काठमाडौं। सेतै फूलेको लामो दाह्री, उस्तै कपाल पनि। चाउरी परेका गाला। पातलो जीउडाल, हास्दै मोमो बाँडिरहने व्यक्ति हुन्– किरण श्रेष्ठ। उनलाई सबैले ‘किरण दाइ’ भनेर बोलाउँछन्।
उमेरले आधा शताब्दी काटे पनि काममा उत्तिकै जोशिला छन्। घरी मोमो बनाउँदै त घरी ग्राहकलाई मोमो दिइरहेका हुन्छन्। बोल्नसमेत फुर्सद नपाउने किरण दाइको हात कतिखेरै खाल हुन्न। फुर्सद होस् पनि कसरी, आफ्नै नाममा मोमो व्यवसाय फस्टाइरहेको छ।
उमेरले ५८ पार गरेका किरण दाइले ४८ वर्ष मोमो व्यवसायमा बिताएभन्दा अनौठो लाग्न सक्छ। तर, यो वास्तविकता हो। खेल्ने–कुद्ने १० वर्षको उमेरदेखि सानिमाको पसलमा काम सुरु गरेका किरण दाइले सात वर्षदेखि भने ज्ञानेश्वरमा ‘किरण दाइको मःमः पसल’ सञ्चालनमा ल्याएका छन्।
ज्ञानेश्वरबाट गौशाला जाने ओरालोमै छ किरण दाइको मोमो पसल। पारिवारिक परिबन्धमा परेर सानैबाट काममा व्यस्त किरणले सानिमाको पसलमा काम गर्दा निकै मिहिनेत गरे र मोमो बनाउने लगायत काम सिके।
कामसँगै पढाइलाई पनि निरन्तरता दिएका किरण दाइ बेलुका नन्दी रात्रि स्कूल पढ्न जान्थे। जसोतसो एसएलसी पास गरेका उनले जीवनमा आएका उतारचढावका कारण पढाइलाई बिट मार्दै पूरा समय मोमो बनाउन, बेच्न र पसलको रेखदेख गर्नमा लगाए। समय बित्दै गयो। समयसँगै उनी पनि जवान भए।
‘सानो हुँदा किमा बनाउने, मोमो बनाउने, सरसफाइ, होटलको रेखदेख सबै गर्थें,’ किरण दाइ भन्छन्, ‘ठूलो भइयो। जिम्मेवारी थपियो।’
सानिमाको पसलमा काम गर्दागर्दै उनैसँग केही ऋण लिएर डिल्लीबजारमा मोमो व्यवसाय सुरु गरे। तर त्यहाँ उनको व्यवसाय चल्न मुस्किल भयो। व्यवसाय नचलेपछि किरण दाइले मोमो पसल कालिकास्थान सारे। ‘व्यापार केही राम्रो भइरहेको थियो। तर, घरबेटीले बर्षेनि भाडा बढाएर हैरान गरे,’ उनी भन्छन्, ‘के गर्नु, व्यवसाय बन्द गर्ने अवस्थामा पुगियो र समयले पनि साथ दिएन।’
कालिकास्थानबाट हटेपछि मोमो व्यवसाय बनेपामा सुरु गरे। त्यहाँ एक वर्ष मोमो पसल चल्यो। व्यवसाय राम्रो चलिरहे पनि ओहोरदोर गर्न निकै सकस परेपछि फेरि मैतिदेवी नै फर्किए।
एक महिना लगाएर पसल राख्ने सटर खोजे। फेरि, आफन्तसँगै केही ऋण लिएर तीन महिनाको एकमुष्ठ भाडा बुझाए र सुरु गरे आफूले जानेको मोमो व्यवसाय। जुन आजपर्यन्त निरन्तर चलिरहेको छ।