काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला सचिवका लागि राधिका गुरुङ (टिका) ले पुनः उम्मेदवारी दर्ता गराएकी छिन्। २८ वर्षदेखि हङकङलाई कार्यक्षेत्र बनाउदै आएकी गुरुङ सन् २००९ देखि गैरआवासीय नेपाली संघमा आबद्ध छिन्।
१९ औं महाधिवेशनबाट महिला सचिव बनेकी गुुरुङले पुनः उम्मेदवारी दर्ता गराएपछि उनलाई किन दोहोरिन खोज्नु भएको भन्ने प्रश्न क्यापिटलले गरेको थियो। जवाफमा गुरुङले यस अघिको कार्यकालमा थालिएको नयाँ कामहरुलाई पुरा गर्न दोहोरिन खोजेको बताइन।
महिला सचिव हुँदा वर्तमान कार्यकालमा पोखराको महेन्द्रपुलमा सार्वजनीक शौचालय तथा पार्क निर्माणमामा महत्वपूर्ण योगदान गरेको बताउदै यस्तै खालका अन्य कामहरु धेरै बाँकी रहेको उनको भनाई छ।
संघको महिला विभागको नेतृत्वमा सञ्चालित ‘एक गैरआवासीय नेपालीको प्रतिबद्धता एक असहाय बालबालिकाको सहायता’ परियोजना हस्तान्तरण गरिए पनि अझै पूर्णता दिन आवश्यक रहेकोले आफु पुनः दोहोरिन लागेको बताइन।
सो परियोजना पनि आफ्नै संयोजकत्वमा सञ्चालन भएको र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय बाल कल्याण समितिको निर्देशनमा सरोकारवाला साझेदार यूसेफ नेपालमा संरक्षित बालबालिकाको लालनपालन, शिक्षा तथा स्वास्थ्यका लागि परियोजना सञ्चालन भइरहेको फलदायी हुने बताइन।
संघले युसेफ नेपालमा रहेका ५० जना बालबालिकाका लागि आर्थिक सहायता गरेको र आगामी ३ वर्षसम्ममा अन्य ५० जना बालबालिकाको लागि आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्य राखिएकोले पनि आफु दोहोरिन आवश्यक रहेकोसमेत बताइन।
उनी हङकङमा व्यवसायसँगै सामाजिक कार्यमा लामो समयदेखि सक्रिय छिन्। हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइ परिआउने प्राकृतिक विपत्तिमा सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा निरन्तर लागिरहने एक महिला सामाजिक अभियन्ताको रूपमा समेत चिनिन्छिन्।
हङकङ सरकारले बिरलै प्रदान गर्ने ‘चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस’ पदबाटसमेत गुरुङ सम्मानित भएकी छिन्। कोभिड १९ का कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या समाधानका लागी हङकङ एनआरएनको पहलमा विभिन्न आर्थिक संकलन गरि ५० थान १० लिटर क्षमताको अक्सिजन कन्सन्टेटर र १७ लाख मास्क नेपालमा वितरण गरेको थियो।
लामो समयदेखि एनआरएन अभियानमा लागेको र एनआरएनए हङकङमा २००६–२००९ साधारण सदस्य हुँदै २००९–२०११ मा कार्यसमिति सदस्य, २०११–२०१३ मा महिला संयोजक तथा कोषाध्यक्ष, २०१३–२०१५ मा वरिष्ठ उपाध्यक्ष, २०१५–२०१७ अधिवेशनमा अध्यक्ष पदको प्रत्यासी तथा सल्लाहकार, २०१७–२०२१ सम्म अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको उनले बताइन्।