काठमाडौं। आन्तरिक पर्यटन प्रवर्द्धन तथा घुम्ने संस्कृति विकास गर्न चितवन सौराहास्थित जंगल सफारी लजले ‘दसैं धमाका’ योजना ल्याएको छ।
कात्तिक १ बाट ३० सम्म लागू हुने यस योजनाअन्तर्गत नेपाली पर्यटकले प्रतिव्यक्ति दुई रात तीन दिनको प्याकेज १२ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन्। चार वर्षमुनिका बालबालिकालाई निःशुल्क र ५ देखि ९ वर्षका हकमा २५ प्रतिशत छुट गरिएको लजले जनाएको छ।
यो प्याकेजमा सहभागी हुनेले दुई लन्च, दुई डिनर र ब्रेकफास्टसहित निकुञ्जभित्र जिप सफारी, डुंगा सयर, जंगल पदयात्रा, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए।
सहुलियत मूल्यमा स्विमिङ पुल, पूर्णवातानुकूलित कोठा, रेस्टुरेन्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाका अन्य गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाइ छ।
‘दसैंका बेला नेपालमा रहने र नेपाल फर्किने नेपालीलाई कता घुम्ने भइरहेको हुन सक्छ, त्यही भएर यो योजना ल्याएका हौं,’ घिमिरेले भने, ‘हामीले एक दशकदेखि दसैंतिहारमा यस्तै योजना ल्याउँदै आएका थियौं, सफल पनि भयौं। त्यसैले यो वर्ष पनि निरन्तरता दिँदैछौं।’
जंगल सफारी लजले विभिन्न सभा, गोष्ठीका लागि सेमिनार हलमा समेत यो अवधिभरि विशेष छुट दिने र नेपालमा रहेका एक्सप्याट (विदेशी) लाई पनि छुट दिने जनाएको छ।