काठमाडौं। अफ्रिका महादेशमा १ अर्ब रुपैयाँको ‘एनआरएन अफ्रिका भेन्चर्स’ बनाएका क्रियाशील नेपालीले हालसम्म नेपालका विभिन्न कम्पनीमा गरी ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन्।
अफ्रिकाका विभिन्न देशमा कार्यरत गैरआवासीय नेपाली (एनआरएन) ले नेपालमा सामूहिक लगानी गर्न एनआरएन अफ्रिका भेन्चर कम्पनी खडा गरेको र त्यसमार्फत नेपालको ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य, बैंकिङ, पूर्वाधार, निर्माण व्यवसाय, इन्जिनियरिङ, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गरिरहेका छन्।
एनआरएन अफ्रिका भेन्चर्स प्रमुख हिक्मत थापाले अफ्रिकामा भएका नेपालीले अहिलेसम्म विभिन्न क्षेत्रमा गरी ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको बताए। कम नेपाली भएको महादेश र आर्थिकपले अपेक्षाकृत पछाडि मानिएको अफ्रिका क्षेत्रबाट नेपालमा लगानी आइरहेको उनको भनाइ छ।
नाइजेरियाको बहुराष्ट्रिय कम्पनी डांगोटेलगायत ठूला लगानीकर्तालाई नेपालमा लगानी गर्न लैजाने प्रयत्न निरन्तर जारी रहेको थापाको भनाइ छ। यसअघि डांगोटेबाट ५५ करोड डलरबराबर लगानी ल्याएर नेपालमा सिमेन्ट उद्योग खोल्न लगानी बोर्डमार्फत प्रक्रिया सुरु गरिए पनि पछि रोकिएको थियो।
थापाको सक्रियातापछि अफ्रिकामा रहेका १ सय नेपालीको पहलमा खोलिएको एनआरएन अफ्रिका भेन्चर्सको पुँजी १ अर्ब रुपैयाँ छ। कम्पनीले आर्थिक लगानीमात्र नहेरी त्यताको सीप र व्यवस्थापन ज्ञान पनि नेपाल लग्ने योजना बनाएको भेन्चर्सका निर्देशक तथा एनआरएनए अफ्रिका संयोजक रोशन थापाले बताए।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा एनआरएनएको पहिलो सामूहिक लगानी रहेको यो इन्भेस्टमेन्ट कम्पनीमा अफ्रिकाका नेपालीको समेत लगानी छ। जसले मूलतः हाइड्रोपावर क्षेत्रमा लगानी गरेको छ। यसको प्रमुख लगानी रहेको दोर्दी खोला हाइड्रोपावर उत्पादनमा समेत आइसकेको छ।
अफ्रिकाका एनआरएनहरूको मूललगानी रहेको अफ्रिकन भेन्चर्सले अहिले आफ्नो प्रारम्भिक चरणमा इन्भेस्टमेन्ट जुटाउने र लगानी गर्ने कार्य गरिरहेको अध्यक्ष थापाको भनाइ छ। भेन्चर्सले हाइड्रोपावर, कृषि र सेकन्डरी मार्केटमार्फत विविध लगानीका क्षेत्रमा लगानी विस्तार गरिरहेको जनाएको छ।
अफ्रिकाका एनआरएनहरूको मूललगानी भएको खानेपानी ट्यांकी, गोबर ग्यास प्लान्ट र सुलभ चर्पीलगायत वस्तु उत्पादन गरिरहेको छ। पोखरामा उद्योग सञ्चालन गरी विभिन्न क्षेत्रमा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ।
सामाजिक र परोपकारी कार्य
अफ्रिकाका नेपालीले देशमा अप्ठ्यारो पर्दा वा अरूबेला पनि नेपालमा विभिन्न सहयोग र परोपकारी कार्य गर्दै आइरहेका छन। भूकम्पका बेला नेपालमा अफ्रिकाका नेपालीले लगभग १ करोडबराबर सहयोग गरेका थिए। त्यस्तै कोरोनाकालमा ६० लाखभन्दा बढीको अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामाग्रीहरू नेपालका ३० जिल्लामा पठाएका थिए।
जसमा कर्णालीका मुगु र जुम्लालगायत विकट जिल्लामा समेत सहयोग पुगेको थियो। गत वर्ष डोटी र अछामका भूकम्पपीडितलाई समेत अफ्रिकाका नेपालीले उल्लेख्य सहयोग गरेका थिए।
त्यसैगरी कैलाली, चितवन, रसुवा, खोटाङ, सुनसरी, स्याङ्जा, मकवानपुर र धनुषा जिल्लामा स्कुल, पुस्तकालय भवन, प्रयोगशाला भवन, कक्षा कोठा, मन्दिरलगायत बनाएका छन्।