काठमाडौं। नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले पर्यटन प्रवर्द्धनबाहेकका कार्यक्रममा बोर्ड व्यवस्थापनले अनावश्यक खर्च गर्न जोड दिएको भन्दै भर्त्सना गरेको छ।
हाल मुलुकमा देखा पर्दै गरेको आर्थिक क्षेत्रको कमजोरी धेरै हदसम्म दरिलो टेवा दिने क्षेत्रका रूपमा सरकारले समेत पहिचान गरेको पर्यटन क्षेत्रको प्रवर्द्धन र नेपालको पर्यटनको बजारीकरणका विशेष महत्व बोकेका अन्य कार्यक्रममा नेपालको सहभागिता सुनिश्चित गर्नुको सट्टा पर्यटन व्यसयीको सहभागिता नै हुन नसक्ने, नेपाल भ्रमणको प्याकेज सोकेसिङ गर्ने अवसर नै नदिएको भूगोलविदहरूको वैज्ञानिक सम्मेलन आयोजना गर्न जोड गर्ने बोर्ड व्यवस्थापन नेतृत्वको भर्त्सना गरेको हो।
संगठनका अनुसार पर्यटन बोर्ड कार्यकारी समितिले पटक–पटक पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालनलाई आवश्यक कार्यविधिमा छलफल र निर्णय गर्न भनिएको भए पनि पटक–पटक भूगोलविद सम्मलेनमात्र आयोजना गर्ने कार्यविधि बोर्ड व्यवस्थापनको नेतृत्वबाट पेस भएको सुन्नमा आएको थियो।
जब बोर्ड स्रोतको दुरुपयोग हुँदै कार्यक्रम सञ्चालन भयो तब बोर्ड नेतृत्वबाट पर्यटन विकासको आशा नेपालको पर्यटन उद्योगले पक्कै पनि मारेको हुनुपर्ने संगठनको भनाइ छ। तसर्थ, बोर्डको मूल उद्देश्यअनुररूपका काममा मात्र समय र अर्थ खर्च गर्न संगठनले अनुरोध गरेको छ। बोर्डका उद्देश्यबाट विमुख गरी आफ्नो स्वार्थपूर्ति गर्ने काममा लाग्ने, लाग्न अभिप्रेरित गर्ने जोकोहीविरुद्ध कर्मचारी संगठन उभिने प्रतिबद्धता जनाएको छ।
पर्यटन बोर्ड स्थापना हुनुभन्दा पहिलेदेखि नै गत वर्षसम्म गरेर ४० वर्षदेखि नेपाल सहभागी हुँदै आएको वर्ल्ड ट्राभल मार्ट (डब्लुटिएम) मा सहभागी हुँदै आएको थियो भने बोर्ड स्थापनापछि अझ सशक्त सहभागी भइरहेको थियो।
संगठनका अनुसार पर्यटन क्षेत्रको वृहत कुम्भमेला डब्लुटिएम लन्डनमा नेपालको पर्यटन प्रचार प्रसारका लागि निरन्तर चालिस वर्षदेखिको उपस्थितिलाई यो वर्ष सन् २०२३ मा बोर्डको व्यवस्थापकीय नेतृत्वको उदासीनता, अकर्मण्यता र बदनियतका कारण नेपाल र नेपालका धेरै पर्यटन व्यवसायीले आफ्नो उपस्थिति देखाउन नपाउने दुखद अवस्था सिर्जना भएको छ।
त्यसैगरी अर्को ठूलो पर्यटन मेला आइटिबी बर्लिन लगायत मेलामा पनि पर्यटन क्षेत्रको प्रवर्द्धन र बजारीकरणका लागि अवसरको लाभ उठाउन सकिने अवस्था भने नगुमाउन संगठनले माग गरेको छ।
यस्ता मेलामा संसारभरिका टुर अपरेटर, ट्राभल एजेन्ट, डेस्टिनेसन म्यानेजमेन्ट कम्पनी, प्रविधि पार्टनर, वायुसेवा, विभिन्न देशका पर्यटन निकायलगायतले भाग लिन्छन्। डब्लुटिएममा सहभागी हुने अवसर गुमिनै सकेको छ भने २०२३ र २०२४ मा विभिन्न देशमा हुने पर्यटन प्रवर्द्धन कार्यक्रममा यस्तो दुखद अवस्था नहोस् भन्ने खबरदारी संगठनले गरेको छ।
विगतमा अप्ठ्यारा परिस्थितिमा बोर्डको वार्षिक बजेट ढिला पारित हुँदा पनि डब्लुटिएम, आइटिबीलगायत पर्यटन मेलामा बोर्ड व्यवस्थापनले कार्यकारी समितिबाट विशेष निर्णय गराएर अटुट सहभागिता जनाइरहेको थियो।
संगठनका अनुसार पर्यटन बोर्ड उच्च व्यवस्थापन तहका पदाधिकारी विशेष अदालतमा मुद्दामा रहेको समयमा कार्यालयमा जम्मा तीन प्रबन्धक र १३ अधिकृत कर्मचारीमात्र रहेको समयमा पनि नेपाल सहभागी भएका अन्तर्राष्ट्रिय पर्यटन मेलामा उपस्थितिलाई निरन्तरता दिएकै थियो।