काठमाडौं। नेपालको महँगी दर अझै ८ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको तथ्यांकअनुसार भदौ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको हो। गत आर्थिक वर्ष २०७९/८० को यहि अवधिमा भने यस्तो मुद्रास्फीति ८.४६ प्रतिशत थियो।
चालू आर्थिक वर्षको यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक उपभोक्ता मूल्य सूचकांक ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशतले मूल्य बढेको छ।
यस्तै दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १०.९७ प्रतिशतले बढेको छ। यस अवधिमा घिउ तथा तेल उप–समूहको वार्षिक मूल्य सूचकांक १३.०८ प्रतिशतले घटेको छ। साथै गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपमूहकको वार्षिक उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत बढेको छ।
विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.५९ प्रतिशत बढेको छ। भदौ महिनामा यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.१८ प्रतिशत घटेको छ।
यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको छ। २०७९ भदौ महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो।
तथ्यांकअनुसार भदौ महिनामा वार्षिक थोक मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.०० प्रतिशत रहेको थियो। यस अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२३ प्रतिशत, ३.१४ प्रतिशत र २.८० प्रतिशत छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३ प्रतिशतले घटेको छ।
भदौ महिनामा वार्षिक तलब तथा ज्यालादर सूचकांक ५.२५ प्रतिशत बढेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक ११.६८ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १.०५ प्रतिशत र ६.५३ प्रतिशतले बढेको छ। भदौ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत छ। सन् २०२३ सेप्टेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.०२ प्रतिशत रहेको छ।