काठमाडौं। मुलुकभरि यो वर्ष ७ सय ३१ झोलुङ्गे पुल निर्माण गरिने भएको छ। तीमध्ये कतिपय गत वर्षका निर्माणाधीन पुलका योजना र कतिपय हाल थप भएका रहेको स्थानीय पूर्वाधार विभागले जनाएको छ।
पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने विभागका प्रवक्ता महेशचन्द्र न्यौपानेले बताए। गत वर्ष ७ सय ४१ झोलुङ्गे पुल निमार्ण पूरा भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ।
गत वर्ष ७ सय २० निर्माण गर्ने लक्ष्य लिइएकामा त्योभन्दा २१ बढी पुल सम्पन्न भएका थिए। संघ, प्रदेश र स्थानीय सरकारबाट सम्पन्न भएका थिए। प्रदेश र स्थानीय तहबाट पुल निर्माणका लागि पनि सहजीकरण भने संघीय सरकारले गर्दै आएको छ।
गत वर्ष नै धेरै पुल निर्माण सुरु भएका थिए। तीमध्ये ७ सय २० सकिन्छ भन्ने भए पनि त्यसमा बढी भएको प्रवक्ता न्यौपानेले बताए। ‘समग्रमा झोलुङ्गे पुलको प्रगति राम्रो छ,’ उनले भने।
अहिलेसम्म कम्तीमा प्रत्येक घन्टा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको उनको भनाइ छ। सरकारले एक घन्टाको फेरो (पैदल यात्रा गर्ने दूरी) मा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा घन्टामा हुने गरी बनाउन लागेको छ।
नागरिकले सजिलै र छिटो सेवासुविधा पाउनुपर्ने मान्यताका आधारमा काम गर्न लागिएको उनले बताए। ‘पहिलेको मापदण्डअनुसार नै अझै केही बनाउन बाँकी छ,’ उनले भने।
सरकारले खासगरी ग्रामीण क्षेत्रका नागरिकलाई नदी पार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ। सडक सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ। नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समय पर्यटन प्रवर्द्धनको माध्यमसमेत बन्दै गएको छ।
विगतमा नदी वारपार गर्न धेरै नदीमा तुइन प्रयोग हुने गरेको थियो। सरकारले तुइन विस्थापित गरेर पहिले तुइन भएका सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गरिसकेको छ। कतिपय स्थानमा व्यक्तिगतरूपमा सामान ओसार्न तुइन रहेको भए पनि नागरिकले ओहोरदोहोर गर्न तुइन चढ्नुपर्ने बाध्यता भने अहिले छैन।