काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्मार्ट मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ।
बैंकले ग्राहकको मोबाइल बैंकिङ अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैंकिङ अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थपेको हो।
बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेको सेवा अतिरिक्त अन्य उपयोगी सेवासमेत थप गरेको छ। अब ग्राहकले मोबाइल बैकिङ एपमार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्ड सीमा हेर्नेजस्ता सुविधा थपेको हो।
बैंकले आफ्ना विशेष ग्राहक लक्ष्य गरी मोबाइलमार्फत नै प्रिभिलेज बैंकिङ सेवा समेत सुरु गरेको छ। यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एपमार्फत नै प्रिभिलेज सेवा प्रदान गर्ने छ। यस सेवाअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतमार्फत बिनाझन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ युआई (प्रयोगकर्ता इन्टरफेस) मा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउँछ। लगइन मेनु पनि पुनः संगठित गरिएको छ जहाँ स्मार्ट सेवा, स्मार्ट प्रस्ताव, इएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएका छन्।
लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्तामैत्री बनाइएको छ र नेपालपेको क्युआरमार्फत व्यापारीलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाजस्ता नयाँ सुविधा ल्याएको जनाएको छ।