काठमाडौं। एनआइसी एसिया बैंकको साधारणसभाले ३०.५२ प्रतिशत लाभांश स्वीकृत गरेको छ। बैंकको आइतबार राजधानीमा सम्पन्न २६ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत अर्थात ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार रुपैयाँ बोनस सेयर दिने प्रस्ताव स्वीकृत गरेको हो।
यस्तै कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश अर्थात १७ करोड ६५ लाख ३ हजार वितरण गर्ने भएको छ।
साधारण सभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ। सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरण स्वीकृत गरेको छ। सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गरेको छ।
यस बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६३१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले जनाएको छ।
देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि अहिलेसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको बैंकले जनाएको छ। गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई बुझाएको छ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ।
देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ।