काठमाडौं। सरकार स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दसैंका लागि पहिलो लटमा ३ सय च्याङ्ग्रा काठमाडौं ल्याउन लागेको छ। दसैंका लागि १ हजार च्याङ्ग्रा ल्याउने लक्ष्य रहेकामा पहिलो चरणमा ३ सय वटामात्र उपत्यका भित्र्याउन लागिएको हो।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार आइतबार बेलुका वा सोमबार बिहानसम्म काठमाडौंमा च्याङ्ग्रा भित्रिनेछन्। ‘३ सयवटै च्याङ्ग्रा रसुवाबाट ल्याइदै छ, पछि ल्याउनु पर्छ वा पर्दैन भन्ने विषय बजारको मागले निर्धारण गर्छ’ उनले भनिन्।
खसी/बोकको तुलनामा च्याङ्ग्राको मूल्य बढी पर्ने भएकाले बजारमा माग धेरै हुँदैन। साथै कम्पनी आफैंले महंगोमा खरिद गरेर ग्राहकलाई सहुलियत दिन नसक्ने भएकाले पनि च्याङ्ग्राको खरिद/बिक्री सिमित हुने गर्छ।
२०७८ मा खाद्य कम्पनीले एउटा पनि च्याङ्ग्रा आयात गर्न सकेको थिएन। २०७९ मा १ हजार च्याङ्ग्रा ल्याउने योजना बनाएकामा दार्चुलाबाट ल्याएर १ सय ६२ वटा मात्रै बिक्री गरेको थियो। यो वर्ष भने ३ सय वटा च्याङ्ग्रा ल्याउने निश्चित भइसकेको छ। उक्त च्याङ्ग्रा रसुवा जिल्लाबाट ल्याइएको हो।
त्यस्तै २ हजार खसी÷बोका पनि कम्पनीले ल्याउँदैछ। खसी/बोका पनि सोमबार बिहानसम्म उपत्यका भित्रिने छन्। खसी÷बोका लक्ष्यअनुसार नै ल्याउन लागिएको सूचना अधिकारी सुवेदीले जानकारी दिइन्।
कसरी हुन्छ मूल्य निर्धारण?
खाद्य कम्पनी सरकार स्वामित्वको भएका कारण सामान्य बजार भाउभन्दा केही कम मूल्यमा चाडवाडको समयमा हरेक सामान बिक्री गर्छ। तर, यो वर्षका लागि खसी÷बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण भएको छैन।
यद्यपि सोमबार दिउँसो वा मंगलबारबाट खसी/बोका तथा च्याङ्ग्रा बिक्री सुरु हुनेछ। आइतबारसम्म मूल्य नहुनुको कारण बारे बताउँदै सूचना अधिकारी सुवेदीले भनिन्,‘आइतबार दिउँसोसम्म खसी÷बोका तथा च्याङ्ग्रा उपत्यका नआइपुगेकाले मूल्य निर्धारण गर्न सकेका छैनौं, सामान्यतया बजार मूल्यभन्दा कम गर्छौं र त्यसमा पनि प्रतिकेजी १० रुपैयाँ छुट हुन्छ।’
यो वर्ष खसी÷बोकाहरु धादिङ, मकवानपुर र दाङबाट काठमाडौं ल्याइदै छ। कम्पनीले खसी÷बोका र च्याङ्ग्रा खरिदका लागि ८ करोड ३३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।
हालसम्म उपत्यकको कुन–कुन स्थानबाट खसी÷बोका र च्याङ्ग्रा बिक्री हुन्छन् भन्ने अझै प्रष्ट भएको छैन। विगतका वर्षमा थापाथलीबाट बिक्री गरिदै आएको थियो।