काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन सुरु भएको छ। ३ दिनसम्म चल्ने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले आज उदघाटन गरेका हुन्।
नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा विश्वभरबाट ४ हजार २ सय २७ जना प्रतिनिधिले सहभागी जनाएका छन्। एनआरएनले पहिलोपटक अनलाइन भोटिङको समेत व्यवस्था गरेको छ। विश्वका जनसुकै मुलुकमा रहेका प्रतिनिधिहरुले अनलाइन मार्फत भोटिङ गर्न पाउनेछन्।जसको कारण अधिकांश प्रतिनिधिहरु नेपाल आएका छैनन् ।
सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ।
यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए। उनका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका प्रतिनिधि हरुले भोट हाल्ने छन्।
महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ। सन् २००३ अगस्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको थियो। एनआरएनएको संस्थापक अध्यक्ष उपेन्द्र महतो हुन्।
सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी, सांसदहरु, कूटनीतिक नियोगको सहभागिता रहेने छ। कात्तिक ३ सम्म चल्ने सम्मेलनको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ।
उदघाटन कार्यक्रममा संस्थापक अध्यक्ष महतो ,नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र ढकाल , एनआरएन का कार्यकारी अध्यक्ष बद्री केसी, कुल आचार्य , रविना थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
एनआरएनएको अध्यक्षमा पदका चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षद्वय केसी र थापा तथा उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका हुन्।