काठमाडौं। दसैंमा घर जानकै घण्टौंसम्म लाइन बसेर बसको टिकट काट्नु पर्ने बाध्यता अहिलेपनि छ। तर,पछिल्लो समय बढ्दो प्रविधिको विकासलाई सदुपयोग गर्दै घरमै बसीबसी अनलाइनबाट सिधै आफ्नो गन्तव्यको लागि टिकट काट्ने व्यवस्था बस सेवाले गरिरहेको छ।
दसैंमा आफ्नो गन्तब्यमा जानका लागि हालसम्म ११ हजारले अनलाइनबाट टिकट काटिसकेको बस सेवाका प्रमूख कार्यकारी अधिकृत पिआर खनालले जानकारी दिए। यो आँकडा अघिल्लो वर्षको भन्दा झण्डै दोब्बर भएको उनले बताए। हुन त बस सेवाको यो सेवा सञ्चालन भएको १० वर्ष भइसकेको छ। अपेक्षा अनुसार यस अघि बस सेवाबाट टिकट नकाटेपनि पछिल्लो वर्षयता भने संख्यात्मक रुपमा बढीरहेको छ।
‘प्राविधिक अव्यवस्थित स्थितीमा रहेको नेपालको यातायात क्षेत्रमा अग्रिम टिकट खुल्ने दिन पर्खन नै यातायात व्यवसायी महासंघको निणर्य पर्खनु पर्ने भएकाले ‘बस सेवा’लाई सहज रुपमा सेवा दिन एक दशक लाग्यो’ अधिकृत खनालले भने।
‘अघिल्लो वर्ष करिव ६ हजारले अग्रिम टिकट काटेका थिए, प्रमुख कार्यकारी अधिकृत खनालले भने ‘यो वर्ष अहिलेसम्म नै ११ हजार पुगिसक्यो, टिकट काट्ने क्रम जारी नै छ।’ बस सेवाले आफ्नो सेवा वेवसाइट, एप, मोवाइल विभिन्न मोवाइल बैंकिङ एप, विभिन्न मोवाइल वालेटबाट सेवा दिइरहेको छ। कम्पनीले विभिन्न ३ सय १२ यातायात कम्पनीसगँ सम्झैता गरेको छ। जसमा ४० हजार सिट छन्।
व्यवस्थित तरिकाले अनलाइनबाट टिकट बुकिङको व्यवस्था मिलाउन सरकारले नीति बनाउनु पर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउछन्। ‘२१ औं शताब्दिमा टिकटका लागि रातभरी लाइन बस्नुपर्ने कुरा विडम्बना हो। ‘यातायात क्षेत्रलाई सहज बनाउन सरकारले प्रविधीको प्रयोगमा प्रोत्साहन गर्नुपर्छ,’ उनले भने। हालसम्म लामो दुरीको करिव ७० प्रतिशत टिकट बुकिङ भइसकेको उनले जानकारी दिए।
‘लामो र मध्यम दुरीको करिव ७० प्रतिशत टिकट बुकिङ भएको छ। रेगुलर रुपमा पनि यात्रुहरु गइरहेका छन्। सडकले समस्या ननिम्त्याए यात्रुले टिकट नपाउने समस्या पर्दैन,’ सिटौलाले भने। यो समयमा करिव १५ लाखले काठमाडौं छोड्ने उनको अनुमान छ।
‘अहिले नै करिव ५÷६ लाखले उपत्यका छाडिसकेका छन्, दसैंसम्म १५ लाख पुग्छ भन्ने अनुमान छ,’उनले भने।
यात्रुको सहजताका लागि सरकारले अनलाईन सिस्टमलाई प्रोत्साहन गर्नुपर्ने उपभोक्ता अधिकाकर्मी माधव तिमल्सिना बताउछन्। ‘अहिले नीजि क्षेत्रले सुरु गरेको अनलाईन सेवा निकै न्यून छ। अझैपनि यात्रुहरु १०÷१२ घण्टा लाइनमा बसेर टिकट काट्न बाध्ये छन्। त्यस्तै पार्किङ, शौचालय, खनेपानीलगायतका लागि पनि यात्रुले फजुल खर्च गर्नु परेको छ। यो समस्यालाई हटाउने मूख्य उपाएनै अनलाईन टिकट हो’ उनले भने।
यस्ता सुविधाका लागि यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र लोत्सेले वर्षै पिच्चे बाचा गरेपनि कहिल्यै पुरा नगरेको उनको आरोप छ। ‘हाम्रै देशमा प्रविधीले यत्रो फड्को मारिसक्यौं। हामी भने अझैपनि गाडीको टिकट काट्न खोल्तीमा पैसा बोकेर बसपार्क पुग्नुपर्ने बाध्यता छ। टिकटका लागि एउटा सामान्य एप बनाउन सकिन्छ र मोवाइल वालेटबाट पैसा तिर्न सकिहालिन्छ।
यो बीचमा करिव एक दर्जन कम्पनीहरुले बस टिकट काट्ने कम्पनी खुले र बन्द भए। बर्षौ धौ–धौ भएर चलिरहेको बस सेवाले यो वर्ष भने रफ्तार लिएको छ।