काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएबाट उनीहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को विश्व सम्मेलन तथा ११औँ महाधिवेशनको आज यहाँ उद्घाटन गनुहुँदै राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए।
राष्ट्रपति पौडेलले भने, “ सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाको तर्जुमा गरेको छ । संविधान बमोजिम एनआरएनले नेपाली नागरिकता पाउने व्यवस्थाले तपाईंहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ।”
उनले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस् योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएले विगतदेखि नै भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्नेछ भने।
“विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो”, राष्ट्रपति पौडेलले भने, “शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनुहुन्छ भन्ने तपाईंहरुको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ।
यही आत्मियताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ। यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईंहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु।”
उनले राजनीतिक परिवर्तन पश्चात देश आर्थिक विकासको चरणमा प्रवेश गरेको तर, सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौती पनि देखा परेको उल्लेख गरे। उनले भने, “हामीले राज्यको प्रशासनिक पुनःसंरचना त गर्यौँ, तर, राज्यको चरित्र र जीवन पद्दतिको पुनःसंरचना अझै हुन बाँकी छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शन छन्। जबसम्म ती मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात गर्न सक्दैनौँ तबसम्म ती चुनौतीहरूको सामना गर्न सक्दैनौ।”
नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने र यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइराख्न पनि उहाँले एनआरएनएलाई अनुरोध गरे। रासस