काठमाडौं। यस पटकको चाडपर्व लक्षित नयाँ नोट सटही आज (असोज २९) देखि सुरु भएको छ। नेपाल राष्ट्र बैंकले दसैं, तिहारलगायत चाडपर्व लक्षित आजदेखि कात्तिक ३ गतेसम्म सर्वसाधारणका लागि नोट सटही सुविधा खुला गरेको हो।
राष्ट्र बैंकले सर्वसाधाणलाई १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही सुविधा केन्द्रीय कार्यालय बालुवाटार आफ्ना प्रादेशिक कार्यालयहरुबाट दिने छ। साथै उक्त दरमा वाणिज्य बैंकहरुका तोकिएको शाखा कार्यालयमार्फत् पनि नयाँ नोट सटही दिइने राष्ट्र बैंक मुद्रा व्यवस्थापनका प्रमुख तथा कार्यकारी निर्देशक नरेश शाक्यले बताए।
‘आजदेखि राष्ट्र बैंकसँगै सबै वाणिज्य बैंकहरुका तोकिएको शाखा कार्यालयले नयाँ नोट सटही सुविधा दिन्छन्,’उनले भने, ‘जसका लागि हामीले वाणिज्य बैंकहरुलाई असोज २५ गतेदेखि नै ६ करोड १० लाख रुपैयाँका दरले नयाँ नोट सटही सुविधा खुला गरेका थियौं।’
राष्ट्र बैंकले संस्थागत रुपमा आउनेहरुको हकमा भने नोट सटहीको सीमा निर्धारण नगरेको र आवश्यकताअनुसार नोट सटही सुविधा दिएको शाक्यले बताए।
‘सैनिक कल्याणकारी कोष, नेपाल प्रहरी, सशत्र प्रहरी लगायतका अन्य संस्थागत रुपमा सटहीका लागि आउनेहरुका लागि आवश्यकताअनुसार नोट सटही दिन्छौं,’–उनले भने।
राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय र प्रति बैंक ६ करोड १० लाख रुपैयाँ ५, १०, २०, ५० र सय रुपैयाँका नोट सटही सविधा दिएको हो।
राष्ट्र बैंकले तोकेको समय र नयाँ नोटको सटही सीमा भित्र रहेर वाणिज्य बैंकहरुले नयाँ तथा सुकिला नोट सटही सुविधा दिनु पर्नेछ।
वाणिज्य बैंकहरु नोट सटही सुविधा दिने शाखा कार्यालयको नामावली राष्ट्र बैंक यसअघि नै पठाइसकेको हुँदा कुन वाणिज्य बैंकले कुन शाखा कार्यालयमा नयाँ नोट सटही सुविधा दिने हो, आफ्नो वेव साइटमा राख्नु पर्ने शाक्यले बताए।