काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) लाई पनि काउन्टर साइक्लिकल बफर लागू गरेको छ। सोमबार केन्द्रीय बैंकले निफ्रालाई एक परिपत्र जारी गर्दै ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर लागू गरेको हो।
यसअघिसम्म वाणिज्य बैंकहरुलाई मात्रै लागू गरिएको काउन्टर साइक्लिकल बफर अब निफ्राले पनि पालना गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले पुर्वाधार विकास बैंकलाई जारी गरेको एकिकृत निर्देशन, २०७९ मा संसोधन गर्दै २०८१ असार मसान्तसम्म ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर लागू गर्दै प्राथमिक पुँजीकोष अनुपात ९ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको हो।
यस्तै, एकिकृत निर्देशन संसोधन गर्दै निफ्रालाई कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न पाउँने व्यवस्था गरेको छ।
जसअनुसार अब निफ्राले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईंटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्नेछन्।
साथै, राष्ट्र बैंकले निफ्रामा निक्षेप राख्ने निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ।