काठमाडौं। सन् २०१८ मा ‘पठाओ’ सुरु गर्दा अशिममान सिंह बस्न्यातलाई राइड सेयरिङ एप चलाउनै पनि कठिन थियो। राइडर पाउनै गाह्रो, यात्रु (प्यासेन्जर) पाउन समस्या र त्यसमाथि सरकारी नीतिका कारण सुरुमा बस्न्यातले धेरै कठिनाइ सामना गर्नुपर्याे।
सुरुवाती दिनमा राइड सेयरिङ एप नै सञ्चालनमा समस्या भोगेको पठाओ हाल ‘सुपर एप’ बन्ने तयारी गरिरहेको छ।
हाल पठाओमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे, खाना डेलिभरी, पार्सल र बजार गरी ६ वटा सेवा छन्। त्यसैगरी कम्पनीले करिब एक वर्षअघि ‘इन हाउस’ प्रयोगका लागि मोबाइल वालेट ‘छिटो पैसा’ सञ्चालनमा ल्याइसकेको छ।
हाल पठाओका राइडरले छिटो पैसामार्फत कम्पनीको कमिसन बुझाउँछन्। करिब ६ महिनामा एपमा फिचर थपेर लन्च गर्ने तयारी रहेको पठाओ प्रबन्ध निर्देशक बस्न्यातले जानकारी दिए।
‘हामीले छिटो पैसा मोबाइल वालेट करिब एक वर्ष ट्रायलका रूपमा चलाइसक्यौं। यसमा अपुरो रहेका विभिन्न फिचर थप्छौं र ब्रान्डिङ गर्छौं,’ बस्न्यातले क्यापिटल नेपालसँग भने।
वालेटमा होटल बुकिङ, प्लेन टिकट काट्न सकिनेलगायत सुविधा हुने उनले बताए। ‘वालेटको स्तर पठाओ एपजत्तिको भएपछि हामी वालेटलाई पठाओको एपभित्र राख्छौं,’ उनले भने, ‘जसबाट उपभोक्ताले राइड सेयर, कार लाइट, बजार, पार्सल, वालेट, प्लेन टिकट, होटल बुकिङ, मेन्टिनेन्सलगायत धेरै सुविधा पाउने छन्।’
यी सेवा एकैपटक भने लन्च नहुने उनले स्पष्ट पारे। ‘हामीले सबै सेवा एकैपटक ल्यायौं भने भद्रगोल हुने डर हुन्छ। त्यसकारण हामी एकपछि अर्को सुविधा ल्याउने गृहकार्य गरिरहेका छौं,’ बस्न्यातले भने।
पठाओको सेवा कुनै निश्चित बिन्दु नभएको उनी बताउँछन्। ‘सरकारको नियमले एक ठाउँबाट अर्को ठाउँ पुर्याउन सक्ने सबै कुरा गछौंं। तर, सरकारले यस्ता व्यवसायलाई काम गर्न सहज हुने वतावरण बनाइदिनुपर्छ,’ उनले भने।
हाल पठाओमा करिब १ लाख ५० हजार राइडर, क्याप्टेन र डेलिभरी म्यान छन्। कम्पनीमा १ सय ७५ जना इन हाउस कर्मचारी छन् भने सबै गरेर दैनिक १ लाख राइड हुने कम्पनीको दाबी छ।