काठमाडौं। पठाओ नेपालले त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा ‘त्रिवि पठाओ वार्षिक छात्रवृत्ति योजना’ सार्वजनिक गरेको छ।
सम्झौतापत्रमा पठाओका तर्फबाट मार्केटिङ हेड सुरक्षा हमाल र त्रिभुवन विश्वविद्यालयका तर्फवाट विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले हस्ताक्षर गरेका छन्।
कम्पनीको सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत रहेको यस योजनामा पठाओले आर्थिक समस्या भएका नेपालभरका एक सय जना जेहेनदार विद्यार्थीहरूका लागि एक वर्षमा १५ हजार रुपैयाँसम्मको वार्षिक छात्रवृत्ति प्रदान गरिने जनाएको छ। सम्झौता एक वर्षका लागि गरिएको कम्पनीको भनाइ छ।
यस योजनामा विद्यार्थी छनोटका लागि ‘छात्रवृत्ति कमिटी’ बनाइनेछ। सो कमिटीमा कम्पनीका तर्फबाट दुई जना र विश्वविद्यालयको तर्फबाट तीन जना सदस्य रहनेछन्।
छात्रवृत्तिबारे जानकारी र फर्म विश्वविद्यालयले प्रदान गर्ने र पठाओ नेपालको वेबसाइट, सामाजिक सञ्जाल, विश्वविद्यालय अन्तर्गतका कलेजहरू तथा कलेज परिसरभित्र समेत प्रचार गरिने हमालले जानकारी दिइन्।
‘यस छात्रवृत्तिका लागि तोकिएको मापदण्ड अनुसार आवेदन दिएका उम्मेदवारमध्येबाट उचित उम्मेदवार स्कलरशीप कमिटीले छान्नेछ,’ उनले भनिन्।
यस योजनामा छानिएका विद्यार्थीलाई विश्वविद्यालयअन्तर्गतका मुख्य क्याम्पस र ६२ वटा आङ्गिक क्याम्पसमा छात्रवृत्तिमा पढ्न मिल्ने कम्पनीले जनाएको छ।
सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति दिइने कम्पनीको भनाइ छ।