आप्रवासन : एक विश्वव्यापी परिघटना
मानव सभ्यता सुरूआतसँगै बसाइसराइ सुरू भएको हो। यथार्थमा, आप्रवासन निरन्तरको एक खोजी कार्यजस्तै हो। बिसौँ शताब्दीको सुरूवात विशेषगरी विश्वव्यापीकरणको तीव्रतासँगै आप्रवासन व्यापक र विश्वव्यापी ‘फेनोमेनन’ का रूपमा देखाप¥यो। सन् २०२० मा प्रकाशित संयुक्त राष्ट्र संघको एक तथ्यांकअनुसार संसारमा अहिले पहिलो पुस्ताका आप्रवासीको संख्या करिब २८ करोड छ। यदि आप्रवासीको मात्रै छुट्टै कुनै देश हुने हो भने यो संख्या ब्राजिल र अर्जेन्टिना दुवै देशको संयुक्त जनसंख्याभन्दा अधिक छ।
संसारभरि छरिएका पहिलो पुस्ताका आप्रवासीले विश्वको ३.६ प्रतिशत जनसख्या ओगटेको देखिन्छ। विश्वमा सबैभन्दा बढी आप्रवासी भारतीय मूलका करिब १ करोड ८० लाख रहेको अनुमान छ। त्यसपछि १ करोडभन्दा बढीको संख्यामा मेक्सिको र रूसी डायस्पोरा छ। चीन, बंगलादेश, सिरिया, युक्रेन, पाकिस्तान आदि देशका डायस्पोराको संख्या पनि निकै ठूलो छ।
तर, आप्रवासीहरूको रोजाइको मुलुकमा भने अमेरिका, जर्मनी, रूस, साउदी अरब, बेलायत, युएई, फ्रान्स, अस्ट्रेलिया र स्पेन पर्छन्। विगतमा आप्रवासनलाई ‘ब्रेन ड्रेन’ का रूपमा हेर्ने गरिन्थ्यो। तर, सूचना र प्रविधि विकासले अब भौगोलिक अवस्थिति विगतमा झैं त्यति महत्वपूर्ण रहेन र सोचाइका दायरा बिस्तारै बदलिँदै गएको छ।
अब मानिसहरू विश्वका जुनसुकै स्थानमा बसेर पनि बौद्धिक र आर्थिक योगदान दिन सक्छन्। आजको युग ‘ब्रेन गेन’, ‘ब्रेन सर्कुलेसन’ को हो। आज विश्वका धेरै अल्पविकसित देशमा ‘डायस्पोरा’ र ‘विकास’ शब्द एकअर्काका पर्यायवाचीजस्तै बनेका छन्।
तिनले मातृभूमिमा पठाउने रेमिट्यान्स, आर्थिक लगानीदेखि आदानप्रदान गर्ने ज्ञानले मातृभूमिको समुन्नतिमा ठूलो भूमिका खेलिरहेको हुन्छ। वैदेशिक लगानी, व्यापार, प्रविधिमा पहुँच र आर्थिक सहयोग आदि क्षेत्रमा सबै डायस्पोराको पहुँच झन्–झन् बढिरहेको छ। बदलिँदो विश्व परिवेशमा बिस्तारै उदाउँदै गरेको नेपाली डास्यपोरा पनि त्यसको अपवाद हुन सक्दैन।
नेपाली डायस्पोरा
हामीलाई मन परे पनि नपरे पनि अब अन्तर्राष्ट्रिय मञ्चमा औपचारिकरूपमा स्वेच्छाले वा बाध्यतावश जे भए पनि साझा मूलभूमि भएका आप्रवासी मानिसको समूहलाई ‘डायस्पोरा’ शब्दले परिभाषित गर्ने चलन छ। विदेशमा छरिएका नेपाली समुदाय पनि छोटो अवधिमै डायस्पोराका रूपमा विकसित भइसकेको छ। दरबारको वैवाहिक सम्बन्धले दाइजोमा चीन गएर उतै हराएका नेपालीको कथा वा ब्रिटिस गोर्खा भर्तीसँगै विदेशिएका नेपालीको व्यथालाई पहिल्याउँदै जाँदा नेपाली डायस्पोरा इतिहास पनि निकै पुरानो र समृद्ध छ।
ब्रिटिस गोर्खामा भर्ती हुने परम्परा करिब २ सय वर्षअगाडि सुरु भए पनि विदेशिने नेपालीको संख्या निकै कम थियो। तर, २०४६ को परिवर्तनपछि ठूलो संख्यामा नेपाली विदेश जाने क्रम सुरु भयो। फलस्वरूप गैरआवासीय नेपाली (एनआरएन) हरूको संख्या कम्तीमा ५० देखि ६० लाख भएको अनुमान छ। अर्थात, मुलुकको १७–२० प्रतिशत मूलतः युवा जनसंख्या विदेशमा छ। जसका कारण नेपालको कृषिमा आधारित अर्थतन्त्र बिस्तारै रेमिट्यान्समा भर पर्ने अवस्थामा ढल्किँदै गयो। यद्यपि, विदेश गएकामध्ये केही स्वदेश फर्कने छन् भने केही उतै बसेर नेपाली डायस्पोरालाई समृद्ध बनाउनेछन्। तर, जो जहाँ बसे पनि मातृभूमिको विकास र समुन्नतिमा योगदान अवश्य दिनेछन्।
डायस्पोराहरूको अस्तित्व र परिचयको सर्वोच्चस्वरूप तिनको साझा भूमि अर्थात मूलदेश हो। उनीहरू मूलदेशसँग जोडिएको जरा अझ सुदृढ बनाउन चाहन्छन्। त्यसैले आफ्नो मातृभूमिको सामाजिक र आर्थिक रूपान्तरणमा क्षमताअनुसार विशेष योगदान पु¥याउने चाहना संसारभरिका डायस्पोराको समान चरित्र हो। त्यस अर्थमा विविध कारणबाट आफ्नो थातथलो छाडेर संसारका धेरै देशमा आ–आफ्नै सुख, दुःखसँगै मूलदेश नेपालको विकास, शान्ति र समुन्नतिको सपना र यहाँको भाषा, परम्परा, रितिथिति एवं माटोको सुवास र स्मृति बोकेर छरिएको गैरआवासीय नेपाली समुदाय हाम्रो डायस्पोरा हो।
पहिलो पुस्ताका यी नेपालीका इच्छा, आकांक्षा, खुसी, आक्रोश, संवेदना सबै अझै पनि नेपालसँग जोडिएका छन्। हामी भन्छौं हाम्रा जराहरू निकै दह्रोसँग नेपालकै भूमिमा गाडिएका छन्। हाम्रो मन यता छ, शरीर उता छ। मुलुकविहीन प्यालेस्टाइनजस्ता डायस्पोरालाई देश चाहिएको छ र ती त्यसैका लागि संघर्षरत छन्, सघाइरहेछन्। आफ्नो मूलदेश भएका डायस्पोरा भने ती देशलाई समृद्ध र सुदृढ बनाउने अभियानमा छन्। किनकि, मातृभूमिको समृद्धिमा नै डायस्पोराको इज्जत, सम्मान र सुरक्षा आधारित हुन्छ, समग्र मूल्यांकन हुन्छ। त्यसैले नेपालको समुन्नतिमा हाम्रो भावनात्मक चासो छ।
मातृभूमिप्रति हामी सबैका व्यक्तिगत दायित्व छँदैछन्, जसलाई हामीले आ–आफ्नो ढङ्गले पूरा गर्दै आएका पनि छौं। तर आर्थिक, सामाजिक र राजनीतिक संक्रमणको जटिल स्थितिबाट गुज्रिरहेको संवेदनशील परिस्थितिमा सीमित आन्तरिक स्रोत–साधनले मात्र देशले विकासको अपेक्षित फड्को मार्न सक्दैन। यस्तो कठिन कालमा अन्य वैदेशिक लगानीका संभावनाहरू सीमित हुनु स्वाभाविक हो। सामान्य अवस्थामा समेत दुई अंकको तीव्र आर्थिक वृद्धिको घोडामा सवार ठूला छिमेकीको तुलनामा वैदेशिक लगानीलाई आकर्षित गर्ने दौडमा नेपाल पछि पर्नु अवश्यम्भावी छ।
लामो र जटिल संक्रमणले त्यो सम्भावना झनै न्यून बनाएको छ र त्यो खाडल (ग्याप) लाई एकीकृत गैरआवासीय नेपाली समुदायले भर्न सक्छन्। तर, पहिलो पुस्ताको डायस्पोराका आफ्ना व्यक्तिगत सम्भावना सीमित छन्। कसैको व्यक्तिगत प्रयासले मात्र मुलुकमा सार्थक परिणाम ल्याउन सकिँदैैन।
यस्तो स्थितिमा संगठित भएर सामूहिक ढंगले मात्र गहकिलो योगदान गर्न सकिन्छ भन्ने संकल्पबाट प्रेरित भएर सन् २००३ मा गैरआवसीय नेपाली संघ (एनआरएनए) स्थापना गरिएको हो। विश्वभरि फैलिरहेको नेपाली समुदायको अनन्त उत्साह, मातृभूमिप्रतिको सामूहिक दायित्वबोध र समर्पित भावका कारण विश्वका कुनै डायास्पोरासँग नभएको अत्यन्त गर्व गर्न लायक ८५ देशमा विस्तारित फराकिलो संगठन नेपाली डायस्पोरासँग छ।
नेपाली डायस्पोरा संख्यात्मकमात्रै नभएर गुणात्मकरूपमा पनि वृद्धि हुँदै गइरहेको छ। त्यहाँ नेपाली मूलका वैज्ञानिक, चिकित्सक, नीति निर्मातादेखि उद्यमी–व्यवसायी, प्राध्यापक, इन्जिनियर र साहित्यकार सबै छन्। मंगल ग्रहमा पानी रहेको तथ्य पत्ता लगाउने नासाको टिममा रहेका लुझेन्द्र ओझा, मरेको मानिसको मुटु जिउँदो मानिसमा प्रत्यारोपण गर्ने शल्य चिकित्सक कुमुद धिताल, प्रसिद्ध सेफ सन्तोष साह (प्रतिनिधिमूलक नाम) नेपाली डायस्पोराका सदस्य हुन्भन्दा हामीलाई गर्व लाग्छ। अनेक क्षेत्रमा सफलताको शिखर चुमेका, विभिन्न पेसा व्यवसायमा उदीयमान नेपालीको ठूलो संख्या अहिले विश्वभरि क्रियाशील छ। यस्ता प्रतिभालाई जन्मभूमिसँग जोडेर ‘ब्रेन गेन’ गर्ने काममा लाग्नु नेपाली डायस्पोराको काम हुनुपर्छ र हुनेछ।
लगानीमार्फत विकासमा योगदान
संख्यात्मक र गुणात्मकरूपले विस्तारित हुँदै गएको नेपाली डायास्पोराले नेपालका ऊर्जा, बैंकिङ, बिमा, पर्यटन, स्वास्थ्य, शिक्षा, विभिन्न किसिमका साना तथा मझौला उद्योग, व्यावसायिक कृषिलगायत क्षेत्रमा उल्लेख्य आर्थिक लगानी गरिसकेको छ। ठूला लगानी सतहमा देखिने भए पनि नदेखिने गरी संसारभरि छरिएका नेपालीले आ–आफ्ना गाउँठाउँमा एक्लै वा सामूहिकरूपमा धेरै लगानी गरिसकेका छन्।
ग्रामीण अर्थतन्त्र चलायमान बनाउन र रोजगारी सिर्जनामा त्यसको प्रभाव धेरै ठूलो छ। यद्यपि, डायस्पोराको क्षमताअनुसार अहिलेको लगानी पर्याप्त भने होइन। मुलुकमा नीतिगत सुधार हुँदै जाँदा, अलिकति स्थायित्व आउँदै जाँदा लगानीको क्रम पनि बढ्ने छ र डायस्पोरा झन्–झन् मुलुकसँग एकाकार हुँदै जाने छ।
रेमिट्यान्समार्फत अर्थतन्त्रको गतिशीलतामा योगदान
नेपाली अर्थतन्त्र गतिशील बनाउन रेमिट्यान्सले खेलेको भूमिकाका विषयमा धेरै व्याख्या गरिरहनुपर्दैन। गत वर्ष नेपालले प्राप्त गरेको १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स कूल गार्हस्थ उत्पादन (जिडिपी) को करिब २३ प्रतिशत छ, जुन विश्वमा पाँचौं र दक्षिण एसियामा सबैभन्दा ठूलो अनुपात हो। नेपालको गरिबी निवारणमा रेमिट्यान्सले उल्लेखनीय भूमिका खेलेको प्रमाणित भइसकेको छ। बढ्दो आर्थिक संकट, वैदेशिक मुद्रा अभाव, घट्दो वैदेशिक अनुदान र लगानीका सन्दर्भमा रेमिट्यान्सको महत्व अझ उजागर भएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति विस्तार
विदेशमा लामो समय बसेर त्यहाँको आर्थिक–सामाजिक परिवेश राम्ररी बुझेका जानेका नेपालीले त्यहाँको समाज र सरकारसँग नेपाललाई जोडेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन नेपाली डायस्पोराले खेल्न सक्ने भूमिका अतुलनीय छ। विदेशमा बस्ने सबै नेपाली मातृभूमिका अवैतनिक राजदूत हुन् भन्ने भनाइ अतिरञ्जित छैन। अब त धेरै देशमा नेपालीहरूले आफ्नो संख्या र गुणस्तरका कारण त्यहाँका स्थानीय सरकार बनाउन समेत प्रभावित पार्ने हैसियत राख्छन्।
धेरै देशका उच्च पदस्थ पदाधिकारीहरूसँग गैरआवासीय नेपालीहरूको व्यक्तिगत सम्बन्ध छ। यसलाई नेपालले आफ्नो कूटनीति र विशेषतः आर्थिक कूटनीति प्रवद्र्धनमा प्रयोग गर्न सक्छ। धेरै नेपालीले आफ्नै प्रयत्नमा वैदेशिक लगानी ल्याउन उत्प्रेरकको काम गरेका अनगिन्ति उदाहरण छन्। आर्थिक कूटनीतिमा नेपाली डायस्पोराले खेल्न सक्ने भूमिका असीमित छ। यसको अझै सदुपयोग हुन सकेको छैन।
पर्यटन प्रवद्र्धन
पर्यटन प्रवद्र्धनमा पनि डायास्पोराले ठूलो भूमिका निर्वाह गरिरहेको छ। धेरै देशसँग प्रत्यक्ष वायुसेवाको व्यवस्थालगायत सुविधामा सरकारले पहल गर्न नसक्दा अपेक्षित ढङ्गले अगाडि बढाउन नसकिएको यथार्थ हो। डायास्पोराको पहलमा विदेशीलाई देश भ्रमण गराउने वा उत्प्रेरित गर्ने काम निरन्तर बढेर गएको छ। विदेशमा हाम्रा सम्बन्धका कारण नेपालप्रतिको चासो धेरै बढेको छ। विदेशमा बस्ने नेपाली स्वयंको खर्च गर्ने क्षमता वृद्धि हुँदै जाँदा आफू र आफ्ना परिवारलाई नेपाल भ्रमण गराउने क्रम बढ्दै गएको छ। यसरी डायस्पोरा स्वयंले नेपालको पर्यटन उद्योगलाई टेवा पु¥याइरहेको छ।
असल अन्तर्राष्ट्रिय नीति पहिचान
विदेशमा हामीले देखेको, भोगेको विकसित देशका नीतिगत अनुभवलाई नेपालको हितमा ‘रेप्लिकेट’ गर्ने कुरामा डायस्पोराको अतुलनीय भूमिका हुनसक्छ र केही मात्रामा भइ पनि रहेको छ। यद्यपि, वैदेशिक रोजगारी, श्रमिकहरूको हितसम्बन्धी व्यवस्था, भ्रष्टाचार निवारण, रेमिट्यान्सको उत्पादन क्षेत्रमा सदुपयोग आदिमा विदेशमा भइरहेका नयाँ–नयाँ नीतिगत प्रयोगलाई नेपालमा लागू गर्न डायस्पोराले भूमिका खेलिरहेको छ। यद्यपि, त्यो पर्याप्त छैन। त्यसको मुख्य कारण नीति निर्मातामा डायस्पोराको ज्ञान र क्षमता प्रयोग गर्ने पर्याप्त उदारता छैन। सही तरिकाले उपयोग गरेको खण्डमा डायस्पोराको ज्ञान र ‘ग्लोबल एक्सपोजर’ बाट मुलुक निकै लाभान्वित हुन सक्छ।
परोपकार र समाजसेवा
मातृभूमिलाई अप्ठेरो पर्दा, आपतकालीन अवस्थामा संसारभरिका नेपाली एकजुट भएर सहयोगी हात बढाएका छन्। महाभूकम्प, बाढीपहिरो, कोभिड महाव्याधि वा आफ्ना गाउँठाउँतिर साना संकट नै किन नआओस्, विश्वभरि छरिएका नेपालीले एकजुट भई देशलाई संकटमुक्त गर्न हातेमालो गरेका छन्। प्राकृतिक संकटबाहेक विद्यालय, स्वास्थ्य केन्द्र, सडक, पुलपुलेसा, खानेपानी आयोजना निर्माणलगायत धार्मिक, सामाजिक र सांस्कृतिक–सामुदायिक काममा विदेशमा रहेका नेपालीको उत्साहजनक सहभागिता निरन्तर बढ्दो छ।
नेपाली डायस्पोरामा संस्था र संगठन
संसारका अन्य डायस्पोराजस्तै नेपाली डायस्पोरा पनि भौगोलिक, भाषिक, जातीय, क्षेत्रीय, व्यावसायिक संस्थाका आधारमा संगठित र क्रियाशील छ। नेपालका आ–आफ्ना गाउँ, जिल्लाका आधारमा पनि धेरै संस्था बनेका छन्। तिनले नेपालमा प्राकृतिक विपदका बेला आफ्नो क्रियाशीलता ह्वात्तै बढाउने गरेका छन्। त्यसैगरी राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गरेर ज्ञान आदान प्रदान गर्ने, नेटवर्किङ गरी नेपालमा सामूहिक लगानी प्रवद्र्धन गर्ने, नेपालबाट कलाकार, साहित्यकार आमन्त्रित गरेर नेपालसँगको सांस्कृतिक आदान प्रदान सुदृढ पार्ने आदि महत्वपूर्ण कामसहित समुदायमा भाइचारा वृद्धि गर्न महत्वपूर्ण योगदान दिन्छन्।
सबैको साझा संस्थाका रूपमा रहेको एआरएनएबाहेक संयुक्त राज्य अमेरिकाको एनए, आन्टा, बेलायतको पुरानो संस्था यती, नेपाली डाक्टरहरूको एसोसिएसन, अन्तर्राष्ट्रिय साहित्य समाज जस्ता संगठनले डायस्पोरालाई आ–आफ्नै ढंगले संगठित र परिचालित गर्न ठूलो भूमिका खेलिरहेका छन्। यी संस्थाको नेपालका गाउँ, समाज, टोलमा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत, खानेपानी, सडकजस्ता आधारभूत क्षेत्र तथा विभिन्न धार्मिक र सांस्कृतिक गतिविधिमा व्यापक संलग्नता छ।
यद्यपि, मात्राको आँकलन गर्न सम्भव छैन। तर, आर्थिक र सामाजिक योगदान ठूलो छ। पछिल्लो समय केही विवाद देखिए पनि विश्वभरि फैलिएको नेपाली समुदायको साझा संस्थाका रूपमा एआरएनए विश्वमै अद्वितीय डायस्पोरा संगठन हो। संसारका अरू कुनै पनि डायस्पोरा यति ठूलो र विश्वव्यापी छैन।
डायस्पोराको भविष्य
विश्वका अरू डायास्पोरालाई झैं हामीलाई पनि द्वन्द्व, गरिबी र अस्थिरतामुक्त सुन्दर, शान्त र समुन्नत मातृभूमि चाहिएकाले त्यस दिशामा केही सामूहिक प्रयत्न गर्न सकिन्छ, गर्नुपर्छ भन्ने दायित्वबोधले २००३ बाट गैरआवासीय नेपाली अभियान सुरू भएको हो। फलस्वरूप, आज नेपाली डायस्पोरा विगतभन्दा धेरै बढी मातृभूमिको विकासका विविध आयाममा सक्रियरूपले सहभागी छ। वृहत नेपाली समाज र नेपालको राजनीतिक वर्गले पनि अन्ततः डायास्पोराको सामूहिक सम्भावना बुझेको देखिन्छ।
व्यापार–व्यवसायमा बढ्दो संलग्नताबाहेक अहिले विश्वका प्रतिष्ठित विश्वविद्यालयका प्राज्ञिक र अनुसन्धात्मक तहमा काम गर्ने थुप्रै नेपाली विज्ञ छन्। बहुराष्ट्रिय कम्पनीहरूको उच्च तहमा काम गर्ने नेपालीको पुस्ता बढ्दो छ। विदेशमा विभिन्न व्यवसायमा संलग्न हुने नेपालीको संख्यामा निरन्तर वृद्धि हुनुले डायस्पोरा अब नयाँ उचाइतिर उन्मुख भएको इंगित गर्छ। गैरआवासीय नेपाली समुदाय संख्यात्मक र गुणात्मकरूपमा बढ्दै जाँदा आगामी १०–१५ वर्षभित्र नेपालमा अझ महत्वपूर्ण योगदान गर्ने हैसियत बनाउन सक्छ।
यसरी उदीयमान भएर आइरहेको नेपाली समुदायलाई नेपालको उन्नतिमा आबद्ध गर्न सके नेपालको आर्थिक रूपान्तरण सहज र चाँडो हुनेमा कुनै सन्देह छैन। आफ्नो मातृभूमिको समृद्धिमा ठूलो योगदान दिइरहेका विश्वका अन्य डायस्पोराहरूको विकास पनि यसरी नै भएको इतिहास भएकाले नेपाली डायस्पोराको समृद्ध भविष्यलाई अहिले नै आँकलन गर्न सकिन्छ।
वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदान अतुलनीय छँदैछ। अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा बसोबास गर्ने नेपाली समुदायले आफ्ना घरपरिवार र आफन्तजनलाई सहयोगस्वरूप पठाएको रकमले पनि उनीहरूको जीवनस्तरमा फड्को मारेको छ। यद्यपि, विद्यमान बेरोजगारी न्यूनीकरण गर्न बहुआयामिक उपाय अझै अपनाउन सकिएको छैन।
हजारौंको संख्यामा मुलुकको युवाशक्ति रोजगारीका लागि विदेशिँदा राष्ट्रको आर्थिक विकासमा प्रतिकूल असर पर्नु स्वाभाविक हो। तर, देशको बिनालगानी विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र सिर्जनात्मक प्रष्फुटन सही ढंगले सदुपयोग गर्न सके समुन्नत नेपालको परिकल्पना साकार पार्न धेरै सहज हुनेछ। दोस्रो पुस्ताको नेपाली समुदाय अझ सशक्तरूपमा देखापर्दै गएको छ।
दोस्रो पुस्ताले विदेशमा पहिलो पुस्ताभन्दा बढी अवसर प्राप्त गर्ने भएकाले आफ्ना मातापिताको जन्मभूमिप्रति गर्न सक्ने योगदान अझै बढी हुने निर्विवादित छ। भौगोलिकरूपले आफ्नो व्यवसाय विस्तार गर्ने सोच बनाउनेबित्तिकै विदेशमा बस्ने नेपालीले पहिलो चयन नेपाललाई नै गर्ने हुँदा नेपालमा आएर केही गर्ने प्रवृत्ति दोस्रो पुस्तामा बढेर गएको छ, जुन निकै उत्साहजक परिघटना हो।
आप्रवासनको विश्वव्यापी प्रवृत्तिबाट नेपाल पनि अछुतो रहन सक्दैैन। अझ काम र अवसर खोजीमा सयौं वर्ष अघिदेखि नै देश छाडेर हिँड्ने इतिहास र परम्परा बोकेको मुलुक हो नेपाल। त्यसैले यो क्रम अनन्तकालसम्म चलिरहन्छ। त्यसरी विदेशिएका दाजुभाइ, दिदीबहिनी र तिनका भावी सन्ततिले नेपाललाई नबिर्सिउन् भन्नेतिर सबैको ध्यान जानुपर्छ।
त्यसैले डायस्पोराका अभियन्ताहरू परदेशमा क्रियाशील नेपाली समुदायलाई नेपालसँग जोडिरहन र मातृभूमिमा गाडिएका तिनका जरालाई कमजोर हुन नदिन संसारभरि विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्न र नेपालमा विभिन्न नीति र कानुनले मलजल गराउन प्रयत्नरत छन्। नयाँ संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको व्यवस्थाले डायास्पोरा र मातृभूमिबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने छ, पारस्परिक हितका विविध क्षेत्र झन् गतिशील हुनेछन्।
अन्त्यमा,
गैरआवासीय नेपाली अभियान सुरु भएको दुई दशकभित्रै विदेशमा बस्ने नेपालीका नागरिकतालगायत कानुनी आवश्यकतालाई नेपालले सम्बोधन गरिसकेको छ। विश्वका अन्य डायास्पोराले दशकौं लगाएर प्राप्त गरेका कानुनी सुविधा र अधिकार हामीलाई प्राप्त भइसकेका छन्। बाँकी केही रहेछन् भने समय क्रममा पूर्ति हुँदै जाने छ।
मातृभूमिले डायस्पोरालाई समुन्नतिको सहयात्रीका रूपमा हेरेको छ, उदारतापूर्वक अंकमाल गरेको छ। त्यसैले अब ‘नेपालमा यो भयो भने, त्यो भयो भने यसो गर्छौं’ भन्नेजस्ता सर्त तेस्र्याउने छुट डायास्पोरालाई छैन। हामीले अभियानका सुरुवाती चरणमा अतिउत्साहित भएर केही महत्वाकांक्षी घोषणा गरेका थियौं होला, जसको निर्मम समीक्षा गरेर भविष्यको उचित योजना बनाउनुपर्छ।
तर, डायास्पोराको गुणात्मक वृद्धि हुँदै जाँदा विविध क्षेत्र र हैसियतमा काम गर्ने क्षमता हामीमा बढेको छ। नयाँ पुस्तामा बढ्दो व्यवसायिकताले हामीलाई धेरै सामूहिक काम गर्न सक्ने बनाएको छ। हामी हिजोभन्दा बढी सक्षम छौं र भोलि झन् उज्वल हुनेछौं।
आसन्न गैरआवासीय नेपाली विश्व सम्मेलनले त्यो आर्थिक र बौद्धिक क्षमतालाई नेपालको समुन्नतिमा सदुपयोग गर्ने उत्साह जगाउन सकोस्! हार्दिक शुभकामना।