काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षका लागि पाँचजनाबीच भिडन्त हुने निश्चित भएको छ। दुई वर्षे कार्यकालको नेतृत्वका लागि संघका वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापासँगै उपाध्यक्षद्वय महेशकुमार श्रेष्ठ र राजेन्द्रकुमार (आरके) शर्मा र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
त्यसमध्ये केसी, श्रेष्ठ र शर्माले प्यानलै बनाएर निर्वाचनमा होमिएका छन्। प्राप्त जानकारीअनुसार श्रेष्ठलाई नेपाली कांग्रेस, केसीलाई नेकपा (एमाले) र शर्मालाई नेकपा (माओवादी केन्द्र) को समर्थन छ। प्रमुख तीन दलका विदेश विभागले एनआरएनए आकांक्षीहरूको नाम फाइनल गरेर निर्वाचनमा होमिन निर्देशन दिइसकेको छ।
एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट असोज ३० गते बिहान हुने तय भएको छ। सोही दिन अपराह्नदेखि कात्तिक १ सम्म विश्व ज्ञान सम्मेलनमा महिला र युवा विषयक सत्र पनि सञ्चालन हुने तय भएको छ।
एनआरएनए सचिवालयले महाधिवेशन तयारीका लागि हालसम्म अन्तिम नामावली तयार गर्ने, कार्यक्रमस्थल र निर्वाचन तालिका सार्वजनिक गर्ने, निमन्त्रणा, मतदातालाई बास बस्नेलगायत तयारी गरिसकेको सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन्।
महाधिवशेनका लागि अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
बिहीबारदेखि उम्मेदवारी दर्ता गर्न समय तोकिएको र उम्मेदवारी अनलाइनबाट पनि दिन मिल्ने व्यवस्था गरिएको उनले बताइन्। एक उम्मेदवारले दुई प्रस्तावक र दुई समर्थकसहित उम्मेदवारी दिनुपर्छ। उम्मेदवारी दिने अवधि असोज २७ सम्म तोकिएको छ। असोज २९ सम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने निर्वाचन तालिका छ।
महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद पदाधिकारीका लागि निर्वाचन हुनेछन्। सन् २००३ अगस्टमा बेलायतको लन्डनमा सम्पन्न गैरआवासीय नेपालीहरूको एक भेलामा व्यापक छलफल भई सोही वर्ष ११ अक्टोबरमा काठमाडौंमा पहिलो विश्वसम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको थियोे।
गैरआवासीय नेपाली संघ, गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ अनुसार विधिवतरूपमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो।
‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्र बोकेर आफ्नो स्थापनाको दुई दशक पूरा गरेको यस संस्थाले विश्वभरिका करिब १ लाख नेपालीलाई सङ्गठित गरी हाल ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।
हालसम्म संस्थामा डा. उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ अध्यक्ष भइसकेका छन्।
कात्तिक २ गते २४ घन्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका छ। मतदानपछि समापन समारोह कात्तिक ३ गते साँझ प्रधानमन्त्रीले गर्ने छन्।