काठमाडौं। चार महिना अन्तरमा दुईवटा दुर्घटनामा परेपछि मनाङ एयर हेलिकोप्टरविहीन भएको छ। २०८० असार २६ गते लुक्लाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा पर्दा पाइलटसहित ६ जनाको ज्यान गएको थियो।
दुर्घटना भएको ठिक ९५ दिनपछि मनाङ एयरको अर्को हेलिकाेप्टर दर्ता नम्बर ‘९एन–एएनजे‘ शनिबार बिहान सवा ७ बजे दुर्घटनामा परेको छ।
दुर्घटनामा परी पाइलट प्रकाश सेढाईं गम्भीर घाइते भएका छन् भने हेलिकोप्टर जलेको अवस्थामा भेटिएको छ।
पाइलट सेढाईंलाई फिसटेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइसकिएको छ। अहिले उनको उपचार भइरहेको छ।
लाेचेबुमा यात्रु लिनका लागि अवतरण गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको भनिए पनि विस्तृत अध्ययनको रिपोर्ट भने आउन बाँकी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले चार महिनाकै बीचमा मनाङका दुईवटा दुर्घटना भएको जानकारी दिए।
दुर्घटना कसरी भएको हो भन्ने विषयमा अध्ययनका लागि प्राधिकरणको टिम पुगिसकेको उनले बताए। अहिले प्रारम्भिक चरणमै रहेकोले मानवीय त्रुटि वा हावाको गति भनेर भन्न मिल्ने स्थिति नरहेको उनले बताए।
विस्तृत अध्ययन पनि निष्कर्षमा पुग्ने उनले बताए। उनले चार महिनाको बीचमा दुई वटा दुर्घटना हुनु दुखद रहेको बताए।
पछिल्लो समय प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरणका लागि विभिन्न नियम ल्याइरहेको छ। तर, चार महिनामै दुईवटा दुर्घटना हुनुलाई पनि गम्भीरसाथ हेलिकोप्टर कम्पनीहरूले नलिएको पुष्टि भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए।
‘हामीले ल्याएका नियम पालनाभन्दा विरोध गर्न बढी कम्पनी सञ्चालकहरू लागिरहेका हुन्छन्,’ ती अधिकारीले भने, ‘दुर्घटना हुँदा प्राधिकरणले मात्र हाेनइ, मुलुकलाईनै ठूलो क्षति पुगिरहेको हुन्छ।’