काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा मलेसियाबाट हरि भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। गैरआवासीय नेपाली संघ मलेसियाको वर्तमान कार्यसमितिका उपसंयोजक रहेका भट्टराईले एनआरएनएको ११ औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आरसी पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार, श्रमिकमैत्री एनआरएनए मेरो सरोकार’ भन्ने मुल मन्त्रका साथ क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका भट्टराईलाई एनआरएनए मलेसियाले सर्वसम्मत क्षेत्रीय संयोजकमा पठाएको हो।
एनआरएनए मलेसियाको नेतृत्वमा रहँदा भट्टराईले आफ्नै कार्यकालमा एनआरएनए मलेसियाको कार्यालय स्थापना गर्न सफल भएका थिए। उनी आफैले मलेसियन रिंगेट ५० हजार (१४ लाख रुपैयाँ) जम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौ नेपालीलाई सहयोग गर्दै आइरहेका छन।
कोभिडको महामारीमा उनले नेतृत्व गरेको संघले ६ हजार ३ सय भन्दा बढी नेपालीलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गरेको अभियानले एनआरएनए मलेसियाको शाख उचाईमा पुर्याउन सफल भएको थियो।
भट्टराईले एनआरएनएको केन्द्रिय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित,बाढिपीडित हुँदै कोभिड पीडितसम्म आइपुग्दा आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएका छन्।
एकै देशको दुई पटक क्षेत्रीय संयोजक बन्न नपाउने
भट्टराईले उम्मेदवारी दिएको क्षेत्रीय संयोजक पदमा एकै देशको दुई पटक दोहोरिन नपाउने भएका छन्।
निर्वाचन समितिले मंगलबार जारी गरेको सूचनाअनुसार क्षेत्रीय संयोजकको हकमा एउटै देशबाट लगातार दुई पटक भन्दा बढी निर्वाचित हुन अयोग्य मानिने हुँदा त्यस्तो उम्मेदवारको मनोनयन रद्ध हुने उल्लेख छ।
योसँगै भट्टराईलाई क्षेत्रीय संयोजकमा सहज बाटो खुल्ने देखिएको छ। हाल जापानबाट क्षेत्रीय संयोजकमा दुई जनाले उम्मेदवार दर्ता गराएका छन्। तर, सोही देशबाट यस अघि पनि क्षेत्रीय संयोजक बनिसकेको छ।
संघको पछिल्लो संशोधित विधानअनुसार अन्य देशबाट उम्मेदवारी नपरेमा यो प्रावधान लागू हुने छैन भन्ने सूचनामा उल्लेख छ।
नयाँ वैधानिक व्यवस्थाअनुसार पटक पटक क्षेत्रीय संयोजकको नेतृत्व गरेका अमेरिका, अष्ट्रेलिया, जापान लगायतका देशले अब हुने महाधिवेशनमा संघको क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन पाउने छैनन्।
यस्ता छन् भट्टराईका प्रतिवद्धता
एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधीहरुलाई श्रमिकमैत्री बनाउन पहल गर्ने।
नेपाल र एसिया प्यासिफिकको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यापारिक, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तार गर्ने।
एसिया प्यासिफिकका देशहरुमा एनआरएनएको सञ्जाल विस्तार गर्ने (जस्तैः भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनसीसी गठन गर्न)।
नेपालका लागि प्रमुख श्रम गन्तव्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गर्ने।
विदेशमा रहेका नेपाली नियोगसँग एनआरएनको सहकार्यलाई थप बलियो बनाउने।
नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई एसिया प्यासिफिक तथा विश्व सामु चिनाउन गैरआवसिय नेपाली संघको विश्व सञ्जालमार्फत आवश्यक पहल गर्ने।
श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलव बनाउन पहल गर्ने।
एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा,कला–संस्कृति जगेर्नाका लागि अभियान चलाउने।