काठमाडौं। हामी सबैले नेपालमा यति रेमिट्यान्स आयो, गत वर्षको तुलनामा विप्रेषण आप्रवाह यति प्रतिशतले थपघट भयो भन्ने सुन्दै आएको छौंं। तर, नेपालबाट पनि विदेशमा पैसा पठाइन्छ अर्थात नेपालबाट रेमिट्यान्स जान्छ भन्ने विषयमा धैरै अनभिज्ञ छौं।
नेपालबाट विदेशमा रेमिट्यान्स पठाउने भनेको शैक्षिक भिसामा देश बाहिर रहेका नेपालीले सम्बन्धित विद्यालयमा, खर्चका लागि वा वैदेशिक रोजगारीमा रहेका आफन्त बिरामी हुँदा उपचारका लागिमात्रै हो। यस्ता प्रयोजन खुलाएर विदेश पैसा पठाउन सरकार र राष्ट्र बैंकले वैधानिक माध्यम खुला गरेको छ।
विश्व बैंकद्वारा सार्वजनिक पछिल्लो प्रतिवेदनअनुसार विदेशबाट नेपालमा रेमिट्यान्स पठाउन ३ रुपैयाँदेखि ६ रुपैयाँसम्म खर्च लाग्छ। तर, नेपालबाट विदेशमा पैसा पठाउन भने चारगुणा खर्च हुने नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।
नेपालबाट विदेशमा रेमिट्यान्स वैधानिक माध्यमबाट पठाउने व्यवस्था राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीमार्फत गरिएको छ। राष्ट्र बैंकले विभिन्न देशमा तोकिएको सीमासम्म मात्रै रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको छ।
जसमा मलेसियामा ६ सय १० रिङ्गेट, दुबई ७ सय ३५ दिराम, कतार ७ सय ३० दिराम, साउदी अरब ७ सय ५० अरबियन रियाल, ओमन ७५ रियल, भारत १३ हजार ३ सय भारु, बेलायत १ सय २० पाउन्ड र अमेरिकामा २ सय डलर पठाउन मिल्ने व्यवस्था गरिएको छ।
उक्त सीमासम्म ती देशमा रेमिट्यान्स पठाउन लाग्ने खर्च आजको विनिमयदरमा रूपान्तरण गर्दा १ सय रुपैयाँमाथि २६ हजार रुपैयाँसम्म खर्च लाग्छ।
राष्ट्र बैंकद्वारा सार्वजनिक ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सिबिडिसी)’ प्रतिवेदन २०२२ अनुसार नेपालबाट विदेश पैसा पठाउन उक्त दरमा खर्च लाग्ने देखिएको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०२२ मा नेपालका लागि डिजिटल करेन्सी पहिचान र उपयुक्त नीतिगत लक्ष्य र डिजाइनबारे अध्ययन गरेको थियो। उक्त अध्ययन प्रतिवेदनमा उल्लेखित देशमा तोकिएको सीमामा पैसा पठाउन लाग्ने औसत खर्च आजको विनिमयदरमा रूपान्तरण गरी यो सामग्री तयार गरिएको हो।
प्रतिवेदनअनुसार नेपालबाट मलेसियामा ६ सय १० रिङ्गेट पठाउन औसत ४ सय ९४ रुपैयाँ ४८ पैसा लाग्छ। दुबईमा ७ सय ३५ दिराम पठाउन औसत ९ सय ८ रुपैयाँ ३८ पैसा लाग्छ।
नेपालबाट कतारमा ७ सय ३० दिराम पठाउन औसत ८ सय ५७ रुपैयाँ ५३ पैसा लाग्छ। साउदी अरबमा ७ सय ५० अरबियन रियाल पठाउन औसत १ हजार ५८ रुपैयाँ ९ पैसा, ओमनमा ७५ रियाल पठाउन औसत २५ हजार ९ सय ८० रुपैयाँ ७५ पैसा लाग्छ।
यस्तै नेपालबाट भारतमा १३ हजार ३ सय भारु पठाउन औसत ९ सय ८० रुपैयाँ २४ पैसा, बेलायतमा १ सय २० पाउन्ड पठाउन ७ सय ६८ रुपैयाँ ९७ पैसा र २ सय अमेरिकी डलर पठाउन औसत १ हजार १ सय ६४ रुपैयाँ ३८ पैसा खर्च लाग्छ।
राष्ट्र बैंकको उक्त तथ्यांकमा विदेश पठाउन लाग्ने उल्लेखित खर्चलाई आजको विदेशी विनियमदरमा गणना गर्दा आएको नेपाली रुपैयाँको खर्च सम्बन्धित देशले तोक्ने रेमिट्यान्स खर्च र विदेशी मुद्रा सटही दरअनुसार फरक पर्न सक्छ।