काठमाडौं। दसैंअघि धेरैजसो सवारीसाधन आयातकर्ता कम्पनीले आफ्ना नयाँ उत्पादन बजार ल्याउँछन्। ग्राहकले सवारीसाधन खरिद गर्न दसैं–तिहार नै पर्खने भएकाले सबैजसो ब्रान्डले नयाँ प्रडक्टसँगै विभिन्न छुट तथा अफर पनि ल्याउने गरेका छन्।
यही समय मध्यनजर गर्दै नाडा अटोमोबाइल एसोेसिएसन अफ नेपाल (नाडा) ले प्रत्येक वर्ष अटो शो गर्ने गरेको छ। विभिन्न कारण तीन वर्षदेखि हुन नसकेको अटो शो यो वर्ष सम्पन्न भएको छ। अटो शो र दसैं, तिहार तथा छठ पर्वमा विभिन्न ब्रान्डले आफ्ना नयाँ उत्पादन ल्याए भने केही नयाँ ब्रान्ड बजार भित्रिए।
यहाँ भर्खरै नेपाली बजार भित्रिएका गाडीबारे चर्चा गरिएको छ ः
होन्डा
होन्डाको मिड साइज एसयुभी एलिभेट नेपाली बजार आएको छ। होन्डाका लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङले ८ भेरिएन्टको एलिभेट सार्वजनिक गरेको हो।
कम्पनीले एसभिएमटी, भिएमटी, भिएक्सएमटी, जेडएक्सएमटी, भिसिभिटी, भिएक्ससिभिटी, जेडएक्ससिभिटी, जेडएक्ससिभिटी (डिटी) भेरिएन्ट बजार ल्याएको हो।
१.५ लिटर पेट्रोल इन्जिनयुक्त यो गाडीमा ६ स्पिड म्यानुअल र ७ स्पिड कन्टिनियसली भेरिएबल ट्रान्समिसन (सिभिटी) छ। यसको म्यानुअल ट्रान्समिसन इन्जिनले प्रतिलिटर १५.३१ र सिभिटीले १६.९२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।
कम्पनीले यसको मूल्य एसभिएमटीको ५६ लाख ३५ हजार, भिएमटी ६० लाख ३५ हजार, भिएक्सएमटी ६६ लाख ९५ हजार, जेडएक्सएमटी ७३ लाख ४४ हजार, भिसिभिटी ६५ लाख ७० हजार, भिएक्ससिभिटी ७१ लाख ९५ हजार, जेडएक्ससिभिटी ७८ लाख ७० हजार र जेडएक्ससिभिटी (डिटी) ७९ लाख ४४ हजार निर्धारण गरेको छ।
टाटा
टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोको अवसरमा टियागो इभी, नेक्सन इभी एक्स जेड प्लस र पन्च सार्वजनिक गरेको थियो।
यीमध्ये टियागो इभीले धेरैको ध्यान तान्न सफल भयो। शोभरि टियागो करिब ५ सय युनिट बुकिङ भएको सिप्रदीका डेपुटी म्यानेजर (कार) नवराज निरौलाले जानकारी दिए। टियागो इभी पाँच भेरिएन्टमा सार्वजनिक भएको थियो।
टियागो सर्ट रेन्जको एमआर एक्सई र एमआर एक्सटी भेरिएन्टमा ९२.२ किलोवाट आवरको ब्याट्री दिइएको छ जसले ४५ किलोवाट पावर र ११० एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै टियागोको एलआर एक्सटी, एलआर एक्स जेड प्लस, एलआर एक्सजेड प्लस टेक एलयुएक्समा २४ किलोवाटको ब्याट्री दिइएको छ जसले ४९.०२ किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले टाटा टियागो एमआर एक्सईको २१ लाख ९९ हजार, एमआर एक्सटी २२ लाख ९९ हजार, एलआर एक्सटी २५ लाख ४९ हजार, एलआर एक्स जेड प्लस २६ लाख ९९ हजार र एलआर एक्सजेड प्लस टेक एलयुएक्सको २७ लाख ९९ हजार निर्धारण गरेको छ।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँच मुख्य विशेषता छन्। जसमा कार्यकुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायिता छन्। क्रुज कन्ट्रोलसहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रास्ट रुफ, पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषता छन्। यो गाडीको इन्टेरियर आरामदायी तथा एक्स्टेरियर आकर्षक छ।
बिवाइडी
दसैं र नाडा अटो शो लक्ष्यित गर्दै सार्वजनिक गरिएको बिवाइडीको डल्फिनले ग्राहक ध्यान तान्न सफल भएको छ। नाडा टो शोमा बुकिङ भएका ४ सय ३६ बिवाइडीका गाडीमध्ये अधिकांश डल्फिन बुकिङ भएको कम्पनीले जनाएको छ। नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवं वितरक साइमेक्स इंकले डल्फिनको सुरुवाती मूल्य ३९ लाख ८० हजार तोकेको छ।
बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ। गाडीलाई एकपटक पूरा चार्ज गर्दा ३ सय ४० किलोमिटरसम्म रेन्ज दिन्छ। यसमा फराकिलो क्याबिन स्पेस पाउनुका साथै उच्च डिजाइन र प्रविधिसहित एकीकृत ८–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिन्छ।
डल्फिनमा चालक र यात्रु सुरक्षाका लागि ६ वटा एयरब्याग दिइएको छ। यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्टजस्ता विशेषता छन्। यसबाहेक यसमा रियर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रियर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्युजस्ता फिचर पनि समावेश गरिएका छन्।
जिडब्लुएम
गे्रट वाल मोटर्स (जिडब्लुएम) का लागि नेपालको आधिकारिक वितरक भिजी इम्पेक्सले नाडा अटो शोमा ओरा ०३ इभी, हाभल जोलाइन ३ र हाभल एच ६ राखेको थियो। यी गाडीमध्ये ओरा ०३ इभीले अधिकांश अवलोकनकर्ताको ध्यान तान्न सफल भयो। कूल ४१ बुकिङमध्ये तीनवटा हाभल जोलाइन, दुई हाभल एच६ बुकिङ भयो भने ओरा ०३ मात्र ३६ वटा बुकिङ भएको भिजी इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले जानकारी दिए।
कम्पनीले ओरा ०३ को मूल्य ४७ लाख ४९ हजार निर्धारण गरेको छ। ओरा ०३ मा ४८ किलोवाट आवरको ब्याट्रीको साथ ४ सय किलोमिटर रेन्ज रहेको छ। प्रिमियम लेथरेट सिट, पानारोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जरलगायत आधुनिक सुविधासहित यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियर छ।
सुरक्षाका पक्षमा जसले एएनक्याप र युरोएनक्याप दुवैमा फाइभ–स्टार प्राप्त गरेको छ। ओरा ०३ मा ६ ओमनिडाइरेक्सनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यु क्यामेरा, अटोमेटिक भेइकल होल्ड, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता सुरक्षा सुविधा छन् ।
सेरेस
एमएडब्लु अटोकर्पले यसपालि नयाँ ब्रान्ड सेरेसलाई नेपाली बजार ल्याएको छ। कम्पनीले सेरेस ३ र ई१ बजार ल्याएको हो। सेरेस ई१ १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजारमा उपलब्ध छ। सेरेस–३ को मूल्य कम्फर्ट भेरिएन्टको ४७ लाख ९९ हजार छ। यसको प्रिमियम मूल्य भने ४९ लाख ९९ हजार रुपैयाँ छ।
एमजी
एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यसपालि विद्युतीय गाडी (इभी) एमजी ४ र कोमेट राखेको थियो। यी दुवै मोडेल गरेर २ सयभन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ। एमजी कोमेट भारतमा बनेको कम मूल्यको इभी हो जसले सिंगल चार्जमा २ सय ३० किलोमिटर रेन्ज दिन्छ। यसमा १ सय ७३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ।
एमजी कोमेटमा यात्रु सुरक्षाका लागि आइपी ६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट छन्।
सुविधा र सहजताका लागि कोमेटमा एलसिडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधा छन्।
एमजी कोमेटको सुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ छ भने यो दुई भेरिएन्टमा उपलब्ध छ।त्यस्तै एमजीले कोमेट हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टी छ।
त्यस्तै एमजी ४ सन् २०२३ को ‘युके कार अफ द इयर’ हुनुका साथै यसले युरोपमा पनि सेफ्टीका लागि पाँचतारा पाएको छ। कम्फर्ट र लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध एमजी कम्फर्टको ब्याट्री क्षमता ५१ किलोवाट आवर छ र यसमा ९९ किलोवाट मोटर छ। त्यस्तै एमजी ४ लक्जरीको ब्याट्री क्षमता ६४ किलोवाट आवर छ भने १ सय ५० किलोवाटको मोटर छ। एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभ हो।
एमजी ४ ले सिंगल चार्जमा ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिन सक्छ। राम्रो ह्यान्डलिङ र ट्र्याक्सनका लागि यसमा रियर ह्विल लेआउट छ। त्यस्तै यात्रु सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता फिचर छन् भने सुविधा र सहजताका लागि मोबाइल फोन ब्लुटुथ की, पाँच ड्राइभिङ मोडजस्ता फिचर छन्।
एमजी ४ कम्फर्टको सुरुवाती मूल्य ४१ लाख ४९ हजार छ भने एमजी लक्जरीको सुरुवाती मूल्य ५८ लाख ९९ हजार छ।
एमजीका यी दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामेरा र आवश्यक सेफ्टी फिचर छन्।
निटा
सिजी मोटर्सले दसैं लक्ष्यित गर्दै निटा यु नेपाली बजार ल्याएको छ। कम्पनीले आगामी वैशाखदेखि डेलिभरी गर्ने तयारी गरेको निटा यु ४००, ५०० र ६०० रेन्जका भेरिएन्टमा उपलब्ध छ। कम्पनीले यसको मूल्य ५२ लाखदेखि ७० लाखसम्म निर्धारण गरेको छ।
महिन्द्रा
भारतीय ब्रान्ड महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले यसपालि स्कोर्पियो एनलाई प्रमोट गरिरहेको छ। गत महिना सम्पन्न नाडा अटो शोमा कम्पनीले ब्रान्ड कलर थिममा स्टल निर्माण गरेको कारण पनि अवलोकनकर्ताको ध्यान तान्यो। महिन्द्रा एनको सुरुवाती मूल्य ८१ लाख ५० हजारदेखि १ करोड २४ लाख निर्धारण गरिएको छ।
सुजुकी
सुजुकीका लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले जिम्नीलाई नै फोकस गरेको छ। ट्रु अफ–रोड एसयुभी परिचय दिइएको जिम्नीले ५० वर्षभन्दा बढीको इतिहास बोकेको छ। जिम्नी हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यो पर्याप्त बडी एंगल र ग्राउन्ड क्लियरेन्ससाथ डिजाइन गरिएको छ।
यो एसयुभी उन्नत फोरडब्लुडी प्रणाली, अल ग्रिप प्रोसँग आउँछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र अफरोड सुविधा समावेश छन्। जिम्नीमा २२.६८ सेन्टिमिटर स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, अटो टेम्प्रेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक र आरामदायी तथा सुरक्षित सुविधा उपलब्ध छन्। कम्पनीले यसको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
निसान
निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले म्याग्नाइटको अटोमेटिक भेरिएन्ट सार्वजनिक गरेको थियो।
९ सय ९९ सिसीको यो गाडीमा ३ सिलिन्डर छन्। यसले ६२५० आरपिएम, ७१.०२ बिएचपी पावर र ३५०० आरपिएममा ९६ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसको सुरुवाती मूल्य ३८ लाख ७४ हजार निर्धारण गरेको छ।
स्काइवेल
यो वर्ष नयाँ इभी ब्रान्ड स्काइवेल नेपाली बजार आएको छ। स्काइवेलका लागि नेपालको आधिकारिक वितरक जी मोटर्स प्रालिले गत भदौ २१ बाट विद्युतीय एसयुभी इटी–५ बुकिङ खुलाएको थियो। स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रुसलगायत ४८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।
स्काइवेल इटी–५ ले एकपटकको फुलचार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। स्काइवेल इटी–६ मा ८५.९ किलोवाट आवर ब्याट्री प्याक छ। त्यस्तै यो एसयुभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।
स्काइवेल इटी–५ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोयमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर इभी प्लेटफर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयुभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यसको टप स्पिड १ सय ६० किलोमिटर प्रतिघन्टाभन्दा बढी छ। यसमा प्यानारोमिक सनरुफ पनि छ। जी मोटर्सले यसको मूल्य १ करोड ९ लाख रुपैयाँ निर्धारण गरेको छ।