काठमाडौं। पछिल्लो समय नेपाली बजारमा सुनको भाउमा तीव्र उतारचढाव छ। गत साता वर्षकै तल्लो बिन्दुमा पुगेको छापावाल सुनको भाउ अहिले आकासिए उच्च बिन्दुतर्फ उन्मुख छ।
गत साउन ४ मा छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेर नेपाली इतिहासकै उच्च बिन्दुको ‘रेकर्ड’ कायम राखेको थियो। तै पनि उक्त मूल्य असोज १६ गते १ लाख ६ हजार ६ सय रुपैयाँसम्म झरेको थियो।
त्यसयता मूल्य लगातार बढ्दो छ। असोज २८ गते स्थानीय बजारमा सुनको भाउ १ लाख १३ हजार रुपैयाँमा कारोबार भयो। यो एक सातायता सुनको भाउ बढ्दो क्रममा छ। निरन्तर बढेर सुनको भाउ अबको १५ दिनभित्रै तोलामा १ लाख १६ हजार रुपैयाँसम्म पुग्ने आँकलन विज्ञहरूको छ।
अन्तर्राष्ट्रिय बजारका अन्य क्षेत्रमा लगानीको वातावरणमा खलल पुग्दा सुनमा लगानी गर्न आकर्षण बढेको छ। जसले गर्दा सुनको मूल्य निरन्तर बढिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्य बताउँछन्।
उनका अनुसार अहिले इजरायल–प्यालेस्टाइन युद्धका कारण कच्चातेल, सेयर बजार, घरजग्गालगायत क्षेत्रका लगानीकर्ता त्यसतर्फको लगानीबाट विमुख हुँदै सुरक्षित लगानीको खोजीमा सुनतिर आकर्षित भइरहेका छन्।
यसले सुनको भाउ दिनहुँ बढाइरहेको छ। सुनको मूल्य अझै बढ्न सक्ने शाक्यको भनाइ छ। ‘हामी इजरायल र प्यालेस्टाइन युद्धलाई हेर्दैछौं, युद्ध बढे मूल्य बढ्छ, शान्त भयो भने सुनको मूल्य घट्छ,’ शाक्यले क्यापिटल नेपालसँग भने, ‘तर, तत्काल युद्ध रोकिने सम्भावना नभएकाले दुई साताभित्रै प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुग्ने सम्भावना छ।’
असोज २६ गते तोलाको १ लाख १० हजार १ सय रुपैयाँ रहेको सुन २७ गते एकै दिन २ हजार ९ सय रुपैयाँ बढेको थियो। तै पनि आइतबार भने सुनचाँदीको भाउ स्थिर भई १ लाख १३ हजार रुपैयाँ कायम रहेको छ।
नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बजार मूल्यले निर्धारण गर्छ। सोही कारण महासंघले मूल्य बढाउने वा घटाउने गर्न सक्दैन।
असोज १९ गते (अक्टोबर ६) राति इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले हमला गरेको थियो। उक्त युद्ध अहिलेसम्म पनि जारी छ। युद्धमा परी १० नेपालीले पनि ज्यान गुमाए भने एकजना अझै बेपत्ता छन्।
गत वर्षको रुस–युक्रेन युद्धले विश्वअर्थतन्त्रमा असर पु¥याएको थियो। रुस–युक्रेन युद्धको असर बिस्तारै कम हुन लाग्दा फेरि इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएको छ। इजरायल–प्यालेस्टाइन युद्धले पनि विश्व अर्थतन्त्रमा प्रभाव पार्ने अर्थशास्त्री बताउँछन्।
युद्धको असर सुनचाँदीको मूल्यमा पर्ने संकेतस्वरूप शनिबार एकै दिन सुनको मूल्य २ हजार ९ सय र चाँदी ४५ रुपैयाँ बढेको व्यवसायी बताउँछन्।
विश्वमा युद्ध भइरहेर लगानी गर्ने अन्य स्थान सुरक्षित नहुँदा सुनमा लगानी गर्नेको संख्या बढेको छ। जसले गर्दा पनि सुनको मूल्य बढ्न टेवा पुगेको सुन व्यवसायी बताउँछन्। यसअघि रुस–युक्रेन युद्धले आकासिएको सुनको मूल्यवृद्धि बिस्तारै स्थिर हुन थालेको थियो।
तर, इजराइलमा भएको युद्धले फेरि सुनको मूल्य बढ्न थालेको छ। साथै, अन्य वस्तुको मूल्य पनि बढेकाले विश्वअर्थतन्त्र धराशयी हुँदै गएको छ।
सुनचाँदी व्यापारमा छैन दसैं संकेत
प्रत्येक वर्ष दसैंमा सुनचाँदी कारोबार बढ्ने गथ्र्यो। तर, यो वर्ष भने व्यवसायीले दसैं आएको महसुस गर्न सकेका छैनन्। नयाँ गरगहना लगाउन÷बनाउन मानिस दसैं पर्खिरहेका हुन्थे।
२०७२ को भूकम्प र २०७६ अन्तिममा विश्वभरि फैलिएको कोरोना महामारी समयमा पनि व्यवसाय यति सुस्त नभएको महासंघका संस्थापक अध्यक्ष शाक्य बताउँछन्।
हाल दैनिक २० किलो सुन नेपाल भित्र्याउन नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ। तर, व्यवसायीलाई उक्त सुनको व्यापार गर्न पनि सहज भने छैन।
‘मैले मेरो व्यावसायिक जीवनमा देखेकामध्ये यसपालिको दसैंमा हो यति कम कारोबार भएको,’ शाक्यले भने, ‘दसैं लागेको महसुस सुनचाँदी व्यवसायीले गर्न पाएका छैनन्।’