काठमाडौं। वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसत ०.२२ प्रतिशत बिन्दुले घटेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कात्तिकबाट लागू हुने निक्षेपको ब्याजदर औसत ०.२२ प्रतिशतले घटाएका हुन्।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले पछिल्लो महिना लागू हुने कर्जा तथा निक्षेपको ब्याजदर अघिल्लो महिनाको मसान्तसम्म प्रकाशित गर्नुपर्छ। जसको पालना गर्दै कात्तिक महिनामा निक्षेपको ब्याजदर हेरफेर गर्ने बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
जसमा अधिकांश वाणिज्य बैंकले कात्तिकमा लागू हुने ब्याजदर असोजको भन्दा घटाएका छन्। असोजमा वाणिज्य बैंकहरूको निक्षेपमा औसत ब्याजदर १०.२९ प्रतिशत कायम छ। कात्तिकमा वाणिज्य बैंकहरूको औसात ब्याजदर १०.०६ प्रतिशत कायम भएको छ।
बैंकहरूद्वारा सार्वजनिक कात्तिकमा लागू हुने निक्षेपको ब्याजदरअनुसार १५ बैंकले ब्याजदर घटाएका छन् भने तीनवटाले असोजभन्दा बढाएका छन् र दुईटाले स्थिर राखेका छन्।
असोजमा लागू निक्षेपको ब्याजदरमा १५ वाणिज्य बैंकले ०.०२ प्रतिशत बिन्दुदेखि १.८३ प्रतिशत बिन्दुसम्मले कात्तिकमा ब्याजदर वृद्धि गरेका छन् भने एनएमबी, नेपाल एसबीआई र लक्ष्मी सनराइज बैंकले असोजभन्दा कात्तिकमा निक्षेपको ब्याजदर बढाएका हुन्।
एनएमबी बैंकले असोजको ब्याजदरमा १.०१ प्रतिशत बिन्दुले वृद्धि गरी ९.९९ प्रतिशत पुर्याएको छ भने लक्ष्मी सनराइजले १ प्रतिशत बिन्दुले वृद्धि गरी ११ प्रतिशत कायम गरेको छ। साथै नेपाल एसबीआई बैंकले ०.७० प्रतिशत विन्दुले थप गरेर १०.७० प्रतिशत कात्तिकका लागि निक्षेपको तय गरेको हो।
घटाउने १५ बैंक, सबैभन्दा बढी घटायो एभरेस्टले
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १५ वटाले असोजमा लागू ब्याजदरलाई कात्तिकमा घटाएका छन्। जसमा सबैभन्दा बढी एभरेस्टले १.८३ प्रतिशत बिन्दुले र सबैभन्दा कम एनएमबी बैंकले ०.०२ प्रतिशत बिन्दुले घटाएको हो।
त्यस्तै प्राइम बैंकले १.११ प्रतिशत बिन्दु, प्रभु बैंकले ०.७८ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकले ०.५० प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकले ०.४९ प्रतिशत बिन्दु र कृषि विकास बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।
त्यस्तै कुमारी र सिटिजन्सले ०.१० प्रतिशत बिन्दु, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकले ०.०७ प्रतिशत बिन्दु, हिमालयन र एनआइसी एसिया बैंकले ०.०४ प्रतिशत बिन्दुले असोजमा लागू ब्याजदर कात्तिकमा घटाएका छन्।
कात्तिकमा निक्षेप राख्दा बढी ब्याजदर कुन बैंकमा?
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कात्तिकमा न्यूनतम ९.२२ प्रतिशतदेखि अधिकतम ११.०१० प्रतिशतसम्म निक्षेपमा ब्याजदर दिने घोषणा गरेका छन्। जसमा सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ।
कात्तिकमा एनएमबी, हिमालयन र एनआइसी एसियाले ११.००३ प्रतिशत, लक्ष्मी सनराइज ११, नेपाल एसबिआइ १०.७०, प्राइम १०.२५ र कुमारी बैंकले निक्षेपमा १०.०१ प्रतिशत ब्याज दिने भएका छन्।
त्यस्तै ग्लोबल र नबिल बैंकले १० प्रतिशत दिने हुँदा माछापुच्छ्रे र सिद्धार्थले ९.९९ प्रतिशत, सिटिजन्स ९.९५, कृषि विकास ९.७६१९ र राष्ट्रिय वाणिज्य बैंकले ९.५० प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
सानिमा, एभरेस्ट, प्रभु र नेपाल बैंकले कात्तिकका लागि निक्षेपको ब्याजदर ९.२२४ प्रतिशत घोषणा गर्दा स्ट्यान्डर्ड चार्टर्डको ९.२२ प्रतिशत छ।