काठमाडौं। डिजिटल माध्यममा आबद्ध सञ्चार संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकता मनन गर्दै स्थापित डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको छ।
२०८० असोज २९ गते कम्पनी रजिस्ट्रारको कार्यालयबाट गैरनाफामूलक (मुनाफा वितरण नगर्ने) कम्पनीका रूपमा दर्ता नम्बर ३२२०८३ को प्रमाणपत्र प्राप्त गरेको संस्थाले डिजिटल पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गरी अनलाइन पत्रकारितालाई थप विश्वसनीय बनाउन सशक्त भूमिका निभाउने उद्देश्य लिएको छ।
डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमान सम्वर्द्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहितासमेत जारी गरेर मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन्।
सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो २ वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी करचुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन्।
त्यस्तै, आबद्ध संस्थाका सम्पादकहरूको न्यूनतम् शैक्षिक योग्यता स्नातक तह रहेको छ। नयाँ बन्ने सदस्यका लागि पनि उल्लेखित सर्त अनिवार्य हुनेछन्।
बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डटकम) का अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधानको अध्यक्षतामा गठित डिजिटल मिडिया सोसाइटीको उपाध्यक्षमा सेटोपाटी सञ्चार प्रालि (सेटोपाटी डटकम) अध्यक्ष तथा प्रधानसम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डटकम) अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमान्डु डटकम) अध्यक्ष पुष्प दुलाल छन्।
डिजिटल मिडिया सोसाइटीका कार्यसमिति सदस्यमा विकास मिडिया प्रालि (विकास न्युज डटकम) अध्यक्ष तथा प्रधानसम्पादक रामकृष्ण पौडेल, बिजनेस नेपाल म्यानेजमेन्ट प्रालि (क्यापिटल नेपाल डटकम) की सञ्चालक अनिता राजभण्डारी, देशसञ्चार प्रालि (देश सञ्चार डटकम) अध्यक्ष रविन दाहाल, इन्टर एन्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि (हाम्रा कुरा डटकम) कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल लाइभ पब्लिकेसन प्रालि (नेपाल लाइभ डटकम) अध्यक्ष अनिल न्यौपाने, डिस्कभरी न्युज नेटवर्क प्रालि (राटोपाटी डटकम) सञ्चालक अर्जुन पन्त तथा शिलापत्र मिडिया नेटवर्क प्रालि (शिलापत्र डटकम) सञ्चालक सुरेश सिम्खडा छन्।
संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालि (हिमाल खबर डटकम) अध्यक्ष कुन्द दीक्षित तथा रातोपाटी डटकम संस्थापक ओम शर्मालाई डिजिटल मिडिया सोसाइटीको सल्लाहकारमा चयन गरेको छ।
संस्थाको विधानका सर्त पूरा गर्ने संस्थालाई डिजिटल मिडिया सोसाइटीको सदस्य बन्न आवेदन खुला राखिएको छ।