काठमाडौं। काठमाडौंको दरबारमार्गमा रहेको हार्ड रक क्याफेले स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने योजनासाथ क्याफेले शुक्रबार हार्ड रक क्याफेले स्तन क्यान्सर जितेकासँग अन्तर्क्रिया गर्दै अनुभव आदानप्रदान गरेको हो।
नेपाल क्यान्सर अस्पतालसँगको सहकार्यमा हार्ड रकले स्तन क्यान्सर उपचारपछि नयाँ जीवन पाएकाको अनुभव बाँडेकाे हाे। हार्ड रकले विश्वव्यापीरूपमा अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको छ।
हार्ड रकले २४औं पिंकटोबर अभियानका लागि विश्वव्यापीरूपमा एकजुट हुन पाउँदा र परोपकारी संस्थामार्फत कोष संकलन गरी क्यान्सर सहायता समूहलाई सहयोग गर्दै आएको छ।
हार्ड रक इन्टरनेसनलका अध्यक्ष जिम एलेनले पिंकटोबर अभियानका लागि विश्वव्यापीरूपमा एकजुट हुन पाउँदा र परोपकारी सक्रियता सिर्जना गर्न पाउँदा गर्व लागेको बताए। स्तन क्यान्सरबाट बाचेकाहरू र प्रभावितलाई फाइदा पुर्याउने संस्थालाई समर्थन गर्ने अध्यक्ष एलेनले बताए।
अस्पतालका सर्जिकल अन्कोलोजी तथा स्तन क्यान्सर विभागीय प्रमुख डा. कपेन्द्रशेखर अमात्यले विश्वमा महिलामा सबैभन्दा बढी हुने क्यान्सर नै स्तन क्यान्सर भएको प्रारम्भिक चरणमै निदान र उपचारको लागि सचेतना जरुरी रहेको बताए।
स्तन क्यान्सर विशेषज्ञ डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सरको लक्षण थाहा नहुँदा र सामान्य परीक्षणसमेत नगर्दा नेपाली महिला अन्तिम स्टेजमा परामर्शमा आउने गरेको बताउँदै यसले रोग निको हुने दरमा कमी हुने गरेको जानकारी दिए।
हार्ड रक क्याफे काठमाडौंका सहायक महाप्रबन्धक नारायण सुवेदीले स्तन क्यान्सरबाट प्रभावितलाई सहयोग गर्नका लागि जानकारी दिने र प्रेरणा दिने मिसनसाथ पिंकटोबरलाई परोपकारी गतिविधि आयोजना गर्न पाउँदा गर्व लागेको बताए। कार्यक्रममा सहभागीले क्यान्सर लाग्दैमा ज्यान गइहाल्छ भन्ने भ्रम नराख्न अनुरोध गरेका छन्।