काठमाडौं। यस पटकको चाडपर्व लक्षित नयाँ नोट सटही आजदेखि सुरु भएको छ। नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार आफ्ना प्रादेशिक कार्यालयहरुमार्फत बैंक तथा वित्तीय संस्था, सर्वसाधारण र संस्थागत रुपमा नयाँ नोट सटही कात्तिक ३ गतेसम्मका लागि खुला गरिसकेको छ।
केन्द्रीय बैंकले यस्तो सटही सुविधा वाणिज्य बैंकमार्फत पनि दिने उल्लेख गरेको छ। जसका लागि राष्ट्र बैंकले गत असोज २५ गतेदेखि नै वाणिज्य बैंकहरुलाई ६ करोड १० लाख रुपैयाँको दरले नयाँ नोट सटही सदिन थालेको थियो।
राष्ट्र बैंकबाट लिएको नयाँ नोट सटही गर्न शाखा कार्यालयको नामवली राष्ट्र बैंक पठाएर आफ्नो वेवसाइटमा पनि राख्नुपर्ने निर्देशन राष्ट्र बैंकको हो। राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा नयाँ नोट सटही गर्न निर्देशन दिएको छ।
उक्त निर्देशन २० वटै वाणिज्य बैंकहरुले पालना गर्नुपर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरेश शाक्यले बताए।
‘२० वटै वाणिज्य बैंकहरुले तोकिएको समयमा आफ्नो अनुकुलताका शाखाबाट नयाँ नोट सटही सुविधा दिनुपर्छ,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘वेससाइटमा अनिवार्य सूचना पनि राख्न भनेका छौं, तर, सुचना नराख्ने वाणिज्य बैंकले पनि नयाँ नोट सटही सुविधा दिनै पर्छ।’
वाणिज्य बैंकहरुले राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट नयाँ नोट लिएर उपत्यकाभित्रै सटही सुविधा दिनुपर्ने र उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रादेशिक कार्यालयबाट नयाँ नोट लगेर सर्वसाधारणलाई अनिवार्य रुपमा सटही सुविधा दिनुपर्ने उनको भनाइ छ।
राष्ट्र बैंकको निर्देशनअनुसार आफ्नो वेवसाइटमा सुचना राखेर आजदेखि नयाँ नोट सटही गर्ने ७ वटा वाणिज्य बैंकहरु छन्।
१. सिटिजन्स बैंकः बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १÷१ प्याकेट मात्रै सटही सुविधा दिने उल्लेख गरेको छ।
उपत्यका भित्र १६ वटा शाखा जसमा काठमाडौंबाट ११ वटा भक्तपुरको २ र ललितपुरका ३ वटा शाखाबाट सटही सुविधा दिने बैंकले उल्लेख गरेको छ।
२. ग्लोबल आइएमई बैंकः बैंकले उपत्यकाभित्रमात्रै नोट सटही सुविधा दिने सुचना जारी गरेको छ। बैंकले काठमाडौंमा ३ वटा, भक्तपुरमा एक र ललितपुरमा एक गरी ५ वटा शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिन लागेको हो।
३. कुमारी बैंकः बैंकले असोज २९ गतेदेखि काक्तिक ३ गतेसम्म उपत्यकाका १० वटा शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ। बैंकले नयाँ नोटमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १÷१ प्याकेट मात्रै सटही सुविधा दिने उल्लेख गरेको छ।
४.माछापुच्छ्रे बैंकः बैंकले उपत्यकाभित्रका ३ वटा शाखा कार्यालयबाट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही दिनेछ। बैंकले काठमाडौंको लाजिम्पाट, भक्तपुरको कौशलटार र ललितपुरको पुल्चोक शाखा कार्यालयबाट असोज २९ देखि नयाँ नोट दिने उल्लेख गरेको छ।
५. नबिल बैंकः बैंकले असोज २९ गतेदेखि उपत्यकाका ५ वटा शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ। बैंकले लाजिम्पाट, गुसिंगल, मंगलबजार, कलम विनायक र बौद्ध जोरपाटी शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ।
६. एनआइसी एसिया बैंकः बैंकले असोज २९ गतेदेखि उपत्यका बाहिरका ४ वटा शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिँदैछ। बैंकले थापाथली, धापासी, भैसेपाटी र बयासी विस्टार काउन्टरबाट ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट सटही सुविधा दिन लागेको हो।
७. प्रभु बैंकः बैंकले उपत्यकाका ५ वटा शाखा कार्यालयबाट नयाँ नोट सटहीको सुविधा दिइरहेको छ। असोज २९ गतेदेखि बैंकले नयाँ बानेश्वर, स्वयम्भु, कुमारीपाटी, भैंसेपाटी र ठिमी शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ। बैंकले काक्तिक ३ गतेसम्म राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर नयाँ नोट सटही सुविधा दिने उल्लेख गरेको छ।