यक्त हुनु स्वाभाविक भएको बताए।
‘महँगो फाइभ–जी प्रविधि ल्याएपछि त्यसको प्रतिफल केही नमिल्ने हो कि भन्ने कुरा पनि उठिरहेको छ। यसर्थ हामीले कुन–कुन क्षेत्रलाई राज्यले बढावा दियो भने फाइभ–जी ल्याउँदा उपयुक्त हुन्छ भन्ने विषयमा अध्ययन गरिहेका छौं,’ खनालले भने, ‘यो अध्ययनको हामी अन्तिम अवस्थामा पुगेका छौं।’
उनले यस अध्ययनले नेपालमा फाइभ–जीको आवश्यकता र त्यसको प्रयोग हुने वा नहुने विषय स्पष्ट हुने बताए।
प्राधिकरणले फाइभ–जी परीक्षणका लागि टेलिकमलाई २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ। फाइभ–जी विश्वबजारमा विस्तार भइरहेको पछिल्लो मोबाइल नेटवर्क हो। फाइभ–जीलाई सन् २०१९ बाट प्रयोगमा ल्याइएको थियो। यसमा सामान्यतया २० गिगाबाइट (२० हजार मेगाबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता हुन्छ।
यसअघि पहिलो पुस्ताको मोबाइल नेटवर्कमा २ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्ने क्षमता थियो भने दोस्रो नेटवर्क टु–जीमा ६४ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्न सक्ने क्षमता थियो।
त्यस्तै थ्रि–जी नेटवर्कमा सरदर ३ मेगाबाइट (३ हजार किलोबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता थियो भने फोर–जीमा २० मेगाबाइट प्रतिसेकेन्डसम्मको क्षमता छ।
फोर–जी नेटवर्कले उच्च गति चाहिने लाइभ भिडियो स्ट्रिमिङ र अनलाइन गेमिङजस्ता प्रयोजनलाई पनि मोबाइलबाटै सम्भव बनाएको छ। यसमा उपलब्ध डेटा सार्ने क्षमताले तार जोडेरै पु¥याउनुपर्ने केबुल इन्टरनेट र अप्टिकल फाइबरलाई पनि एकखालको विकल्प दिएको छ।
तर, फाइभ–जी नेटवर्कका केही पूर्वाधार थ्रि–जी वा फोर–जी नेटवर्कभन्दा फरक हुन्छन्। यसका लागि नजिक–नजिक दुरीमा ‘रिपिटर डिभाइस’ राखिन्छ। यस्ता डिभाइसलाई फाइभ–जी सेल टावर भनिन्छ।
मुख्यतः फाइभ–जी, फोर–जी वा थ्रि–जीजस्ता अघिल्लो पुस्ताको नेटवर्कभन्दा अझ ‘एडभान्स’ र विशिष्ट छ। त्यसैले फाइभ–जीलाई ‘इन्टरनेट अफ थिङ्स’, ‘भर्चुअल रियालिटी’, ‘अग्मेन्टेड रियालिटी’ जस्ता अत्याधुनिक डिजिटल वातावरणको मुख्य पूर्वाधार मानिन्छ।
फाइभ–जी नेटवर्क गतिका हिसाबले उच्च छ भने यसले कम विद्युतीय शक्ति खर्च गर्ने भएकाले मोबाइल डिभाइसको ब्याट्री लामो समय टिकाउ हुने पनि बताइन्छ।
यसले ‘क्लाउडबेस’ कम्प्युटर स्रोतहरूको उपयोगलाई प्रोत्साहित गर्ने बताइएको छ। यसमा उद्योग वा कार्यालयहरूको खर्चमा कमी ल्याउने विशेषता उपलब्ध छ।